१५ असोज २०८३, बिहिबार
Thu, Oct 1, 2026
SUBSCRIPTION

अझै लागिरहेछ कि आमालाई भिडियो कल गरुँला र सोधुँला ‘आमा! हाराङ्बा मुला दात्ते?’

अरुबेला आमा खुब उत्साहकासाथ भन्नु हुन्थ्यो ’म ठीक छु, तिमीलाई चैँ कस्तो छ?’ तर यो पटक भने आमा निकै गलेको देखेँ। आमाको जवाफमा घोर निराशा र दिक्दारी थियो। यस भन्दा अघि यस्तो बिघ्न दिक्दारी आमाबाट सुनेको थिइन। आमाको अन्तिम वाक्यले मन बरफ झैँ चिसो भयो।
अझै लागिरहेछ कि आमालाई भिडियो कल गरुँला र सोधुँला ‘आमा! हाराङ्बा मुला दात्ते?’

आमाको देहान्त भएको दुई वर्ष पुगेछ। तर आमाको सम्झनाको तीब्रता भने अझै उस्तै नै छ। आमा बित्नु झन्डै तीन महिनाअघि भिडियो कलमा आमासँग कुरा भएको थियो। आमाको स्वास्थ्य जटिल बन्दै गैरहेको खबर थियो। आमा नाकमा अक्सिजन नसल क्यनुलासहित भिडियोमा देखिनु भयो। अरु बेला आमा प्रायः अक्सिजन क्यनुला बिना नै बोल्नु हुन्थ्यो। त्यसअघि केही घण्टा अक्सिजन लिएपछि अक्सिजनको लेभल सन्तुलनमा आउने गथ्र्यो र अक्सिजन नसल क्यनुला नलगाए पनि हुन्थ्यो तर केही समयदेिख अक्सिजन छुटाउन नमिल्ने अवस्थामा पुग्नुभएको रहेछ।     

‘आमा! हाराङबा मुला आमदा दात्ते? (अहिले कस्तो हुनुहुन्छ)’ मैले सँधै झैँ सोधेँ। ‘हाराङ्बा मुसे? बित्थारीन् छावा हाचिबामुला। तिगाइ चाइ आमान्बा। ङामी सिलाताला चुपाल्से। (कस्तो हुनु? बित्थामै ज्वरो आइरहन्छ। केही खान मन लाग्दैन। यसपाली म मर्छु होला।’)

अरुबेला आमा खुब उत्साहकासाथ भन्नु हुन्थ्यो ’म ठीक छु, तिमीलाई चैँ कस्तो छ?’ तर यो पटक भने आमा निकै गलेको देखेँ। आमाको जवाफमा घोर निराशा र दिक्दारी थियो। यस भन्दा अघि यस्तो बिघ्न दिक्दारी आमाबाट सुनेको थिइन। आमाको अन्तिम वाक्यले मन बरफ झैँ चिसो भयो। औषधि बाहेक आमाको जीवनको ताकत भनेकै जीवनप्रतिको आशा र उच्च आत्मबल नै त थियो। जुन बिस्तारै क्षीण हुँदै गएको महसुस भयो। 

 आमालाई ढाडस दिने प्रयत्न गरें। यद्यपि त्यो ढाडस आमालाई थोरै र धेरै चाहिँ स्वयंलाई हो भन्ने लाग्दैथियो। गएको दुई वर्षदेखिको आमाको स्वास्थ्य अवस्थाको जटिलतालाई हेर्दा यो सान्त्वना एउटा औपचारिकता मात्र हुनसक्छ भन्ने सत्यबोधले मनलाई भित्र भित्रै दुख्दै थिएँ।

‘आमालाई केही हुन्न है। त्यस्तो केही नसोच्नुस। औषधि समयमा खानुस अनि खाना मज्जाले खानुस। ठीक भइहाल्छ।‘ आमालाई ढाडस दिने प्रयत्न गरें। यद्यपि त्यो ढाडस आमालाई थोरै र धेरै चाहिँ स्वयंलाई हो भन्ने लाग्दैथियो। गएको दुई वर्षदेखिको आमाको स्वास्थ्य अवस्थाको जटिलतालाई हेर्दा यो सान्त्वना एउटा औपचारिकता मात्र हुनसक्छ भन्ने सत्यबोधले मनलाई भित्र भित्रै दुख्दै थिएँ। परिवार र आफन्तजनको पुकार र आमाको उपचारमा संलग्न डाक्टरको भगिरथ प्रयासको बाबजुद आमाले २०८१ को असोज ११ गते भौतिक दुनियाँलाई त्याग्नु भयो।  आमा जीवनभर अनेक बिमारीहरूसँग लड्दै आउनुभयो । अझ आमाको जीवनको उत्तराद्र्ध स्वास्थ्यको हिसाबले निकै कष्टकर रह्यो। एकपछि अर्को रोगहरू थपिँदै गए। 

