न्यू योर्क। बोल्ड एक्सन फर सोसिअल एजुकेशन (बेस) इन्टरनेशनल इंक (Base International Inc.) को आयोजनामा गएको आइतबार द पावर अफ माइन्डफुलनेस मेडिटेशन (सचेतन ध्यानको शक्ति) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आत्मचिन्तन, मानसिक स्वास्थ्य, आपसी सम्बन्धका लागि सकारात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले सचेतन ध्यान, आत्म हेरचाह, तनाव न्यूनीकरण तथा भावनात्मक कल्याणका विषयमा छलफल र अभ्यास गरिएको थियो।
करिब डेढ घण्टासम्म चलेको कार्यक्रम बेस इन्टरनेशनल इंककी अपरेसन तथा प्रशासन प्रमूख दाजिमा शेर्पाको स्वागत मन्तव्यबाट सुरु भएको थियो। शेर्पाले संस्थाको सदस्यहरूको परिचय गराउँदै बेस इन्टरनेश्नल इंकले शिक्षा, सामुदायिक सशक्तीकरण, नेतृत्व विकास तथा सामुदायिक विकासको क्षेत्रमा संस्थाले गर्दै आएको कामबारे जानकारी गराइन्। बेस इन्टरनेशनल इंकमा नेपाल, बंगलादेश, चीन तथा अन्य एसियाली मुलुक र समुदायको प्रतिनिधित्व रहेको जानकारी गराइन् ।
कार्यक्रमको मुख्य सत्र सचेतन ध्यान अभ्यासकर्ता, हार्वर्ड विश्वविद्यालयकी स्कलर तथा Daily Buddhist की सह(लेखिका पेमा शेर्पाले सञ्चालन गर्नुभएको थियो। उहाँले सचेतन मनले व्यक्तिलाई आफ्ना विचार, भावना र दैनिक जीवनका अनुभवहरूप्रति सचेत हुन तथा आफूलाई नजिकबाट राम्रोसँग बुझ्न कसरी सहयोग पुर्याउँछ भन्ने विषयमा जानकारी दिइन्।
कार्यक्रममा सहभागीहरूले दैनिक जीवनमा सचेतन ध्यानलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राख्दै अन्तरक्रियात्मक छलफलमा भाग लिएका थिए। छलफलका आत्महेरचाह, तनाव व्यवस्थापन, भावनात्मक विचारलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा सहभागीहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा मानसिक स्वास्थ्यलाई सामाजिक लाञ्छना र संकोचका रुपमा हेरिने भएकोले त्यस्तो विषयलार्य कसरी छलफलको बिषय बनाउन सकिन्छ भनने बारेमा छलफल गरिएको थियो। पेमा शेर्पाले सहभागीहरूलाई शान्त र निर्देशित ध्यान अभ्यास गराउँदै सिकेका कुरालाई व्यवहारमा अनुभव गर्न सचेतन ध्यानको प्राक्टिस गराइएको थियो ।
कार्यक्रममा बेस इन्टरनेश्नलका संस्थापक अध्यक्ष दीपक चौधरीले व्यस्तजीवशैली व्यवस्थापन सचेतन ध्यान अभ्यासकर्ता पेमा शेर्पाले आफ्नो ज्ञान र अनुभव र सचेतन ध्यानसम्बन्धी साझा गरेका सिकाई महत्वपूर्ण भएको बताउँदै धन्यवाद व्यक्त गरे । आफ्नो लागि समय निकाल्नु भनेको आफ्नो व्यक्तिगत स्वास्थ्य, परिवार र स्वस्थ समुदाय निर्माणको एउटा महत्वपूर्ण आधार भएको चौधरीको भनाइ छ । उहाँले सहभागीहरूलाई आत्महेरचाहलाई प्राथमिकता दिदै सचेतन ध्यानको अभ्यासलाई निरन्तरता दिन र भावनात्मक तथा मानसिक स्वास्थ्यका विषयमा खुलेर संवाद गर्न आग्रह गरे । अध्यक्ष चौधरीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने संस्थाका बोर्ड सदस्यहरु र कार्यक्रममा सहभागीहरूलाई धन्यवाद व्यक्त गरे । यस्ता संस्थाले समुदायका सदस्यहरूलाई व्यवहारिक सीप सिक्ने, नेतृत्व विकास गर्दै सामुदायिक सम्बन्ध निर्माण गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।









प्रतिक्रिया