
न्यू योर्क। मेयरका प्रत्यासी जोहरान माम्दानी लक्ष्मी पूजाको अवसरमा क्वीन्सको गीता मन्दिर र ब्रह्मकुमारी मेडिटेसन सेन्टरमा पुगेका छन्। गीता मन्दिरका पूजारीले हिन्दू विधिअनुसार जोह्रानको विजयका लागि पूजा र प्रार्थना गरिदिएका छन्। यसैगरी ब्रम्हकुमारीहरुले जोह्रानको लक्ष्य प्राप्तिका लागि आध्यात्मिक सुरक्षा र मानसिक शान्तिको ब्रह्मकुमारीहरुले गर्ने विधि गरिदिएका छन्।
गीता मन्दिरमा माम्दानीले पूजारी र मन्दिरका अधिकारी तथा ब्रह्मकुमारी मेडिटेसन सेन्टरमा ब्रह्मकुमारीहरुसँग भलाकुसारी गरेका छन्। यसअघि उनी फ्लसिङको श्री महा वल्लभ गणपति देवस्थानम (गणेश मन्दिर) पुगेका थिए। मेयरको चुनावी पूर्वसन्ध्यामा भएका यी भ्रमणले उनको आमाको हिन्दू पृष्ठभूमि र न्यू योर्कको बहुसांस्कृतिक समाजबीच एकताको अडानलाई प्रदर्शन गर्छ।

गीता मन्दिरमा माम्दानीले आफ्नी आमाको परिवार हिन्दू भएको बताए। “म मुस्लिम भए पनि हिन्दू धर्मका मूल्य, कथा र परम्परामा हुर्किएको मानिस हुँ,” उनले भने, “दीपावली, होली र रक्षा बन्धन जस्ता पर्वले मलाई परिवार, सेवा र करुणाका अर्थ सिकाएका छन्।”
माम्दानीले २०२३ मा लक्ष्मी पूजा (दीपावली) का दिन न्यू योर्क सिटीका विद्यालयमा बिदा दिने विधेयक सहप्रायोजन गरेका थिए। उक्त विधेयक पारित भएसँगै न्यू योर्क सिटीमा लक्ष्मी पूजाका दिन विद्यालय बन्द हुन्छ। उनले उक्त विधेयक हिन्दू समुदायका लागि ऐतिहासिक उपलब्धि भएको उनले बताए।
गणेश मन्दिर बाहिर बोल्दै माम्दानीले भनेका थिए, “क्वीन्सका हिन्दू समुदायले दशकौँदेखि ‘सेवाको अभ्यास गर्दै आएका छन्। म चाहन्छु कि न्युयोर्कका हरेक हिन्दू बालबालिकाले दीपावली मनाउँदा उनीहरूको परिवार घरमा बस्न सक्ने हैसियत बनोस।” त्यसका लागि उनले सस्तो र सहज न्यू योर्क सिटीको मुद्धा उठाएका छन्।
एल्महस्र्टको ब्रह्मकुमारी मेडिटेसन सेन्टरमा उनलाई ब्रह्मकुमारीहरूले उनीहरूको विधि अनुसार खादा ओढाइदिएका थिए। “यो खादाले तपाईँलाई नकारात्मक प्रभावहरूबाट जोगाउँछ,” ब्रम्हकुमारिज यूएन रिप्रिजेन्टेटिभ सिस्टर गायत्री नारायणले भनिन्। उनले मम्दानीलाई ३४ औं जन्मदिनको उपहार पनि दिइन्। उपहार उनको उमेरलाई शुभ हुने अंकशास्त्र अनुसार मिलाएर बनाइएको थियो।
सिस्टर नारायणले मम्दानीलाई ब्रह्मकुमारी को ग्रन्थ हस्तान्तरण गर्दै यो कसरी र केका लागि सुरु भयो भन्ने सुनाइन्। उनले तनाव र थकानबाट मुक्त हुने विधि पनि सिकाइन। मम्दानीले ब्रम्हकुमारीमा दिप प्रज्वलन गरेका थिए भने केही मिनेट मेडिटेसन समेत गरेका थिए।




प्रतिक्रिया