शिशुकालमा दादुराले गुमेको एक आँखा र बृद्धकालमा मोतियाविन्दु
बाल्यकालमै दादुराले एउटा आँखा लगेपछि एउटा मात्र आँखाले संसार चिहाउँदै आउनुभो। म्हेमे र मामको पहिलो सन्तान आमा पाँच छ महिनाको हुँदा नहुँदै एक्लै मामको जिम्मेवारीमा छाडेर म्हेमे कामको खोजीमा कलकत्तातिर जानु भयो रे। त्यही बेला गाउँभरी दादुरा वा बिफरको महामारी फैलियो। पाँच छ महिनाको दुधे नानी आमा महामारीको सङ्क्रमणमा पर्नु भयो। उहाँको दाहिने आँखामा समस्या आयो। एक्लो माम अत्तालिनु भयो। त्यस बखत उपचारको लागि धामी झाँक्रीको झारफुक र जडिबुटी बाहेक अन्य उपाय कल्पना बाहिरको कुरा थियो। मामले आमालाई कुनै झाँक्रीलाई देखाउनु भयो। झाँक्रीले आमाको आँखामा बाघको दुध हालेमा ठीक हुन्छ भन्यो। बाघको दुध भनेर केही सेतो तरल पदार्थ आमाको आँखामा राखिदियो। मामले भन्नु भए अनुसार पीडाले छटपटिदै रुनु भयो। अत्यधिक रुवाइले बेहोस हुनुभो। आमा निको हुने विश्वासमा निरीह र लाचार माम किंकर्तव्यविमूढ हेरिरहनु भयो। मामले आमाको आँखाबाट आँसुको भेल बगेको देख्नु भयो। आँसुको त्यस भेलसँगै सुन्दर संसार चिहाउने आमाको एक थान कलिलो आँखाको अस्तित्व सदाको लागि नामेट भैसकेको थियो। मामले त्यो पछि मात्र थाहा पाउनु भयो सायद। 

ती कोमल ह्रिदयी डाक्टरको गुनिला हातबाट सफलतापुर्बक आमाको आँखाबाट मोतियाबिन्दुको जालो हटाउने काम सम्पन्न भयो। अन्ततः आमाको आँखाको ज्योति फेरी पहिलेकै अबस्थामा फर्कियो। 

‘मुर्दारले बाघको दुध भनेर के हालिदियो के? मेरो छोरीको आँखा फुटाइदियो नि!’  केही पछुतो, केही आक्रोश अनि केही निरीहता मिश्रित भावमा बेलाबखत माम सुनाउनु हुन्थ्यो।  उमेरसँगै आमाको दृष्टि धमिलो हुँदै गयो । ७२ सालको महाभूकम्प पछिको समय हो। त्रिपुरेश्वर आँखा अस्पतालमा देखाउन लग्यौँ। मोतियाविन्दुको जालोले आमाको आँखा ढाक्दै गएको देखियो। आँखा मानव शरीरको अत्यन्त सम्वेदनशील अङ्ग । त्यसमाथि आमाको त झन एउटै मात्र आँखा । समयमा मोतियाविन्दुको जालोलाई खुर्केर नफाले आमाले सदाको लागि ज्योति गुमाउनु पर्ने हुनसक्थ्यो। यो झनै ठुलो सम्वेदनशील परिस्थिति थियो। यो युगमा मोतियाविन्दुको अपरेसन उति जटिल कुरा नमानिन सक्छ तर आमाको कुरा भने अपवाद ठहरियो। 
आमाको आँखा जाँच्ने एक महिला नेत्र विशेषज्ञ थिइन। मैले नाम बिर्सेको नेवार थरकी ती अत्यन्त भद्र र मृदुभाषी । आमाको एउटा मात्र आँखा हुनुको जटिलता र शल्यकृया गर्दा पालना गर्नु पर्ने आफ्नै पेशागत सीमाको बारेमा डाक्टरले बिस्तारमा सम्झाइन। समयमा शल्यकृया नगर्दा आमाको आँखाको ज्योति गुम्ने निश्चितप्रायः थियो । तर एउटा मात्र सद्दे आँखा भएको ब्यक्तिको आँखाको शल्यकृया गर्नु चिकित्सकीय प्रोटोकल बाधक हुने भएकोले अवस्था अलिक जटिल देखियो। परिवारको कुनै सदस्यले सहमतिपत्रमा सहि गरेमा भने शल्यकृया गर्न सकिने मध्यमार्गी उपाय उनले सुझाइन। मैले तुरुन्तै सहमतिपत्रमा सहि गरेर शल्यकृयाको मिति लिए र ती कोमल ह्रिदयी डाक्टरको गुनिला हातबाट सफलतापुर्बक आमाको आँखाबाट मोतियाबिन्दुको जालो हटाउने काम सम्पन्न भयो। अन्ततः आमाको आँखाको ज्योति फेरी पहिलेकै अबस्थामा फर्कियो। जीवनको अन्तिम घडीसम्म आमाले संसार नियाल्न पाउनु भयो। 

