न्यू योर्क। युनाइटेड स्टेट्स द साउर्दन डिस्ट्रिक अफ न्यू योर्कको अगुवाइमा फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबिआई) र न्यू योर्क सिटी डिपार्टमेन्ट अफ इन्भेस्टिगेसन (एनवाइसिडिआई) सार्वजनिक पद दुरुपयोग गरि भ्रष्टाचार गरेको अभियोग लगाएपछि न्यू योर्क सिटीका मेयर एरिक आडम्स सङ्कटमा परेका छन्।
आडम्सले अदालतमा आफू निर्दोष रहेको दाबी गरेका छन् भने सार्वजनिक रुपमा आफ्नो पदबाट राजिनामा नदिने प्रष्ट पारेका छन्। तर, सिटी प्रशासनका उच्च पदस्थ अधिकारीले धमाधम राजिनामा दिन थालेपछी आडम्सको सङ्कट गहिरिएको छ। राष्ट्रपतिको निर्वाचन हुन एक महिनाभन्दा कम समय बाँकी रहँदा सिर्जित यो परिस्थितिलाई अमेरिकी राजनीतिमा महत्वका साथ हेरिएको छ। साथै, न्यू योर्क सिटीवासीमा एउटा गम्भीर प्रश्न उब्जिएको छः अब के हुन्छ?
आडम्स बाहिरिए वा उनले पदबाट राजिनामा दिए न्यू योर्क सिटीको पब्लिक एड्भोकेट जुमानी विलियम्स अन्तरिम मेयर बन्ने छन्। उनले सामान्यतया ८० दिनभित्र मेयरको विशेष निर्वाचन गर्नु पर्नेछ। त्यसपछि न्यू योर्क सिटीले नयाँ मेयर पाउने छ।
मेयर आडम्सले आफू निर्दोष रहेको र राजिनामा नदिने सार्वजनिक रुपमा बताए पनि उनी माथिको अभियोग नजरअन्दाज गर्न सकिने खालको छैन। खासगरि न्यू योर्क सिटीका प्रहरी प्रमुख एनवाइपिडी कमिसनर एडवार्ड कबान, सिटी हल चिफ काउन्सिल लिजा जोर्नवर्ग, स्कूल्स चान्स्लर डेभिड ब्यांक्स र हेल्थ कमिसनर अश्विन वसनले राजिनामा दिइसकेका छन्। लामो समयदेखि आडम्सका नजिकका साथीका रुपमा चिनिएका स्कूल चान्स्लर ब्यांक्सको राजिनामा अपेक्षित थिएन। साथै, उपमेयर शिना राइटले पनि राजिनामाका विषयमा सोचिरहेको समाचार आएपछि आडम्स पूर्णतः एक्लिएका छन्।
अब के हुन्छ?
मेयर आडम्सले राजिनामा नदिएको अवस्थामा उनलाई पदबाट हटाउने कुनै पनि विकल्प सजिलो छैन। यद्यपि उनलाई हटाउने दुई विकल्प अहिले चर्चामा छन्। पहिलो, आफ्नै पार्टीकी गभर्नर क्याथी होकुलले आफ्नो अधिकार प्रयोग गरि आडम्सलाई राजिनामा दिन बाध्य पार्नु। गभर्नरले मेयरलाई सीधै हटाउने प्रावधान छैन। तर, गभर्नरले मेयरलाई राजिनामाका लागि मनाउन सक्छिन्। नमाने गभर्नरसँग मेयरलाई काम गर्न अप्ठ्यारो पार्ने थुप्रै कानूनी विधिहरू छन्। होकुलले ती विधि प्रयोग गर्न सक्छिन्। जस्तो, गभर्नर होकुलले मेयर आडम्समाथिको अनुसन्धानमा सहयोग गर्न सक्छिन्। उनले आडम्स प्रशासनमाथि आर्थिक प्रतिवन्ध लगाउन सक्छिन्। साथै, आडम्सलाई हटाउने कानून पारित गर्न भूमिका खेल्न सक्छिन्। आफ्नै पार्टीको गभर्नर होकुलबाट राजिनामाको दवाव आए मेयर आडम्सले धान्न सक्दैनन्। यो विधि जटिल छ। तर, सबैभन्दा प्रभावकारी ठानिन्छ।
