
न्यू योर्क।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र चीनसँग समानता कायम हुने गरि परमाणु हतियार परीक्षण सुरु गर्न पेन्टागनलाई आदेश दिएका छन्। यो निर्णयले ३३ वर्षदेखि कायम अमेरिकी परमाणु परीक्षण प्रतिबन्ध समाप्त गरेको छ र विश्वव्यापी तुलना परमाणु हतियार प्रतिस्पर्धाको चिन्ता बढाएको छ।
राष्ट्रपति ट्रम्पले बुधबार (अमेरिकी पात्रो अनुसार अक्टोबर २९) अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई तुरुन्तै परमाणु हतियार परीक्षण सुरु गर्न निर्देशन दिने घोषणा गरेका छन्। उनका अनुसार, अमेरिका अब “अन्य परमाणु शक्तिहरूसँग समान स्तरमा” परीक्षण गर्नेछ।
यो घोषणा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दक्षिण कोरियामा हुने भेटभन्दा केही घण्टा अघि सामाजिक सञ्जाल मार्फत गरेका थिए। उनको यो कदमलाई कूटनीतिक र सामरिक सन्देशको रूपमा हेरिएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए,
“हामी अब अन्य देशहरूको जस्तै बराबरीमा परमाणु परीक्षण सुरु गर्दैछौं — प्रक्रिया तुरुन्तै सुरु हुन्छ।” यससँगै, सन् १९९२ पछि पहिलोपटक अमेरिका पूर्ण स्तरमा परमाणु परीक्षणमा फर्किने संकेत दिएको छ।
व्हाइट हाउसका अधिकारीहरूलाई उधृत गर्दै सन्चारमाध्यमहरूले जनाएअनुसार ट्रम्पको यो निर्णय पछाडिको मुख्य कारण रूस र चीनको नयाँ परमाणु हतियार प्रविधिको तीव्र विकास हो। हालै रूसले परमाणु इन्धनयुक्त क्रूज मिसाइल परीक्षण गरेको र चीनले आधुनिक वारहेड कार्यक्रम तीव्र रूपमा अगाडि बढाएको विवरण सार्वजनिक भएपछि ट्रम्प प्रशासनले यसलाई “अमेरिकाको विश्वसनीयता र निवारण क्षमतामा चुनौती” को रूपमा हेरेको छ।
ट्रम्पका सल्लाहकारहरूका अनुसार, यो कदम विशेष गरी चीन र रूससँगका वार्तामा अमेरिकी शक्ति प्रदर्शनका लागि “सैन्य सन्देश र कूटनीतिक दबाब दुवै” हो।
अमेरिकाले १९९२ मा नेभाडा परीक्षण क्षेत्रमा अन्तिम परमाणु परीक्षण गरेको थियो। त्यसपछि स्वैच्छिक प्रतिबन्ध पालन गर्दै ‘कम्प्युटर सिमुलेशन’ तथा साना परीक्षणमार्फत मात्र अनुसन्धान मत्रै गर्दै आएको थियो।ट्रम्पको आदेशले सो नीति उल्ट्याउने भएको छ। यसले अमेरिकालाई विश्वव्यापी परमाणु परीक्षण प्रतिबन्धबाट अलग बनाउने छ।
विशेषज्ञहरूले चेतावनी दिएका छन् कि यसले दशकौँ लामो सशस्त्रीकरण नियन्त्रण प्रयास कमजोर पार्न सक्छ र रूस, चीन लगायतका शक्तिहरूलाई पनि पुनः परीक्षणतर्फ उक्साउने सम्भावना छ।
अन्तर्राष्ट्रिय र घरेलु प्रतिक्रिया
चीनको विदेश मन्त्रालयले अमेरिकालाई “विश्वव्यापी परीक्षण प्रतिबन्धको सम्मान गर्न” र “उत्तेजक कदमबाट टाढा रहन” आग्रह गरेको छ।
रूसले यस कदमलाई “उत्तेजक” भनेको छ र “आवश्यक परे समान कदम चाल्ने तयारी” जनाएको छ।
फ्रान्स र जर्मनी लगायतका युरोपेली राष्ट्रहरूले “गहिरो चिन्ता” व्यक्त गर्दै भनेका छन्, “यो निर्णयले अन्तर्राष्ट्रिय विश्वास कमजोर बनाउँछ।”
अमेरिकी सांसदहरू, विशेष गरी नेभाडाका प्रतिनिधिहरू वातावरणीय र कूटनीतिक असरबारे चेतावनी दिँदै खुलेर विरोधमा उत्रिएका छन्।
यो कदम शीतयुद्धपछि अमेरिकी परमाणु नीति परिवर्तन गर्ने सबैभन्दा ठूलो मोडको रूपमा हेरिएको छ। पूर्ण परीक्षण पुनः सुरु गरियो भने अमेरिकाले दशकौँदेखि बन्द रहेको परीक्षण पूर्वाधार पुनः निर्माण गर्न, वातावरणीय मूल्याङ्कन गर्न र अन्तर्राष्ट्रिय दबाब सामना गर्नुपर्नेछ।
विश्लेषकहरूले यो निर्णयले नयाँ परमाणु हतियार प्रतिस्पर्धा सुरु गर्न सक्ने, अमेरिकाको ‘नन-प्रोलिफरेशन नेतृत्वमा प्रश्न उठाउने, र विश्वव्यापी कूटनीतिक सम्बन्धमा तनाव बढाउन सक्ने भनेका छन।।
पेन्टागनले हाल संभावित परीक्षण स्थल र समयतालिकाबारे प्रारम्भिक मूल्याङ्कन सुरु गरेको छ। प्रारम्भमा ‘सबक्रीटिकल’ परीक्षणहरूगर्ने तयारी गरिएको बताइएको छ, जसमा पूर्ण रूपमा विस्फोट गरिँदैन। पूर्वाधार, वातावरणीय अनुमति र बजेट व्यवस्था आवश्यक हुने भएकाले पूर्ण परीक्षण सुरु गर्न भने केही महिना वा वर्ष लाग्न सक्छ।
कूटनीतिक विश्लेषकहरूका अनुसार ट्रम्पको यो घोषणा सी चिनफिङसँगको भेटभन्दा केही घण्टा अघि गर्नु नै रणनीतिक रूपमा नियोजित कदम थियो। उनले वार्तामा 'बार्गेनिङ पावर' बढाउन उक्त घोषणा गरेका ।”




प्रतिक्रिया