आमा र छारेरोग 
म पाँच छ वर्षको थिएँ हुँला। मलाई धमिलो सम्झना छ, त्यस साँझ बा घरमा हुनुहुन्नथ्यो। बेलुकाको खानापछि घरमा भएका हामी सबै अगेनाको छेउछाउ बसेर आगो ताप्दै थियौं। आमा कतिबेला बुइगल जानु भएको थियो मलाई थाहा भएन तर अचानक केही चिज भुइँमा बजारिएको जस्तो ठुलो आवाज आयो। के भएको हो केही भेउ पाउन सकिन, तर हामीमध्ये सबै भन्दा ठूलो दाजु ‘आमा...’ गर्दै चर्को चिच्याहट सहित आवाज आएतिर दौडे। माइला दाजु, दिदी र म पनि दाजु दौडेतिर दौड्यौं। निसपट्ट अँध्यारोमा आमा भुईँमा लडिरहेको देखेपछि बल्ल मेसो पाएँ कि अघि सुनेको आवाज आमा बुइगलबाट लडेर भुईँमा बजारिएको आवाज थिएछ। 
आमा अरठ्ठिएर अचेत र अचल अवस्थामा लम्पसार थिइन र आमाको मुखबाट सेतो फिँज पनि बगिरहेको थियो। आमाको शरीर पूर्ण रूपमा स्थिर थियो। दृश्य भयंकर डर लाग्दो थियो। आमालाई भएको के हो केही बुझ्न सकेका थिएनौं हामीले। डर र अनिश्चयले हाम्रो आवाज घाँटीमा दबिएको थियो। ठुलो दाजुले आमालाई उठाउन खोजे पनि आमाको शरीर कक्रक्क परेको थिया,े मानौं त्यो आमाको शरीर नभई कुनै गह्रौं काठको मुढा हो। त्रास र अनिश्चयले गलित हामी निरुपाय र निशब्द भएर आमाको छेउ एक पोको भएर बस्यौं। केही समय पछि आमाको स्थिर शरीर चलमलाउन थाले झैँ देखियो। करिब आधा घण्टा जस्तोपछि आमाको होस फिर्यो। आमाको होस फिरेपछि बल्ल राहतको महसुस गर्यौ। त्यस दिनदेखि आमालाई छारेरोग भन्ने रोग लागेको रे भन्ने बुझें। 

त्यसपछिका दिनहरूमा आमा कहिले ढिकी जाँतो गर्दैगर्दा, कहिले खेतबारीमा कुटो कोदालो गर्दै गर्दा, घर धन्दा, घाँस दाउरा, मेलापात गर्दै गर्दा पटक पटक त्यसरी नै बेहोस हुने र होसमा आउने क्रम चलिरह्यो। भनुँ आमाको निमित्त यो एउटा नियमित आकस्मिकता नै हुनपुग्यो। 

