न्यू योर्क। अमेरिकामा अनधिकृत आप्रवासी बढ्दा अपराध बढ्ने दाबीलाई नयाँ बृहत् अध्ययनले अस्वीकार गरेको छ। करिब ४ करोड ६० लाख बासिन्दा रहेका अमेरिकाका ११ हजार ५ सय नेबरहुड (टोल/छिमेक) को तथ्यांक विश्लेषण गर्दा अनधिकृत आप्रवासन बढ्नु र हिंसात्मक अपराध बढ्नुबीच उल्लेख्य सम्बन्ध नभेटिएको हो।
डोनाल्ड ट्रम्प र उनको प्रशासनले अनधिकृत आप्रवासनलाई अपराध तथा सार्वजनिक सुरक्षासँग बारम्बार जोड्दै आएको छ। यो विषय राजनितिक रुपमा समेत विवादित छ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, इरभाइन (यूसी इरभाइन) का अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको अध्ययन अगस्ट १० मा जर्नल अफ अर्बन अफेयर्समा प्रकाशित भएको हो। अध्ययनले सन् २०१० देखि २०१८ सम्मको अनधिकृत आप्रवासी जनसंख्या र अपराधसम्बन्धी तथ्यांक विश्लेषण गरेको छ।
अध्ययनअनुसार अनधिकृत आप्रवासीको जनसंख्या हिस्सा बढेका नेबरहुडमा "प्रोपर्टी क्राइम"मा अझ बढी कमी आएको देखिएको छ। समग्र भायोलेन्ट क्राइम (हिंसात्मक अपराध) मा उल्लेख्य परिवर्तन देखिएन। एग्राभेटेड असल्ट (गम्भीर हिंसात्मक अपराध) मा भने कमी आएको अनुसन्धानकर्ताले बताएका छन्।
रबरी (डकैती) मा भने फरक नतिजा देखिएको छ। अनधिकृत आप्रवासीको जनसंख्या हिस्सा बढेका क्षेत्रमा रबरी बढेको पाइयो। तर अनुसन्धानकर्ताले यसलाई अनधिकृत आप्रवासीका बढेका कारण अपराध बढेको प्रमाणका रूपमा व्याख्या गरेका छैनन्।
अनुसन्धानकर्ताले अनधिकृत आप्रवासीहरू बैंकिङ सेवामा कम पहुँचका कारण बढी नगद बोक्ने र इमिग्रेशन समस्याक डरले अपराध रिपोर्ट गर्न हिचकिचाउने अवस्थाका कारण उनीहरू स्वयं रबरी (लुटपाट/डकैती) को निशाना बन्न सक्ने सम्भावना औंल्याएका छन्। तर अध्ययनले पीडितको "इमिग्रेशन स्टाटस"पहिचान नभएकाले यसको कारण किटान गरेको छैन।
अध्ययनकी प्रमुख अनुसन्धानकर्ता च्यारिस ई. कुब्रिनका अनुसार नतिजाले अनधिकृत आप्रवासनले अमेरिकी समुदायमा अपराध बढाउँछ भन्ने धारणालाई समर्थन गर्दैन।
अध्ययनमा प्रयोग गरिएको तथ्यांक सन् २०१० देखि २०१८ सम्मको भएकाले त्यसपछिको आप्रवासन वा अपराधको अवस्थाबारे यसबाट सीधै निष्कर्ष निकाल्न भने मिल्दैन।




प्रतिक्रिया