न्यू योर्क। न्यू योर्कस्थित क्वीन्सको रिजउडमा स्थानीय नेपाली समुदायका बालबालिकाले लेमोनेड बिक्री गरी फण्ड रेज (रकम संकलन) गरेका छन् । समर भ्याकेसनमा रहेका ४ जना बालबालिकाहरुले समर लेमोनेड बिक्री अभियान गरेर संकलित रकमको ३० प्रतिशत बालबालिकाको शिक्षामा सहयोग गर्ने घोषणा गरेका छन् ।
११ वर्षीया डेक्वेन्जा शाक्य चौधरी, १२ वर्षीय आर्यन सिंह घिमिरे, ८ वर्षीय जाभियन शाक्य चौधरी तथा ७ वर्षीय देव सिंह घिमिरेले लेमोनेड बेचेर प्राप्त भएको आम्दानीको ३० प्रतिशत बोल्ड एक्शन फर सोसिअल एजुकेशन (Bold Action for Social Education) BASE International Inc. लाई प्रदान गरिने जनाइएको छ। BASE International Inc. ले नेपाल, भारत, बङ्गलादेश लगायत विकासोन्मुख देशका बालबालिका तथा सेवा–सुविधाबाट वञ्चित समुदायका लागि शैक्षिक अवसर विस्तार, नेतृत्व विकास,सामाजिक न्याय तथा सामुदायिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ।
बालबालिकाले आफूहरू जस्तै शैक्षिक अवसर प्राप्त गर्न नसकेका बालबालिकाको शिक्षामा योगदान र्पुयाउने उद्देश्यले लेमोनेड बिक्री गरेको बताएका छन् । उनीहरूले लेमोनेड बिक्रीबाट रकम संकलन गरी अझ बढी बालबालिकालाई विद्यालय शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । आयोजकका अनुसार लेमोनेड स्टल अगस्ट २०२६ को अन्त्यसम्म प्रत्येक शनिबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म रिजउडमा सञ्चालन हुनेछ। बालबालिकाको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानले समाज सेवामा उमेर बाधक नहुने सन्देश दिएको छ। सहकार्य, करुणा र सामाजिक उत्तरदायित्वको भावनासहित सञ्चालन गरिएको अभियानमार्फत रिजउड समुदायलाई लेमोनेड खरिद गर्दै बालबालिकाको शिक्षामा योगदान पुर्याउन आह्वान गरिएको छ।





प्रतिक्रिया