त्यस बेला सुने अनुसार छारेरोग लागेको बेला बिरामीले आगो वा पानी छोयो भने कहिल्यै निको पार्न सकिदैन। छारेरोग लागेको बेला बिरामी बेहोस भएर ढल्ने भएकोले आगो, पानी र भीर पहरा जस्ता असुरक्षित ठाउँहरूबाट जोगिनु र जोगाउनु जरुरी हुन्छ तर आगो र पानी छुनै नहुने कुरा चाहिँ फगत अन्धविश्वास मात्र हुनुपर्छ जस्तो लाग्छ। छारेरोग जुन सुकै बेला लाग्न सक्ने हुनाले भीरपाखा, खोला वा आगो छेउ आमा एक्लै जान वा बस्न अत्यन्त जोखिमपुर्ण हुनसक्थ्यो तर आमाको त्यो जोखिमता बारे हामीले ध्यान दिन नसकेकोमा अहिले ग्लानिबोध हुन्छ। जुन सुकै अप्रिय दुर्घटना होस त्यसलाई फगत नियतिको खेल मानेर स्वीकार्नु उसबेला सामान्य झैं थियो सायद । अहिले फर्केर हेर्दा त्यो आमाप्रतिको भयंकर गैरजिम्मेवारीपन र लापरवाह थियो भन्ने महसुस हुन्छ।  

भीरबाट लडेर भाँचिएको करङ
एकफेर आमा घाँस काट्न जङ्गल जानु भएछ। त्यो म सदरमुकाममा बसेर आइए पढ्दा ताकाको कुरा थियो। भीरमा घाँस काट्दै गर्दा अचानक छारेरोगले समात्यो आमालाई। आमा भीरबाट खुरमुरिदै ठुलो आवाज सहित खोल्सामा बजारिनु भयो। सौभाग्यवस त्यो आवाज पल्लो पाखोमा घाँस काट्दै गरेको गाउँले छ्यामाले सुनिन् र दौडेर आमा लडेको ठाउँ पुग्नु भयो। जताततै चोटै चोट रक्तमुछेल आमाको शरीरलाई उठाएर उद्धार गरेर घरसम्म पुर्याइदिनुभएछ। पछि थाहा भए अनुसार आमाको दुई ओटा करङ पनि भाँच्चिएको रहेछ। त्यस्तो गम्भीर दुर्घटनामा पर्दा पनि हेल्थपोस्टको सामान्य उपचार बाहेक आमालाई अस्पताल टेक्ने सौभाग्य जुरेन। बाँकी जम्मा जम्मी घरेलु औषधि र आमाको आत्मबलको भरमा आमा बिस्तारै तङ्ग्रिनु भयो। 

उच्च रक्तचाप र बाथरोग
उमेरमा आमा बिँडीको अम्मली हुनुहुन्थ्यो। सुर्ती बिँडीको अम्मली हुनुको पछाडि केही स्पष्ट कारणहरू थिए। उ बेला धुम्रपान आफ्नो शरीर र स्वास्थ्यको लागि कति खतरनाक कुरा हो भन्ने ज्ञान आमा र आमा जस्ता सुर्ती बिँडीका अम्मलीहरूलाई थिएन। अर्को चाहिँ बिँडी, चुरोट जस्ता स्वास्थ्यको लागि अत्यन्त हानिकारक वस्तुहरू घाँस, दाउरा, मेलापात, पाहुनापात, साथीसंगीसँगको भेटघाट, बिहेबर्तन या अन्य सामाजिक जमघटहरू र जात्रामात्रामा बिँडी चुरोट अपरिहार्य जस्तै हुनेगर्दथ्यो। आमा पनि त्यही अम्मलको लपेटामा पर्नु भयो। त्यसको असर उमेर ढल्दै गएपछि देखा पर्यो। एक समय आमालाई उच्च रक्तचापले बेस्सरी चाप्यो। उच्च रक्तचापको औषधि खान थाल्नु भएपछि भने आमाले बिँडी पिउन बन्द गर्नु भएको थियो। 
उच्च रक्तचापको औषधि लिएको केहीवर्ष पछि आमालाई जोर्नीहरू र जिउ दुख्ने समस्या देखा पर्यो। समस्या बढ्दै गएपछि अनेक खालका आयुर्वेदिक औषधिहरू खान थाल्नु भयो। त्यसैपनि हाम्रोमा अनेक अनुमान र सित्तैमा प्राप्त हुने सुझावकर्ता र सुझावको कमी हुँदैन। कसैले यो बाथरोग हो भने। फलानो आयुर्वेदिक औषधिले चट्टै हुन्छ भने। बाथरोगीले यो खानु हुन्छ यो खानु हुन्न भने। कसैले ओहो यो त युरिक एसिड हो। खान्की बार्नु पर्छ भने। तिनै सल्लाह र सुझावहरू मान्दै जाँदा आमाको समस्या झन बढ्दै गयो। 

