न्यू योर्क । अमेरिकाको भर्जेनियामा झण्डै साँढे दुई वर्षअघि भएको नर्स ममता काफ्लेको हत्यामा पति नरेश भट्ट दोषी ठहर भएका छन् । भर्जिनियाको कमनवेल्थ अदालतले ६ हप्ता लामो सुनुवाईपछि नोभेम्बर १० मा गरेको फैसलामा ममताका पति नरेश भट्टलाई हत्याको कसुरमा पहिलो श्रेणीको हत्याको फैसला सुनाएको हो ।
अदालतको फैसलामा ममताको घरभित्रै हत्या गरेको, मृत शरीर लुकाएको र मृत शव टुक्रा टुक्रा पारेर शवको अपमान गरेको भन्दै ३ वटै मुद्धामा पति नरेशलाई दोषी ठहर गरेको छ । ममताका पति नरेशले लगतार रुपमा अस्वीकार बयान दिदै आएकोमा गत हप्ताको बयानमा भने ममताले विष खाएर आत्माहत्या गरेको जिकिर गर्दै मृत्यु बारे कसैले थाहा नपाओस भनेर शवलाई विद्युतीय आराले काटेर टुक्रा टुक्रा पारी झोलामा प्याक गरेर फोहोर फ्याक्ने ट्रयास क्यानमा फालेको स्वीकार गरेका थिए । बयानका क्रममा उनले घरमा रहेको ट्रयास क्यानमा ममताको शवलाई फयाँकेको बिना संकोच बताएका थियो । तर, आफुले हत्या गरेको बारेमा भने उनले अस्वीकार गर्दै आएका छन् ।
६ हप्ता लामो सुनुवाईपछि मंगलबार १२ सदस्यीय जुरीले झण्डै ५ घण्टा छलफल गरी नरेश दोषी भएको फैसला न्यायाधिश किम्बर्ली ए. अर्भिङले सुनाएका थिए । हत्यामा दोषी ठहर भएपनि सजाय भने आगमी मार्च १२ मा सुनाउने तालिका न्यायाधिश किम्बर्ली ए. अर्भिङले जानकारी गराएका थिए । अमेरिकामा “फस्र्ट डिग्री मर्डर” को अपराधमा आजीवन काराबासको सजाय हुने व्यवस्था छ ।
भट्ट विरुद्धको मुद्धामा राज्य पक्षले १ सय जना भन्दा बढी साक्षी र ५ सय भन्दा बढी प्रमाण बहसका क्रममा पेश गरेको थियो । बहसमा क्रममा नरेशले पटक पटक गरेर गार्बेज फ्याँकेको भिडियोहरु प्रस्तुत गरेको थियो । नरेश भट््ट विरुद्धको मुद्धा ६ हप्ता सम्म चलेको थियो । ममताको पक्षमा राज्य पक्षको तर्फबाट डिपुटी कमनवेल्थ अटोर्नी म्याथ्यु रुवीट र सिनियर असिस्टेन्ट कमनवेल्थ अटोर्नी सारा सामीले बहस गरेका थिए । मुद्धाको बहसको ओपनिङ र क्लोजिङमा नरेशले ममताको हत्या गरेर सबैलाई ढाँटेको भन्दै ममताको हत्या नरेहले नै गरेको जिकिर गरेका थिए ।
भर्जिनिया राज्यको वियलयम्स काउन्टीबाट २०२४ को जुलाईको अन्तिम सातादेखि ममता बेपत्ता थिइन्
ममतालाई अन्तिम पटक जुलाई २९ तारिखमा अस्पतालबाट ट्याक्सी चढेर घर फर्केको सिसि कयामेरामा देखिएको थियो । ममता वेपत्ता भएको भन्दै पति नरेशले प्रहरीमा जानकारी गराएपछि घटना सार्वजानिक भएको थियो । ममताको खोजीका लागि भर्जिनियामा रहेका नेपाली समुदायले सक्रियता देखाएका थिए भने अमेरिकामा रहेका नेपाली समुदायले सामाजिक सञ्जालमार्फत सहयोग गर्न अपिल गरेको थियो। ममताको खोजीका लागि उनकी आमा र दाजु दुईवर्षअघि अमेरिका आएका थिए ।
प्रहरीको अनुसन्धानका क्रममा नरेशको गतिविधि शंकास्पद देखिएपछि र ममताको माइतीतर्फबाट पति नरेशले नै हत्या गरेको हुन सक्ने दावी गरेपछि नरेश पक्राउ परेको थियो । ममताको शव भने अझै फेला परिसकेको छैन ।
यसैवीच ममताको हत्या भएको दावी गर्दै नरेशलाई कारबाहीको माग गर्दै ममताको आत्मालाई न्याय प्रदान गर्न भन्दै जुटेका अभियन्तहरुले ममताले न्याय पाएको भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरुले अमेरिकाको न्याय प्रणालीप्रति आभार समेत ब्यक्त गरेका छन् । मंगलबारको फैसलापछि अदालत बाहिर कोणसभाको आयोजना गर्दै ममताको न्यायका लागि निरन्तर आवाज उठाउदै आएका आफन्ता, नेपाली समुदाय तथा अमेरिकन अभियन्तहरुलाई धन्यवाद् दिएका छन् ।




प्रतिक्रिया