२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

कौडा किंग दुर्गा गुरुङको चुट्कासँगै नाचे न्यू योर्कमा रहेका नेपालीहरु

कौडा किंग दुर्गा गुरुङको चुट्कासँगै नाचे न्यू योर्कमा रहेका नेपालीहरु

 

न्यू योर्क। कौडा किंग तथा वरिष्ठ कलाकार दुर्गा गुरुङले न्यू योर्कको क्वीन्समा चुट्का (कौडा) साँझमा आफुले गाएका मौलिक चुट्का (कौडा) प्रस्तुत गरेका छन्। द गुरुङ (तमु) सोसाइटी इंक, यूएसएले क्वीन्समा अवस्थित बाजेको सेकुवामा आयोजना गरेको चुट्का (कौडा) साँझमा गुरुङ, मगर तथा दुराहरुको मौलिक तथा साँस्कृतिक चुट्का (कौडा) प्रस्तुत गरेका हुन्। वरिष्ठ कलाकार गुरुङले नेपाली भाषामा चर्चित १६ बर्षे उमेरैमा मै पनि बुढो हुँदो हो बोलको प्रस्तुति गरिरहँदा युवा, वयस्क तथा जेष्ठ बुबा आमाहरु समेत हलमा उल्लासमय रुपमा कम्मर मर्काई मर्काई मनोरञ्जन लिइरहेका थिए। कार्यक्रममा कलाकार गुरुङले हे कान्छी ढल्क्यो जोवन माइतै नभुल, झिल्के चना, रिसिम डाँडा रमाइलो, मुटु खाइरहने, चञ्चलेरैछ तिम्रो तयो बानी लगायतका चुटका (कौडा) प्रस्तुत गरेका थिए । गायक गुरुङले गाउँ बेसीको जीवन र जगतलाई मौलिक चुट्कामार्फत प्रस्तुत गर्दा दर्शक तथा सहभागीहरुले गाएर र सँगै नाचेर साथ दिएका थिए। कलाकार गुरुङको प्रस्तुतिलाई  दर्शकले रुचाएपछि सहभागी दर्शकहरुले पैसाको फूल र पैसाको माला लगाईदिएका थिए। गुरुङले कलामार्फत गुरुङहरुको कला, संस्कृतिलाई संरक्षण तथा संवद्र्धन गर्नको लागि योगदान पुर्याएको भन्दै सोसाइटीले सम्मान गरेको छ। सोसाइटीका संस्थापक अध्यक्ष तुलसीप्राद गुरुङ तथा अध्यक्ष ओम गुरुङले गुरुङहरुको संस्कृति झल्कने फेटा लगाएर प्रसंशापत्र प्रदान गरी सम्मान गरेको हो। सोसाइटीले गुरुङहरुको जीवित परम्परागत संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले चुट्का (कौडा) साँझ कार्यक्रम आयोजना गरेको सोसाइटीका अध्यक्ष ओम गुरुङले बताए।   

सोसाइटीका महासचिव मच्छे गुरुङले भने, हाम्रो संस्कृति, साँस्कृतिक धरोहर, परंपरागत मुल्य मान्यता हाम्रो पहिचान र गर्व हो, त्यसैले कौडाको बारेमा नयाँ पुस्तालाई समेत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रमले गुरुङहरुको मौखिक इतिहास र जीवनशैली, सामाजिक सम्बन्ध र एकतालाई सुमधर बनाउन मद्धत पुग्ने गुरुङको विश्वास छ।  सोसाइटीले यस्ता कार्यक्रमले नयाँ पुस्तामा कौडा बारेको ज्ञानको हस्तान्तरण गर्नुका साथै वृद्ध र युवाहरू बीचको सम्बन्धलाई अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा राखेको छ। गुरुङहरुको भाषा, धर्म, संस्कार, संस्कति जगेना गर्न तथा विदेशी भुमीमा रहेका नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि सोसाइटीले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

कलाकार गुरुङले वोस्टन, पेन्सिलभानिया, न्यू योक लगायत अमेरिकाका विभिन्न शहरहरुमा चुट्का (कौडा) प्रस्तुति गरिसकेका छन् । तनहुँको थानु नगरपालिका चन्दनीमा जन्मेका गुरुङले २०५० सालदेखि बाँसुरी बादकको रुपमा कलाकारितामा प्रवेश गरेका थिए । गुरुङले २०७५ साल मंसिरमा एकल साँझ गरेपछि उनलाई कौडा किंगको उपाधी दिएका थिए। कलाकार गुरुङले डेड दर्जन गुरुङ चलचित्र तथा गीतमा स्वर तथा संगीत गरिसकेका छन् भने १५ सय भन्दा बढी लोक दोहोरी गीतमा संगीत संयोजन गरिसकेका छन्। सांगीतिक कार्यक्रमको सिलसिलामा सिंगापुर, मेलेशिया, कतार, हङकङ्ग तथा युरोपमा प्रस्तुति गरिसकेका कलाकार गुरुङ अहिले अमेरिकाका छन् ।उनले पहिलो गुरुङ फिल्म अवार्ड तथा दोश्रो रोधी अवार्डमा उत्कृष्ट संगीतको अवार्ड हात पारिसकेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया