२६ कात्तिक २०८३, बुधबार
Wed, Nov 11, 2026
SUBSCRIPTION

मध्यावधि निर्वाचनमार्फत अमेरिकी कंग्रेस डेमोक्रेटिक पार्टीको नियन्त्रणमा, राष्ट्रपति ट्रम्पलाई गम्भीर धक्का

मंगलबार सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीलाई संघीय संसदको दुवै सदनमा बहुमत दिलाएर रिपब्लिकन पार्टीको सरकारप्रति गम्भीर अमेरिकी जनताले स्पष्ट रुपमा असन्तुष्टि प्रकट गरेका हुन् ।
मध्यावधि निर्वाचनमार्फत अमेरिकी कंग्रेस डेमोक्रेटिक पार्टीको नियन्त्रणमा, राष्ट्रपति ट्रम्पलाई गम्भीर धक्का

न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्द उन्माद् र आर्थिक नीतिप्रति असन्तुष्ट अमेरिकी नागरिकले मध्यावधि निर्वाचन मार्फत ट्रम्प प्रशासनको विपक्षमा मत जाहेर गरेका छन् । मंगलबार सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीलाई संघीय संसदको दुवै सदनमा बहुमत दिलाएर रिपब्लिकन पार्टीको सरकारप्रति गम्भीर अमेरिकी जनताले स्पष्ट रुपमा असन्तुष्टि प्रकट गरेका हुन् । 
न्यूयोर्क टाइम्सका अनुसार राती २ बजेसम्मको मतपरिणाममा डेमोक्रेटिक पार्टीले सिनेटमा ५३ सिट पुर्याएर स्पष्ट बहुमत हासिल गरेको छ भने तल्लो सदन प्रतिनिधिसभामा २२१ सिटमा विजयी हासिल गर्दै बहुमत हासिल गरेको छ । 

निर्वाचनमा डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, टेक्सास, ओहायो, क्यान्सस र आयोवामा सिनेटका सिटहरु आफ्नो पक्षमा पारेको छ । सामान्यतया रिपब्लिकन पार्टीको बलियो प्रभाव रहेका राज्यहरूमा समेत डेमोक्र्याटले सफलता हासिल गर्दै सिनेटमा बहुमत बनाएका हुन्।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा नर्थ क्यारोलाइनाबाहेक यी सबै राज्यमा ट्रम्पले दोहोरो अंकको मतान्तरले विजय हासिल गरेका थिए। सिनेटमा पुनः बहुमत प्राप्त गर्न डेमोक्र्याटलाई चार सिटको खुद वृद्धि आवश्यक थियो।

जर्जियामा डेमोक्र्याटिक सिनेटर जोन ओसोफले सहज रूपमा पुनः निर्वाचन जितेका छन्। ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि नै रिपब्लिकनहरूले विशेष लक्ष्य बनाएको निर्वाचन क्षेत्रमध्ये जर्जिया पनि एक थियो। त्यसैगरी डेमोक्र्याटहरूले न्यु ह्याम्पसायर र मिनेसोटामा आफ्ना सिनेट सिट सहजै सुरक्षित राखेका छन्। रिपब्लिकनहरूले जित्ने राम्रो सम्भावना देखेको मिशिगनको रिक्त सिनेट सिटमा पनि डेमोक्र्याट उम्मेदवारले अग्रता कायम राखेका छन्।
यस निर्वाचन परिणामले अमेरिकी राजनीतिमा डेमोक्र्याटहरूको पुनरागमनलाई संकेत गरेको छ। विशेषगरी अर्थतन्त्र, महँगी, इन्धनको मूल्य र विदेश नीतिप्रति मतदाताको असन्तुष्टिले रिपब्लिकन पार्टीलाई ठूलो राजनीतिक धक्का दिएको विश्लेषण गरिएको छ। 
डेमोक्रेटिक पार्टीले राज्य चुनाबमा समेत जनमत आफ्नो पक्षमा पारेको छ । टेक्सास राज्यमा रिपब्लिकन बर्चश्व तोड्दै गभर्नरमा विजयी भएको छ । 
न्युयोर्कका डेमोक्र्याटिक नेता चक शुमरले अब सिनेटमा बहुमत दलको नेताको जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ।

वासिङ्टन डीसीस्थित सिनेट डेमोक्र्याटहरूको चुनावी मुख्यालयबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै शुमरले भने, “सबै प्रतिकूलताका बाबजुद हामी डेमोक्र्याटहरूले सिनेट जितेका छौँ। अमेरिकी जनताका लागि हामीसँग पाँच शब्द छन्—राहत आउँदैछ।”

यस निर्वाचन परिणामलाई उच्च मुद्रास्फीति, इन्धनको चर्को मूल्य, राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको इरान युद्ध तथा व्यापारिक साझेदार राष्ट्रहरूसँगको उनको व्यापारिक विवादप्रति मतदाताले दिएको जवाफका रूपमा हेरिएको छ।
निर्वाचनपछिका सर्वेक्षण (एक्जिट पोल) ले अमेरिकी अर्थतन्त्रप्रति मतदातामा गहिरो असन्तुष्टि रहेको र अमेरिकी कंग्रेसको कार्यसम्पादनप्रति पनि व्यापक निराशा रहेको देखाएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पनि चुनावी प्रतिस्पर्धामा रहेको जस्तै गरी आफ्ना समर्थकहरूलाई सक्रिय हुन पटक–पटक आग्रह गर्दै आएका थिए । 

प्रतिक्रिया