न्यू योर्क। द गुरुङ (तमु) सोसाइटी इंक युएसएले नेपालीहरुको दोश्रोे महान पर्व तिहार तथा शुभदिपावली २०२५, देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । सोसाइटीले नेपालीहरुको संस्कार र संस्कृतिको जगेर्ना गर्न र नयाँ पिढीलाई हस्तान्तरण गर्न तिहार पर्व हरेक बर्ष आयोजना गर्दै आएको छ । न्यू योर्कको ज्याक्सनहाइटमा अवस्थि न्यू लाईफ सिनियर केयर सेन्टर, (व्हाइट हल) हिजो शनिबार भएको कार्यक्रममा पञ्च कन्या नानीहरुले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबै सहभागीले नेपालको गाउँघरमा जस्तै मौलिक संस्कृति झल्कने गरी मादल, खैचडी, सारंगी, गितारको तालमा भट्याएर देउसी भैली खेलेका थिए । भैलीमा उपस्थित सहभागीहरुले भैली तथा देउसीको दृश्यले आफुलाई बाल्यकालमा देउसी भैलो खेलेको सम्झना दिलाएको प्रतिकया दिए। बिन्दु (विनोद) गुरुङ र साथीहरुले भट्याउन शुरु गरेपछि सहभागीहरुले भैली र देउसी भैलोमा साथ दिएका थिए। कार्यक्रममा सहभागीहरुले भैलीलाई आफ्नो गक्ष अनुसारको दक्षिणा दिएका थिए ।
कार्यक्रममा कलाकारकाहरु छोइजिन घले र सोनिया गुरुङले नृत्य प्रस्तुत गरेका थिए । साथै अन्य स्थानिय कलाकारहरु रिदिमा गुरुङ, स्वेता गुरुङ, श्रंखला पुन मगर, सदिया छन्त्याल, सुप्रिया थापा, इक्षा सुवेदी, कृति चापागाईले नृत्य प्रस्तुत गरेका थिए । सोसाइटीका महासचिव मच्छेदेवी गुरुङले तिहारको दाजुभाइ र दिदीबहिनीबीचको सुमधुर र प्रगाढ सम्बन्धका प्रतिकको पर्व भएको उल्लेख गर्दै यस्ता साँस्कृतिक पर्वको रुपमा मनाइने कार्यक्रमहरुमा आफ्ना छोराछोरीहरुलाई सहभागी गराई आफ्नो संस्कार र संस्कृति सिकाउन अभिभावकरुलाई अनुरोध गरिन् । सोसाईटीलाई अझ बलियो बनाउनका लागि सम्पूर्ण सदस्यहरुलाई हरेका कार्यक्रमहरुमा सहभागी हुन र साथ सहयोग गर्न आग्रह गर्दै आउने डिसेम्बरमा हुने तमु ल्होछारमा सहभागी हुन आव्हान गरिन् । यस्ता कार्यक्रममा बालबालिकाको सहभागीताले उनीहरुलाई आफ्नो पिता पुर्खाको जरासँग जोड्न मद्धत पुग्ने महासचिव गुरुङको भनाइ छ ।
कार्यक्रममा तिहार तथा शुभदिपावली २०२५ को हाद्र्धिक शुभकामना व्यक्त गर्दै अध्यक्ष ओम गुरुङले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष गुरुङले देउसी भैली कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने संस्थापक अध्यक्ष, सल्लाहकारहरु, सम्पूर्ण आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरु, द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदी बहिनीहरु, साधारण सदस्यहरु, स्वंयसेवक युवा भाइ बहिनीहरु सबैप्रति आभार व्यक्त गरे । नेपाली संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्दै जानको लागि र आफ्नो राष्ट्र र माटोको सम्मानको लागि पनि परदेशको भूमीमा यस्तो कार्यक्रम आयोजना गरेको सोसाइटीले जनाएको छ । कार्यसमिति सदस्यद्धय भरत (बुद्धि) गुरुङ तथा हिरा गुरुङले कार्यक्रमको संयोजन गरेका हुन् । कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष अलिशा गुरुङले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाली मौलिक परिकारहरु सेलरोटी, आलुदम, नेपाली खाना दालभात, खसी तथा कुखुराको मासु लगायतका परिकार गरेका थिए । कार्यक्रममा उपस्थित सबै दाजुभाइहरुलाई टोपी उपहार दिएर स्वागत गरिएको थियो । साथै द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदी बहिनीहरुले घरमा नै बनाएका विभिन्न परिकारहरु अचार, सेलरोटी प्रदान गरी सहयोग गरेका थिए । कार्यक्रममा झण्डै ११ हजार डलर रकम संकलन भएको थियो । परम्परागत शैलीमा देउसी भैली खेलेपछि कार्यक्रममा उपस्थित सबै सहाभागीहरुले नेपाली लोक दोहोरी तथा झयाउरे गीतमा कम्मर मर्काइ मर्काइ नाचेर मनोरञ्जन लिएका थिए । कार्यक्रममा ४ बर्षका बालबालिकादेखि ७५ बर्ष उमेरसम्मका सहभागी थिए। १० बर्षभन्दा मुनिका बालबालिका तथा ७५ बर्षभन्दा माथिका पाका उमेरका सहभागीहरुलाई निशुल्क प्रवेश तथा खानाको व्यवस्था गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो ।
















प्रतिक्रिया