०५ असार २०८३, शुक्रबार
Fri, Jun 19, 2026
SUBSCRIPTION

जब मन अनायसै गह्रौं र आत्मियतासंग विछोडिएको अनुभूति भयो

अनुभव र बैधानिक कागजातको कमिले म जस्तो शारिरिक काम त्यति दरो गर्न नसक्नेको लागि मुख बजाएर गर्ने काम कमै थियो। सामन्य ब्यवसायको लागि प्रयास गर्दै थिए। पुख्र्यौली पेसा सरल भाषामा भन्दा दुइमा किनि तीनमा बेच्ने काम हामी हिमाली भोटेहरुको कला नै त नभनौ बाध्यताको उपज भन्नुपर्ला ।
जब मन अनायसै गह्रौं र आत्मियतासंग विछोडिएको अनुभूति भयो

तेञ्जिङ के. उक्याब 

जन्मथलो ओलाङ्चुङ छाडेर अमेरिकाको ओरिगन राज्यको सुन्दर शहर युजिनमा केही औपचारिक शिक्षा हासिल गरी अमेरिकाकै सबभन्दा ठुलो सहर न्यू योर्कको रंगिन दुनियामा भुलेको पनि ३४ बर्ष बितिसकेछ । तर, ओलाङ्चुबाट ताप्लेजुङ बजार अनि काठमाडौ हुँदै अमेरिका आएका हिजै जस्तो लागिरहेछ । 
अनुभव र बैधानिक कागजातको कमिले म जस्तो शारिरिक काम त्यति दरो गर्न नसक्नेको लागि मुख बजाएर गर्ने काम कमै थियो। सामन्य ब्यवसायको लागि प्रयास गर्दै थिए। पुख्र्यौली पेसा सरल भाषामा भन्दा दुइमा किनि तीनमा बेच्ने काम हामी हिमाली भोटेहरुको कला नै त नभनौ बाध्यताको उपज भन्नुपर्ला । त्यसैको अनुसरण गरि ठमेलमा भएको हाम्रै पसलबाट चाँदीका गहनाहरु, गलैचा, लुगा र थाङ्काहरु बिक्रि गर्न सकिन्छ कि भनी पसल पसलमा बेच्न कोशिस गरे । एक दिन एकजना बटुवाले चर्चको छेउमा टेबल राखेर बेच्न पाइन्छ भने पछि शनिबार र आइतबार थोरै भाडा तिरी टेबलमा सामान बेच्न पो थालियो। 
केही राम्रो काम र ब्यवसाय थाल्न आवश्यक र सहजताको लागि अमेरिकाको बैधानिक कागज बनाउनु अति आवश्यक हुन्छ। त्यसैको खोजीमा समय र पैसा खर्चेर काम गर्न पाउने कागज, ग्रिनकार्ड हुँदै अमेरिकन नागरिकता लिएको पनि १२ बर्ष नाघि सकेछ । यहि क्रममा दोहोरो नागरिकता, हामीसंगै भएको नागरिकताको निरन्तरता इत्यादि माग र बहस निरन्तर भइरहेको थियो । अझै हुँदै छ, कुनै ठोस निर्णय भएको छैन।

 तर यो पटकको जन्मथलो फिर्तिमा पहिले जस्तो उत्सहा र खुशी पटक्कैै छैन । साथीसंगीसंगको भेटमा मन रमाउन सकेको छैन । बरु एउटा आत्मियसंगको बिछोडको अनुभुति भइरहेको छ । मन अनायसै गह्रौं गह्रौं भइरहेको छ । मन भित्रै स्वतः स्फुर्त प्रश्नहरु उठिरहेका छन् । के यो मेरो बिवसता नै हो त ?

