२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

न्यु जर्सी र भर्जिनियाको गभर्नरमा डेमोक्रेट उम्मेद्धार विजयी

न्यूजर्सी र भर्जिनिया राज्यको गभर्नरमा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्धारहरु क्रमशः माइकी सेरिल र एबिगेल स्प्यानबर्गरले जीत हासिल गरेका छन् ।
न्यु जर्सी र भर्जिनियाको गभर्नरमा डेमोक्रेट उम्मेद्धार विजयी


न्यूयोर्क । अमेरिकाको विभिन्न राज्यहरुमा मंगलबार भएको राज्य तथा स्थानीय तहका  निर्वाचनहरुमा डेमोक्रेट पार्टीका उम्मेद्धारहरुले बाजी मारेका छन् । न्यूजर्सी र भर्जिनिया राज्यको गभर्नरमा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्धारहरु क्रमशः माइकी सेरिल र एबिगेल स्प्यानबर्गरले जीत हासिल गरेका छन् । भर्जिनिया राज्यको एटर्नी जेनेरलका डेमोक्रेट पार्टीबाटै उम्मेदवार जे जोन्सले विजय हात पारेका छन् । यता न्यूयोर्कसिटीमा भएको मेयर निर्वाचनमा विजयी उम्मेद्धार जोहरान माम्दानीले ५० प्रतिशत मत कटाएर विजयी हुँदा रिपब्लिकन उम्मेद्धार कर्टिस स्लीवा भने ७ प्रतिशतमै खुम्चिन बाध्य भएका छन् ।  उता क्यालिफोर्नियामा संघीय सांसद संख्या बढाउन भएको राज्यको नक्शा पुनराब्लोकनमा समेत डेमोक्रेटिक पार्टीले जीत हात पार्दा आगमी वर्ष हुने संघीय संसदको निर्वाचनमा राष्ट्रपित ट्रम्पलाई प्रतिनिधिसभामा बहुमत जोगाउन चुनौति खडा भएको छ ।  यी नतिजालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालप्रतिको मतदाताको असन्तुष्टिको स्पष्ट सन्देशका रूपमा समेत विश्लेषण गरिएको छ 
न्यु जर्सीमा डेमोक्र्याट उम्मेदवार, कांग्रेसवुमन माइकी सेरिलले रिपब्लिकन ज्याक सिएटारेल्लीलाई फराकिलो अन्तरले पछि पारिन्। मतदानअघि सर्वेक्षणले प्रतिस्पर्धा कडा हुने संकेत दिए पनि मतगणनामा सेरिल दोहोरो अंकले अघि देखिइन्। यस्तै भर्जिनियामा डेमोक्रेटहरूले विजय हासिल गरेका छन्। । एबिगेल स्प्यानबर्गरले गभर्नर चुनावमा ९०% भन्दा बढी मत गणना हुँदा दोहोरो अंकको अग्रता कायम गरिन् र ऐतिहासिक रूपमा भर्जिनियाकी पहिलो महिला राज्यपाल बन्न सफल भएकी छिन्। लिफ्टेनेन्ट गभर्नरको दौडमा डेमोक्र्याट गजलाह हाश्मीले झन्डै १० अंकको अग्रता बनाउँदै देशव्यापी रूपमा राज्यस्तरमा निर्वाचित पहिलो मुस्लिम महिला बन्ने स्थिति बनाएकी छिन् । रिपब्लिकन गभर्नर उम्मेदवार विनसम अर्ल–सीयर्सलाई ट्रम्पले औपचारिक साथ नदिँदा अन्तिम चरणमा पार्टी एकता कमजोर देखियो।
क्यालिफोर्नियामा प्रतिनिधि सभा क्षेत्रलाई पाँच थप ‘डेमोक्र्याट–झुकाव’ सिटतर्फ सार्ने प्रपोजिसन ५० प्रतिशत मतले पारित गरेको छ । यो कदमलाई टेक्सास लगायत रातो राज्यहरूमा ट्रम्पको दबाबमा बनाइएका नक्साहरूको प्रतिपक्षी चालको रूपमा प्रस्तुत गरिएको छ । गभर्नर गाभिन न्युजोम नेतृत्वमा डेमोक्रेटहरूले यो अभियानलाई ‘ट्रम्पविरुद्धको जनमत’ का रूपमा चर्चा समेत गरेका छन् । पाँच सिटको यो अद्यावधिकले आगमी वर्षका लागि संसदको शक्ति–सन्तुलनमा निर्णायक प्रभाव पार्न आँकलन गरिएको छ । यद्यपि रिपब्लिकनका लागि अन्य राज्यहरूमा नक्सा फेरबदलका अवसर बाँकी छन्।

 

प्रतिक्रिया