२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

इतिहास रच्दै न्यूयोर्क सिटी मेयरमा माम्दानी निर्वाचित, पहिलो दक्षिण एशियाली मूलको मुस्लिम मेयर बन्ने

२० लाख भन्दा बढी मतदानको ८९ प्रतिशत गनना सकिदा ५० प्रतिशत भन्दा बढी मत हासिल गर्दै माम्दानीले विजयी सुनिश्चित गरेका हुन् ।
इतिहास रच्दै न्यूयोर्क सिटी मेयरमा माम्दानी निर्वाचित, पहिलो दक्षिण एशियाली मूलको मुस्लिम मेयर बन्ने

न्यूयोर्क । विभिन्न इतिहास रच्दै ३४ वर्षीय डेमोक्रेटिक सोसलिस्ट जोहरान माम्दानी अमेरिकाकै सबैभन्दा ठूलो महानगर न्यूयोर्कसिटीको मेयरमा निर्वाचित भएका छन् । २० लाख भन्दा बढी मतदानको ८९ प्रतिशत गनना सकिदा ५० प्रतिशत भन्दा बढी मत हासिल गर्दै माम्दानीले विजयी सुनिश्चित गरेका हुन् । 
राती नौ बजे मतदान सकिए लगतै शुरु भएको गननामा १० बजेसम्माको परिणाममा उनले ५० प्रतिशत मत कटाएका छन् । मतदानपछि एसोसिएट प्रेस लगायत विभिन्न संस्थाहरुले गरेको परिणाम प्रक्षेपणमा समेत मम्दानीलाइ न्यूयोर्क सिटीका १११ औँ मेयरका रूपमा विजेता घोषणा गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो सहरको उच्चतम पदमा निर्वाचित हुने उनी सहरको इतिहासमै पहिलो मुस्लिम हुन् भने पहिलो दक्षिण एसियाली मूलका समेत हुन् । माम्दानी युगाण्डामा जन्मिएका दक्षिण एशियाली मूलका अमेरिकी नागरिक हुन् ।
राति १० बजे सम्ममा ८९% मत गनिसक्दा माम्दानीले ५० प्रतिशत मत कटाएका छन् । सहरको निर्वाचन बोर्डका अनौपचारिक नतिजा अनुसार माम्दानीले ५०.४% (१०१९४३३) मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्रयू कुमोले ४१.६% (८४१९६१) मत पाएका छन् । यसैगरी रिपब्लीकन पार्टीका कर्टिस स्लीवाले ७.१ प्रतिशत अर्थात १४४६२० मत प्राप्त गरेका छन् । करिब ५० लाख मतदातामध्ये २० लाखभन्दा बढीले मतदान गरेका थिए । यो मतदान १९६९ यताकै सबैभन्दा ठूलो सहभागिता  रहेको न्यूयोर्कसिटीको निर्वाचन बोर्डले जनाएको छ । 

माम्दानीले नयाँ वर्षको पहिलो दिन पदभार सम्हाल्नेछन्। उनी एरिक एडम्सका उत्तराधिकारी हुनेछन्। एडम्स सेप्टेम्बर अन्त्यतिर कम लोकप्रियताका कारण आम निर्वाचनबाट बाहिरिएका थिए र पछिल्ला दिनमा कुमोलाई समर्थन गरेका थिए। हाल क्वीन्सबाट असेंबली सदस्य रहेका माम्दानी सहरको इतिहासमा दोस्रो सबैभन्दा कान्छा मेयर बन्नेछन् ।सबैभन्दा कान्छा ह्यु ग्रान्ट १८८९ मा ३१ वर्षमै मेयर बनेका थिए।
गत वर्षभर डेमोक्रेटिक प्राथमिक निर्वाचनमा अनपेक्षित जित हासिल गर्दै माम्दानी राष्ट्रिय स्तरमै चर्चित बने। नोभेम्बर ४ को आम निर्वाचनमा पनि उनी भारी जनसमर्थनसहित अघि बढे।
उनको विजयको केन्द्रीय नारा ‘जीवनयापन चुक्ता गर्ने सहर’ थियो—बस सेवा निःशुल्क बनाउने, भाडामा स्थिर किरायाका घरहरूमा भाडा वृद्धि स्थगित गर्ने, र निःशुल्क सार्वभौमिक चाइल्ड केयर लागू गर्ने जस्ता महत्वाकांक्षी प्रस्तावसमेत अघि सारे। 
उनका अभियानमा करिब १ लाख स्वयंसेवक सक्रिय रहे र साना रकमको शक्तिशाली फन्डरेजिङले अभियानलाई बलियो बनायो। प्राथमिकमा जस्तै आम निर्वाचनमा पनि उनी नयाँ मतदाता समूहलाई उत्साहित गर्न सफल रहे।

 

प्रतिक्रिया