यतिबेला फेरी जन्मथलो ताप्लेजुङ आएको छु । आफुले हाइस्कुल पढेको ठाउँ । तर यो पटकको जन्मथलो फिर्तिमा पहिले जस्तो उत्सहा र खुशी पटक्कै छैन । साथीसंगीसंगको भेटमा मन रमाउन सकेको छैन । बरु एउटा आत्मियसंगको बिछोडको अनुभुति भइरहेको छ । मन अनायसै गह्रौं गह्रौं भइरहेको छ । मन भित्रै स्वतः स्फुर्त प्रश्नहरु उठिरहेका छन् । के यो मेरो बिवसता नै हो त ? जुन नागरिकताको आधारमा मलाई पासपोर्ट रुपी पखेटा मिल्यो, बाध्यता र बिवसताका कारण बिदेश पुगेका हामी जस्तालाई अवसरको खोजीको लागि आधार बनिदियो । आज त्यही नागरिकतालाई किन त्याग्नुपर्ने ? अझ भनौ राष्ट्रियता मै बीट मार्नु पर्ने ? 
त्यो एउटा पखेटा थियो, जुन बेला खुट्टाले र औकातले पुग्न सकिदैनथ्यो । त्यसबेला सहारा मात्र नभइ अवसरहरु दिने नागरिकतालाई बाध्यताकासाथ ताप्लेजुङ जिल्लाको सिडिओ समक्ष फिर्ता गरियो । जुन काम नितान्त सहि र कानून सम्मत त थियो, तरपनि मनको प्रश्नहरुको उत्तर भने पाउन सकेको थिएन ।

नेपाललाई दुख्दा पीडा महशुस गर्छौं 

एउटा विकसित राष्ट्रबाट पाइने अनुभव, ब्यवसायको अवसर र जीवनलाई सहजीकरण गर्ने दौडमा कर्मभूमि देशको नागरिकता लिनु आवश्यकता र बाध्यता पनि थियो होला। तर आफ्नो देशको नागरिकता हुँदासम्म भित्र मनमा बिदेशिएको र विदेशी भएको अनुभव कहिल्यै भएन । भित्री मनबाट देशबाट कहिल्यै टाढा महशुस गरेन । देशको प्रत्येक विपत्तीहरुमा हामी पनि बराबर दुख बाँड्ने प्रयास गर्यौं । भुइचालो आउदा हामी काम छोडि राहत बोकि दुख बाँड्न पुग्यौँ, बारपाकमा एकसय वटा घर बनायौ, मेरी छोरी र उनको तिब्बतियन साथीहरु बारपाक र सिन्धुपाचोकमा पुगेर महाभुकम्पको भयले त्रसित स्कुलका नानीहरुलाई मनोबैज्ञानिक राहत हुने खेल, नाचगानहरुको वर्कशपहरु संचालन गरेका थियौं । स्कुल र बाटोहरु भत्किदा, गुम्बा र मन्दिरहरु जिर्ण हुँदा, गाउँमा बर्खे पुल भत्कदा, पहिरोले गाउका बस्ती बगाउदा, आगलागीले घरबार नासिन्दा हामीलाइ खबर आउछ, आश गरेजस्तो हामी पनि हतार हतार भेला भइ सक्दो सहयोग संकलन गरि हाल्छौं आफ्नै कर्तब्य ठानी । पुर्व पश्चिम, को, के रतिभर नसोची हरेक दुखमा भरथेक गरिरहेका छौं । गर्छौं, यो निरन्तर हुन्छ र हुनु पर्दछ । 

नेपालमा भारतबाट नाकाबन्दि हुँदा हामीले संयुक्त राष्ट्रसंघको भवन अगाडी र भारतीय दूताबासअघि प्रदर्शन गरेका थियौं । नेपालको राष्ट्रिय मामलामा भएको समस्याहरुमा प्रधानमन्त्री र मन्त्रीहरुको भ्रमण ताका ज्ञापनपत्र दिन्छौं। भन्दा कस्तो सुन्ला तर, नेपालमै बसिरहने कुनै नागरिकले भन्दा हामी बाहिरिएकाहरुले देशको नागरिकहरुले गर्ने सम्पुर्ण काम गर्छौं । किनकि एउटा सचेत नागरिकको कर्तव्य पनि हो । हामी नेपालमा पानी पर्दा छाता ओड्नेहरु हौ र नेपाललाई दुख्दा हामी पीडा महशुस गर्दछौं ।

तर हाम्रो पासपोर्ट, नागरिकता, एनआरएन कार्ड र हामी संगै भएको नागरिकताको निरन्तरता, दोहोरो नागरिकता इत्यादी हाम्रो सवालहरु जस्ताको तस्तै छन् । बिदेशी नागरिकता प्राप्त गर्दै गर्दा कोहि कोहि हाम्राहरुले रमाइलो गरे । शुभकामना साटासाट गरे र खुशी पनि मनाए । संसारकै शक्तिसाली नागरिकता पाउदै गर्दा आफ्नो मौलिक अस्तित्व गुमाएको पत्तै भएन । 

