२६ कात्तिक २०८३, बुधबार
Wed, Nov 11, 2026
SUBSCRIPTION

ब्रुकलिनको सनसेट पार्कमा भीषण आगलागी, ६ जनाको मृत्यु, सात जना घाइते

स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब १ बजेर ४० मिनेट तिर ५८औँ स्ट्रिटस्थित एउटा आवासीय घरमा आगलागी भएको थियो। आगो घरको दोस्रो तलाबाट सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ।
ब्रुकलिनको सनसेट पार्कमा भीषण आगलागी, ६ जनाको मृत्यु, सात जना घाइते

न्यूयोर्क । न्यूयोर्क सहरअन्तर्गत ब्रुकलिनको सनसेट पार्क क्षेत्रमा आज बिहान भएको भीषण आगलागीमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब १ बजेर ४० मिनेट तिर ५८औँ स्ट्रिटस्थित एउटा आवासीय घरमा आगलागी भएको थियो। आगो घरको दोस्रो तलाबाट सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ। दुई तले भवनमा लागेको आगो फैलिँदै छिमेकी घरसम्म पुगेको अधिकारीहरूले बताएका छन्।

आगलागीमा चार जना वयस्कको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। उनीहरूको पहिचान मेडिकल एक्जामिनरको कार्यालयमार्फत गरिनेछ। त्यस्तै, ५० वर्ष आसपासका एक पुरुष र एक महिलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

आगलागीमा परी चार जना स्थानीय बासिन्दा र तीन जना अग्निनियन्त्रक घाइते भएका छन्। उनीहरूको अवस्था ज्यान जोखिममा नरहेको बताइएको छ।

घाइतेमध्ये एक पुरुषको खुट्टामा आगोले पोलेपछि स्टेटन आइल्यान्ड युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ भने धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएकी एक महिलालाई माइमोनिडिज अस्पताल लगिएको थियो।

न्यूयोर्क सिटी अग्नि विभागका अधिकारीहरूका अनुसार ती दुई जनालाई अग्निनियन्त्रकहरूले उद्धार गरेका थिए। समयमै उद्धार नगरिएको भए उनीहरूको ज्यानसमेत जान सक्ने अवस्था रहेको अधिकारीहरूले बताएका छन्।

घटनाप्रति दुःख व्यक्त गर्दै न्यूयोर्क सिटीका मेयर जोहरान मम्दानीले यसलाई अत्यन्तै पीडादायी आगलागीको घटना बताएका छन्। उनले भने, “यो अत्यन्तै विनाशकारी आगलागी हो। यस क्षेत्रका बासिन्दालाई परेको ठूलो दुःख र शोकबाट समुदायलाई सामान्य अवस्थामा फर्किन लामो समय लाग्नेछ।”

बिहीबार बिहान आगो नियन्त्रणमा लिएपछि पनि अग्निनियन्त्रकहरू घटनास्थलमै खटिएका थिए।

आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरूले घरमाथि पानी प्रहार गरिरहेका थिए। भवनबाट बाक्लो धुवाँ निस्किरहेको थियो भने आगो निभाउन र भित्ता तथा बाहिरी आवरणभित्र लुकेको आगो खोज्न दमकलका भर्‍याङसमेत प्रयोग गरिएको थियो।

आगलागीका कारण घरको अगाडिको भाग पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। भवनको बाहिरी संरचनामा समेत ठूलो क्षति पुगेको छ।

सडकका घरहरू एकअर्कासँग जोडिएका र काठबाट बनेका कारण आगो पूरै घरको पङ्क्तिमा फैलिन सक्ने जोखिम रहेको अग्नि विभागका अधिकारीहरूले बताएका छन्।

घटनास्थलमा दुईवटा लिथियम–आयन ब्याट्री पनि फेला परेका छन्। ती ब्याट्रीको आगलागीमा कुनै भूमिका थियो वा थिएन भन्नेबारे अनुसन्धान भइरहेको छ। आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।

आगलागीका कारण आठ परिलार घरबारविहीन भएका छन्। उनीहरूका लागि अमेरिकन रेडक्रसले होटलमा अस्थायी आवासको व्यवस्था गर्न सहयोग गरिरहेको छ।

प्रतिक्रिया