 औषधि र पोषणयुक्त खानपान सुरु गरेपछि आमामा चमत्कारिक ढङ्गबाट सुधार आयो। बोकेर शौचालय लानु पर्ने अवस्थाबाट आमा एक महिनाभित्र आफै हिँडडुल गर्न सक्ने हुनुभो। हो यो कुनै चमत्कार भन्दा कम थिएन। 

जति समस्या बढ्दै गयो आमाले खानु मिल्ने खान्कीको फेहरिस्त शुन्यमा झर्यो। अन्ततः आमा थला पर्नु भो। आमाको शरीर हाड र छालामा सीमित भयो। आमाको अबस्था अत्यन्तै नाजुक भएपछि काठमाडौंमा लगेर बाथरोग विशेषज्ञ डा. विनित वैद्यबाट उपचार सुरू गरियो। अनेक प्रकारका बाथरोग मध्ये आमालाई गठिया बाथ भएको र त्यो अन्तिम चरणमा रहेकोले सबै भन्दा कडा औषधि चलाउनु पर्ने सल्लाह डाक्टर विनितले दिए। साथै अनावश्यक आहार प्रतिबन्धको कारण आमा पूर्णतः कुपोषित भएको र गठिया बाथलाई कुनै पनि खाना बार्नु नपर्ने सुझाव डाक्टरबाट पाइयो। औषधि र पोषणयुक्त खानपान सुरु गरेपछि आमामा चमत्कारिक ढङ्गबाट सुधार आयो। बोकेर शौचालय लानु पर्ने अवस्थाबाट आमा एक महिनाभित्र आफै हिँडडुल गर्न सक्ने हुनुभो। हो यो कुनै चमत्कार भन्दा कम थिएन। भनुँ आमाले एक हिसाबले पुनर्जीवन प्राप्त गर्नु भएको थियो। तर बिहान दिउँसो र बेलुका गरी सात आठ प्रकारको औषधि खानु पर्दा भने आमा दिक्क मान्नु हुन्थ्यो। ‘भात भन्दा धेरै औषधी खाएर कति बाँच्नु हो?’ कहिलेकाहीँ दिक्दारी पोख्नुहुन्थ्यो। 

यसरी झन्डै १५ वर्ष जति नियमित बाथको औषधि खानु भयो। नियमित अन्तरालमा चेक अप र औषधि थपघटको क्रम चलिरह्यो। यसबीचमा आमालाई छाति दुख्ने र श्वासप्रश्वासको समस्या थपियो। जाँचबाट पत्ता लाग्यो कि आमाको फोक्सोको सत्तरी प्रतिशत भागले काम नगर्ने भैसकेको थियो। लामो समयको धुम्रपान र चुलोचौको धुवाँको कारण फोक्सोमा असर गरेको ठहर डाक्टरले गर्यो। सायद त्यसमा वर्षौं सेवन गरेको बाथको कडा औषधिको साइड इफेक्ट पनि थपिएको हुनुपर्छ। आमाको फोक्सो निको पार्न नसकिने र बाँकी भागलाई थप हानी हुन नदिन आमालाई धुवाँ, धुलो र चिसोबाट जोगाउनु बाहेक अरु बिकल्प नभएको निश्कर्ष डाक्टरले सुनायो।     
  
मृत फोक्सो र कोभिडसँग लाप्पा
जतिसुकै प्रयत्न गर्दा पनि आमाको फोक्सो बिस्तारै मर्दै जाने थियो भन्ने चाँही बुझेको थिएँ। आमाको औषधीको लिस्टमा अब बाथ, प्रेसर र मधुमेहसंगै फोक्सोको औषधी पनि थपियो। बाथ र अन्य समस्यासंगै हरेक ६ महिनाको अन्तरालमा फोक्सोको पनि चेक अप चलिरह्यो। हरेक पटक आमाको फोक्सोको जिबित भाग खुम्चिदै खुम्चिदै गएको पाइयो। अन्ततः आमाको फोक्सो पूर्ण रुपमा काम नगर्ने भयो। त्यसपछिको झन्डै ४ वर्षजति आमाले छातीभित्र फोक्सो नामको एउटा निर्जिब र नाकाम बस्तुको भारी बोकेर बाँच्नु भयो। अब अक्सिजन भेन्टिलेटर नै आमाको प्राण वायु आपुर्तीको स्रोत बन्यो। 