हामी शरणार्थी होइनौं 
हाम्राहरुले देश बिर्स त भनेका छैनन् तर हामीलाई शरणार्थीको स्तरमा राखिएको भन्दा फरक नपर्ला। यहाँको निम्न मध्यम बर्गको आधरभूत आवश्यकताहरु घर, कार, ब्यवसाय लगायत जोड्दै गर्दा र आफ्नो गाउँ ठाउमा थोर बहुत सामाजिक सेवा गर्दै गर्दा र यता कर्मभूमिमा समेत स्थानिय सरकार र सामुदायिक सेवाको क्षेत्रमा काम गर्दै “अमेरिकन ड्रिम” पुरा गर्दै गर्दा पनि कहिल्यै मन भित्रबाट नेपाल बाहेक अरुको मुलधारमा भएको अनुभव भएन । “आइ एम एन अमेरिकन” भन्न कहिलै आएन । मलाइ जहिल्यै पनि “आइ एम ए नेपालिज” र अझ प्रष्ट्याउदै “आइ एम नेपालिज टिबेटन”(नेपालको भोटे) भन्न बरु आउछ । त्यो सत्य पनि हो । तर देशभित्रै भने हामीलाई शरणार्थीको दाँजोमा सोच्नेहरु पनि छन् ।
आजको परिवेशमा जो जहाँ को हो त्यही बस्छ भन्ने कुरा अपबाद मात्र होला । तर प्राय मेरो उमेरको अर्थात ५०÷५५ कटेकाहरुलाई बिस्तारै अर्काको ठाउँ बिरानो लाग्ने अनि आफ्नै देश फर्कौ र केहि गरौं भन्ने सोचाई विकास हुने गर्दछ । तर छुट्टिएको लामो समयको अन्तरालले यहाँका रहन सहन, परिवेश, ब्यवसायिक र सरकारी नीति नियम, सुरक्षा र देशबाटै बिरानो बनाएको अनुभवले केहि गरौं भन्दा निकै सोच बिचार गर्नु पर्ने अवस्था हुन्छ। हामी जस्तैले गरेको सानो तिनो लगानीहरु सरकारले आव्हान गरे जस्तो ब्यवहारमा सजिलो र सहज नभएको तितो अनुभवहरु धेरैले बटुलेका छौं।
यस्तै स्थितीलाई मनन गर्दै हामी एनआरएन अगुवाहरुले दोहेरो नागरिकता, एक पल्टको नेपाली सदाको नेपाली र हामीसंग भएको नागरिकतालाई निरन्तरता देउ भन्ने माग र दबाब दिदै आएका पनि हौं । नेपाली राजनीति र सरकारी जागीर गर्न नपाउने प्रावधानकासाथ एनआरएन नागरिकता दिने निर्णय गरेपछि छिट फुटले यो नागरिकता लिन थालेका पनि छन्।
“नहुनु भन्दा कानो मामा राम्रो” भने जस्तै मैले पनि भावनात्मक रुपले देशसंग जोड्ने एउटा मात्र माध्यमलाई उपयोग गर्ने निर्णय गरें । नागरिकताले दिएको दायरामा बसि उमेर र शरिरले दिएसम्म गाँउघरको सहयोगमा निरन्तर लागी रहनेछु। एक बफादार कर्मठ नागरिकको हैसियत र देशप्रतिको उत्तरदायित्वलाई सिरमा राखी फेरि नेपाली हुन पाउदा देशलाई नमन छ। खुशी पनि महसुस भइरहेको छ।
सरकारले पनि बुझोस कि हामी बाहिरिएकाहरु नेपाल मनभरि बोक्ने सच्चा नेपाली हौं र हामीले अति बिकसित देशबाट शिक्षा हाँसिल गरेका छौं, बलबुताले दुइचार दाम जोडेका छौं र धेरथोर राम्रा शीप र अनुभवहरु संगालेका छौं। हामी कतिले त ती देशहरुमा रोजगार दिएका छौं । मेरो हकमा पनि मेरो व्यवसायले झण्डै २५ जनालाई रोजगारी दिएका छौं । हामीले नेपाली भनेपछि एउटा मेहनती, इमान्दार र भरपर्दो जाती भनी देशहरुलाई चिनाएका छौं । नेपालको शिर उठाउनु सहयोग गरेका छौं । 

