न्यू योर्क । बोल्ड एक्सन फर सोशल एजुकेशन (बेस) इन्टरनेश्नलले न्यूयोर्क सिटीको स्वास्थ्य तथा मानसिक स्वच्छता विभागसँगको सहकार्यमा स्व–हेरचाह, तनाव व्यवस्थापन र स्वास्थ्य सम्बन्धी एक कार्यशाला आयोजना गरेको छ। न्यूयोर्क सिटीको स्वास्थ्य तथा मानसिक स्वच्छता विभागको कार्यालयमा भएको कार्यशालामा क्वीन्समा बसोबास गर्दै आएका विभिन्न देशका २५ भन्दा बढी आप्रवासी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
अप्रिल ४ मा भएको कार्यशालामा मानसिक स्वास्थ्यको महत्व र दैनिक जीवनमा तनावले पार्ने प्रभावका बारेमा जानकारी दिइएको थियो। नेपाल, बंगलादेश, भारत र चीन लगायत देशका सहभागीहरूलाई सामूहिक छलफल र अन्तरक्रियात्मक गतिविधिमार्फत तनावका सामान्य लक्षण, उपचार प्राप्त गर्नका लागि हुने कठिनाइहरू र आफ्नो स्वास्थ्य सुधार गर्न अपनाउन सकिने सामान्य उपायहरूबारे जानकारी दिइएको थियो।
कार्यक्रम विशेष गरी आप्रवासी समुदायका युवा, वयस्क र समुदायका अगुवाहरूलाई लक्षित गरेर आयोजना गरिएको आयोजकले जनाएको छ । सहभागीहरुले सांस्कृतिक भिन्नता, सामाजिक एक्लोपन र स्वास्थ्य सेवामा सीमित पहुँचजस्ता चुनौतीहरूको सामना गर्ने भएकाले समुदायका लागि यस्तो कार्यक्रम उपयोगी भएको बताएका थिए । न्यू योर्क सिटीको मेन्टल हेल्थ एण्ड हाइजिन डिपार्टमेन्टका कम्युनिटी इन्गेजमेन्ट एण्ड टे्रनिङ स्पेशलिष्ट दिपक चौधरीले यस्तो कार्यक्रमले मानिसहरूलाई आफ्नै स्वास्थ्यको ख्याल राख्न र तनावलाई सही तरिकाले कसरी व्यवस्थापन गर्न सकिन्छ भनने बारेमा सचेत गराउनु सहयोग गर्ने बताए । चौधरीले यस्ता कार्यक्रमले समुदायबीच सहकार्य बढाउँदै स्वस्थ र सशक्त समाज निर्माण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए।
बेस इन्टरनेश्नलले आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्दै आप्रवासी तथा सेवाबाट वञ्चित समुदायका लागि मानसिक स्वास्थ्यसम्बन्धी जानकारी र सेवामा पहुँच विस्तार गर्ने योजना बनाएको आयोजकले जनाएको छ।
बेस इन्टरनेश्नल शिक्षा प्रवद्र्धन, सामुदायिक सशक्तीकरण र सामाजिक कल्याणको क्षेत्रमा काम गर्ने संस्था हो। यसले विभिन्न समुदायलाई लक्षित गर्दै सांस्कृतिक रूपमा उपयुक्त कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।







प्रतिक्रिया