न्यूयोर्क । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार दिउँसो देशभरका सबै विमानस्थलबाट हुने उडानमा आकस्मिक रोक लगाएको छ। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूबीच सञ्चार प्रणालीमा समस्या उत्पन्न भएको एफएएले यस्तो सूचना जारी गरेको बताइएको छ। यो निर्णयपछि देशभर १० हजारभन्दा बढी हवाई सेवा प्रभावित भएको छ भने हजारौं यात्री मर्कामा परेका छन् । यो सूचनापछि विमानस्लमै पुगेका यात्रुहरुमा समेत अन्योलता छाएको छ।
न्युयोर्क टाइम्सका अनुसार एफएएले असाधारण परिस्थिति र उड्डयन सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रव्यापी रूपमा उडान रोक्ने निर्णय गरेको हो। अमेरिकाका यातायातमन्त्री सिन डफीले सामाजिक सञ्जाल एक्समार्फत देशभरका सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरलाई असर पार्ने सञ्चार समस्याका कारण उडान रोक्नुपरेको पुष्टि गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
एफएएले जारी गरेको वक्तव्यमा आफ्ना प्राविधिक कर्मचारीहरू समस्याको अनुसन्धानमा जुटिरहेको र थप जानकारी उपलब्ध गराउने जनाएको छ। प्रशासनले प्रारम्भिक रूपमा प्राप्त सूचनाका आधारमा निर्णय गरिएको र परिस्थितिअनुसार विवरण परिवर्तन हुन सक्ने पनि स्पष्ट पारेको छ।
द वासिङ्टन पोस्टका अनुसार वासिङ्टन नजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलमा उडान प्रभावित भएका छन्। लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा युनाइटेड एयरलाइन्सका कर्मचारीले यात्रुलाई राष्ट्रव्यापी उडान रोकिएको जानकारी गराए पनि यसको कारणबारे तत्काल जानकारी नभएको बताएका थिए।
द न्युयोर्क टाइम्सका अनुसार शुक्रबार साँझ करिब ४ः४५ बजेसम्म अमेरिकाभर ७ हजार ८०० भन्दा बढी उडान ढिला भएका थिए भने करिब ३५० उडान रद्द भएका थिए। त्यस्तै, फ्लाइटी नामक उडान ट्र्याकिङ एपका अनुसार उडान रोक सुरु भएपछि दिनको बाँकी समयमा ३० हजारभन्दा बढी उडान प्रस्थान र अवतरणका लागि निर्धारित थिए।
यद्यपि, उडान रोक लाग्नुअघि नै आकाशमा रहेका विमानहरूलाई भने आफ्नो गन्तव्यसम्म पुगेर सुरक्षित अवतरण गर्न अनुमति दिइएको थियो। युनाइटेड एयरलाइन्सले पनि आकाशमा रहेका विमानहरूको उडान जारी रहने तर नयाँ आन्तरिक उडानहरू रोकिएको जनाएको छ।
शुक्रबारको घटना पछिल्ला केही दशकमा अमेरिकामा भएको तेस्रो राष्ट्रव्यापी उडान रोक हो। यसअघि सन् २००१ सेप्टेम्बर ११ मा आतंकवादी हमलापछि र सन् २०२३ जनवरी ११ मा एफएएको विमान चालकलाई सुरक्षा सूचना दिने प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिएका थिए।
सन् २०२३ मा भएको उडान रोक करिब ९० मिनेटसम्म कायम रहेको थियो। त्यसबेला प्रणालीसँग सम्बन्धित फाइलहरू गल्तीवश मेटिएका कारण समस्या उत्पन्न भएको थियो।




प्रतिक्रिया