गभर्नर होकुलले मेयर आडम्सलाई आफ्नो वचाउ गर्ने अधिकार रहेको बताइसकेकी छन्। तर, आडम्सलाई अभियोग लगाउने निकाय, अभियोगको प्रकृति र राजिनामाको लहर हेर्दा होकुल आडम्सको मुद्धामा आँखा चिम्लेर बस्न सक्ने देखिँदैन। तर, उनले कुनैपनि कदम चाल्नुपूर्व त्यसले आसन्न राष्ट्रपतिको निर्वाचनलाई पार्ने नाफा नोक्सान भने मुल्यांकन गर्नुपर्छ।
दोस्रो, न्यू योर्क सिटीको मूल कानून सिटी चार्टरमा मेयरलाई असक्षम देखाएर हटाउने प्रावधान छ। त्यस अनुसार सिटीको कानूनी मामिला हेर्ने मुख्य निकाय कर्पोरेसन काउन्सिल, आर्थिक प्रशासन प्रमुख कम्प्ट्रोलर, सिटी काउन्सिल स्पिकर, उप मेयर र सबैभन्दा लामो समय काम गरेका बोरो प्रेसिडेन्ड पाँच सदस्यीय समितिले मेयर आडम्सलाई असक्षम घोषणा गर्न सक्छ। त्यसपछि उनी पदमुक्त हुन्छन्। तर, न्यू योर्क सिटीको इतिहासमा यो विधि हालसम्म प्रयोगमा ल्याइएको छैन।
आडम्सलाई अभियोग लगाउने निकाय, अभियोगको प्रकृति र राजिनामाको लहर हेर्दा होकुल आडम्सको मुद्धामा आँखा चिम्लेर बस्न सक्ने देखिँदैन। तर, उनले कुनैपनि कदम चाल्नुपूर्व त्यसले आसन्न राष्ट्रपतिको निर्वाचनलाई पार्ने नाफा नोक्सान भने मुल्यांकन गर्नुपर्छ।
सिटी काउन्सिल महाअभियोग लगाउने प्रक्रियामा गए, न्यू योर्क राज्यबाट मेयर हटाउने कानून पारित गरी लागू गरे, वा अदालतले भ्रष्टाचार वा अन्य फौजदारी अभियोगमा दोषी ठहर्याए पनि मेयर आडम्स पदमुक्त हुन सक्छन्। तर, यी प्रक्रिया धेरै लामा र जटिल छन् जुन उनको कार्यकाल सकिदा पनि पुरा हुँदैन। उनको कार्यकाल सकिनु करिब एक वर्ष छ।
आडम्स बाहिरिए के हुन्छ?
आडम्स बाहिरिए वा उनले पदबाट राजिनामा दिए न्यू योर्क सिटीको पब्लिक एड्भोकेट जुमानी विलियम्स अन्तरिम मेयर बन्ने छन्। उनले सामान्यतया ८० दिनभित्र मेयरको विशेष निर्वाचन गर्नु पर्नेछ। त्यसपछि न्यू योर्क सिटीले नयाँ मेयर पाउने छ।
न्यू योर्क सिटीको आगामी मेयर पदका लागि स्वभाविक उमेद्वार वर्तमान मेयर आडम्सबाहेक न्यू योर्क स्टेट सिनेटर जेसिका रामोस र जेल्नर माइरी, कम्प्ट्रोलर ब्राड ल्याण्डर र पूर्व कम्प्ट्रोलर स्कट स्ट्रिन्जरले उमेद्वारी घोषणा गरिसकेका छन्। मेयर पदको दौडमा न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर जोह्रान मम्डानी र पूर्व गभर्नर एन्ड्य्रू कुमोको नाम पनि चर्चामा छ।
प्रतिक्रिया