२७ कात्तिक २०८३, बिहिबार
Thu, Nov 12, 2026
SUBSCRIPTION

न्यूयोर्कको ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई बालकसहीत आठ जनाको मृत्यु

बुधबार अपरान्ह भएको उक्त दुर्घटनामा भवनको अधिकांश भाग छेउमा निर्माण भइरहेको अर्को भवनको निर्माणस्थलतर्फ खसेको न्युयोर्क सिटीका मेयर जोहरान माम्दानीले बताएका छन्।
न्यूयोर्कको ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई बालकसहीत आठ जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरस्थित ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा तीनतले भवन भत्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्  । बुधबार अपरान्ह भएको उक्त दुर्घटनामा भवनको अधिकांश भाग छेउमा निर्माण भइरहेको अर्को भवनको निर्माणस्थलतर्फ खसेको न्युयोर्क सिटीका मेयर जोहरान माम्दानीले बताएका छन्।
घटनापछि उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी कार्य बिहीबार बिहानसम्म जारी राखेका थिए। विहीबार भारी वर्षाकावीच पनि उद्धारकार्य भएको अग्निनियन्त्रक, प्रहरी तथा अन्य उद्धारकर्मीहरूले बताएका छन् । घटनाको जानकारी दिन विहीबार आयोजित पत्रकार सम्मेलनमा मेयर माम्दानीले बुधबार दिउँसो ४ बजेर १ मिनेटमा १३२१ फ्ल्याटबुस एभिन्युस्थित भवन भत्किएर दुखद घटना भएको बताए । उद्धारका लागि विशेष तालिमप्राप्त कुकुर, ड्रोन, हेलिकप्टर, दमकल तथा उत्खनन गर्ने मेसिन परिचालन गरिएको उनले बताए ।
अधिकारीहरूले मृतक तथा घाइतेहरूको सम्पूर्ण परिचय सार्वजनिक गरिसकेका छैनन्। तर बिहीबार मेयर माम्दानीले मृत्यु हुनेमा दुई बालबालिका पनि रहेको जानकारी दिएका छन्। घाइते १८ जनामध्ये चार जना अग्निनियन्त्रक रहेको मेयर माम्दानीले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

स्थानीय जनप्रतिनिधि रोड्नीसे बिचोटे हर्मेलिनका अनुसार फ्ल्याटबुस क्षेत्रमा आप्रवासी समुदायको उल्लेख्य बसोबास छ। दुर्घटनामा निर्माण मजदुर तथा अपार्टमेन्टमा बसोबास गर्ने व्यक्तिहरू दुवै प्रभावित भएका छन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार उद्धारकर्मीहरूले भग्नावशेषबाट एक सानो बालक र गर्भवती महिलाको उद्धार गरेका छन् । 
दुर्घटनामा ज्यान गुमाउनेमध्ये २६ वर्षीय निर्माण मजदुर एड्गर सान्टियागो सापोन गुटिएरेजको परिचय खुलेको छ। उनका आफन्तहरूले रातभर उनको खोजी गरेका थिए। आफन्त मारिसेला भास्केजका अनुसार उनीहरूले सुरुमा शवगृहमा खोज्दा पनि गुटिएरेजलाई भेट्न सकेका थिएनन्। पछि घटनास्थलमा फर्कँदा उद्धारकर्मीहरूले भग्नावशेषबाट शव निकालिरहेको देखेका थिए। अन्ततः अधिकारीहरूले बिहीबार दिउँसो गुटिएरेजको मृत्यु भएको पुष्टि गरेका हुन्।
दुर्घटनाबाट प्रभावित परिवार तथा विस्थापित बासिन्दाका लागि न्युयोर्क सहरको आपत्कालीन व्यवस्थापन निकाय र अमेरिकन रेडक्रसले सहायता केन्द्र स्थापना गरेका छन्। सहायता केन्द्र फ्ल्याटबुसस्थित वाईएमसीए भवन, १४०१ फ्ल्याटबुस एभिन्युमा सञ्चालन गरिएको छ।

दुर्घटनाबाट प्रभावित भएको आशंका गरिएका आफन्त वा परिचित व्यक्तिसँग सम्पर्क हुन नसकेमा न्युयोर्क सहरभित्रबाट ३११ मा फोन गर्न अधिकारीहरूले आग्रह गरेका छन्। सहरबाहिरबाट फोन गर्नुपर्ने व्यक्तिका लागि २१२–६३९–९६७५ नम्बर उपलब्ध गराइएको छ।
मेयर माम्दानीले घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, घाइते तथा शोकमा रहेका सबैप्रति समवेदना प्रकट गरेका छन्। घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। भवन भत्किँदा छेउको अर्को भवनको पर्खालसमेत क्षतिग्रस्त भएको छ। जसका कारण त्यहाँको सिँढी, शयनकक्ष र कपडा राख्ने कोठासमेत बाहिरबाट देखिने क्षति पुगेको बताइएको छ । 

भवन भत्किनुको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलसँगै जोडिएको बेडफोर्ड एभिन्युस्थित निर्माणस्थलमा उत्खनन तथा जग निर्माणको काम भइरहेको थियो। उक्त स्थानमा तीनतले भवन निर्माणका लागि सहरबाट अनुमति दिइएको थियो। न्युयोर्क सहरको भवन विभागका अनुसार दुर्घटनाग्रस्त भवन सन् १९३० मा निर्माण भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
भवन विभागमा मार्च महिनामा दर्ता गरिएको निरीक्षण प्रतिवेदनमा दुर्घटनाग्रस्त भवनको उत्तरी भागको बाहिरी पर्खाल कमजोर अवस्थामा रहेको र त्यसमा स्पष्ट चिरा परेको उल्लेख गरिएको थियो। निर्माणस्थलमा जग निर्माणको काम निरीक्षण गर्न विशेष निरीक्षक नियुक्त गरिएको अभिलेखमा देखिए पनि उनको इजाजतपत्रको म्याद जुलाईमा समाप्त भएको विवरण सहरको पुरानो अभिलेख प्रणालीमा भेटिएको थियो। यद्यपि, भवन विभागले बिहीबार उक्त निरीक्षकको इजाजतपत्र सक्रिय रहेको र पुरानो पोर्टलमा देखिएको विवरणका कारण भ्रम उत्पन्न भएको स्पष्ट पारेको न्यूयोर्क टाइम्सको समाचारमा उल्लेख छ । 

घटनाको कारण पत्ता लगाउन भवन विभाग र प्रहरी अधिकारीहरूले अनुसन्धान गर्ने मेयर माम्दानीले बताएका छन्। निर्माणस्थलमा तत्काल पूर्ण रूपमा काम रोक्ने आदेशसमेत जारी गरिएको छ।

प्रतिक्रिया