देशले नोक्सान हैन साझेदार पाउछ
राज्यले पनि उदारता देखाउदै हाम्रो नागरिकतालाई निरन्तरता दिदा देशलाई कुनै नोक्सान नहोला । तीन चौथाइ एनआरएनहरु नेपाली पासपोर्टनै बोक्छन । जुन देशहरुमा नागरिकता पाउदैनन् । जस्तो उपेन्द्र महतो, जिवा लामीछाने जीहरु र समस्त मध्यपुर्व र जपान चाइना लगायतका देशहरुमा नेपाली पासपोर्ट नै प्रयोग गर्नु हुन्छ। यो ठुलो जत्थालाई नागरिकताको आवश्यक्ता नै पर्दैन। त्यसैले नाागरिकता निरन्तरता दिनु पर्ने ठुलो संख्यामा छैन । हामी सक्षम र देशलाई माया गर्ने नेपाली नागरिकहरुलाई भइरहेको नागरिकतालाई निरन्तर गरिदिदा हामी र देश दुवैको लागि जीत हुने र स्वत देशको बिकास अभियानमा थप शक्ति पैदा हुनेछ । 
अमेरिका, क्यानडा, अस्ट्रेलिया, र योरोप जुन देशहरुमा नागरिकता बनाउन सकिन्छ । यस जत्थालाई मात्र नेपाली नागरिकताको निरन्तरता चाहिएको हो। यी बाहेकका देशमा बस्ने नेपालीहरु नेपाली पासपोर्ट र नेपाली नागरिकता नै प्रयोग गर्दछन् । सार्क देशहरु बाहेकका देशमा कुनै ब्यक्ति २०० दिन बसेमा गैर आवासीय नेपाली कहलिने एउटा अस्पष्ट परिभाषा भित्र सबैलाई मुछाइएको हो तर बिदेशी नागरिकता पाउने देश त युरोप, अमेरिका, अष्ट्रेलिया र क्यानडा मात्र हुन्। यो तुनात्मक रुपमा ठुलो संख्यामा पनि छैन र भयभित हुनु पर्ने केहि छैन।


देशका नेताहरु हरेकपल्ट हामी बसेको शहरहरुमा आउछन् । तपाइहरु सबै देश आउनुस्, अवस्थाहरु बद्लिएको छ, हामी ब्यपार ब्यवसाय गर्न सहज बनाइ सहयोग गर्ने छौं भन्छन् तर आएर केहि गर्न शुरु गर्यो भने स्थानीय वडाबाटै समस्या झेल्नुपर्ने हुन्छ । एन आर एन नागरिकता भन्दा एन आर एन कार्डको खोजि बढि हुन्छ । आइडि कार्ड भन्दा देशको नागरिकता कमजोर हुनु हास्यास्पद र दुखदायी हैन र? 

हामी नेपाललाई आफ्नै देश मानी माया गर्ने नेपाली नै हौ। कुनै करतुत गरि निकालिएका नेपाली होइनौं, हामीले कुनै गैरकानुनी काम गरका छैनौं । हामीसंग कुनै स्वतन्त्र देशको नागरिकता छ, नेपाल भन्दा बिकसित देशहरुमा काम गरेको अनुभव छ, त्यहाँ पढेको शिक्षा छ र हामीसंग लगभग नेपालको उच्चस्तरको आर्थिक अवस्थाको औकात र क्षमता छ । प्रत्यक परिवारले कम्तिमा ३ देखि ५ जनालाई घरायसी या ब्यवसायिक रोजगार दिने क्षमता राख्दछौं। समष्टिमा हामी एक बफादार नेपाली नागरिक हौं र त्यसमा हामी गौरव गर्छौं । हामीमा उच्चमध्यम वर्गभन्दा माथिको क्षमता र सामथ्र्य छ।
एनआरएन परिवारहरू रोजगारी सिर्जना गर्ने, लगानी गर्ने र देशको समग्र विकासमा सहकार्य गर्न सक्ने हैसियतमा छन्। नेपालप्रतिको हाम्रो सम्बन्ध भावनामा मात्र सीमित छैन, यो जिम्मेवारी, योगदान र भविष्यसँग गाँसिएको छ। यसर्थ, हामी आफूलाई बफादार नेपालीको रूपमा गर्वका साथ चिनाउँदछौं।

प्रतिक्रिया