यसैबीचमा संसारलाई कोभिड महामारीले लपेट्यो। लाखौंँ मान्छेको ज्यान लियो। को धनी? को गरीब? को स्वस्थ? को रोगी? वृद्ध, बालक, युवा कसलाई पो छोड्यो र महामारीले? कति चिने जानेका र केही त संगै उठबस, खाइखेली गरेका साथीसङ्गी समेतलाई महामारीले हामीबाट खोस्यो। कोभिड लागेर त्यसबाट उम्किनु एउटा साह्रै कठिन चरण त छँदै थियो। भनि रहनै परेन कोभिडको क्वारेन्टाइन कालमा जत्तिको त्रासदी, सकस र अबसाद जीवनमा सायदै भोगिएला। महामारी कालमा सबै भन्दा ज्यादा चिन्ता आमाको नै थियो। परिवारको सबैलाई फोन गरेर भनिरहन्थेँ “कसरी हुन्छ आमालाई बचाउ है।”   
सौभाग्यबस कोभिडको पहिलो लहरबाट आमा जोगिनु भयो। तर दोस्रो भेरीयन्टले आमालाई भेटिछाड्यो। आमालाई कोभिड संक्रमण हुनु एक दम त्रासदपूर्ण किन पनि थियो भने आमाको फोक्सो नै नाकाम भएकोले आमाको श्वासप्रश्वासमा जटिलता पहिल्यै थियो। त्यसमा पनि कोभिड संक्रमण श्वासप्रश्वास प्रणालीमा नै हुने हुनाले सबै अत्यन्त त्रस्त थियौँ। आमालाई अस्पताल भर्ना गरेर उपचार सुरु गरियो। अतिशय भय र त्रास बिपरित आमाको स्वास्थ्यमा क्रमिक सुधार आयो र तीन हप्तापछी पुरै सामान्य अवस्थामा आउनु भयो। त्यस्तो जटिल स्वास्थ्य अवस्थामा पनि आमाले कोभिडलाई जित्नु एउटा अद्भुत चमत्कार नै थियो। आमाले फेरि एक पटक पुनर्जीवन पाउनु भयो।

आमासँग जोडिएका केही सन्दर्भहरू 
आम मानिसले जस्तै आमाको जीवनका पनि दुख र सुखका अनेकन आयाम र अवयवहरू थिए। एउटा छोराको आँखाबाट हेर्दा आमाका दुःखहरूले नै बढि छुँदोरहेछ। आमाका केही नगन्य सुखका पलहरू पनि थिए हुन्। तर एउटा सन्तानको आँखाबाट हेर्दा आमाले भोगेका दुःखका पहाडहरू सामु ती सब पुड्का देखिने रहेछन्। 
आमाको जन्म सहस्राब्दीको सुरुतिर अर्थात बि. सं. २००२ मा सिन्धुली जिल्लामा पर्ने महाभारत पर्वत शृङ्खलाको महादेउटार भन्ने गाउँमा भयो। समयकालको हिसाबले त्यो राणा शासनको अन्तिम अन्तिम समय थियो। त्यो त्यही युग थियो जहाँ राज्य र शासकहरूद्वारा ‘मासिन्या’ करार गरिएका हाम्रा कति म्हेमेहरू चित्लाङको उकालो तिर रगत छाद्दै शासकका ‘मर्सिडिज बेन्ज’ बोक्दैगरेका हुँदाहुन्। हाम्रा कति मामहरूको अस्मिता सुसारेको नाममा शासकहरूको नङ्ग्राले चिथोरिरहेको हुँदोहो।

सिधा उत्तरपट्टि गौरीशंकर हिमाल (त्यो भेगमा गौरीशंकर हिमाललाई सुसरा–बुहारी हुन् भनेर मान्दछन्) अनि म्हेन्दोमाया, स्याब्रु वा धान नाच्न तम्तयार हात समाएर लहरै उभिएका तरुनी तन्नेरी झैँ लाग्ने पुर्वतिर मकालु, फक्ताङलुङ र चोमोलोङमाहरू अनि अलिक पश्चिमतिर लाङटाङ, लप्सङकर्पो(गणेश हिमाल), मनास्लु, अन्नपूर्ण र धौलागिरिहरू! अहो! त्यो अद्भुत र सम्मोहक दृश्य देखिने हो माबार (महाभारत) त्यो अग्लो रमणीय थुम्को! त्यही थुम्को वरपर भुईँकुहिरोसँग लुकामारी खल्दै, घाँस दाउरा मेलापात गर्दै हुर्किनु भयो। घाँस दाउरा मेलापातबाट समय उबारेर दौंतरिहरु सङ्गै सुनकोशी र तामाकोशी दोभानको बेनी मेला भर्दै अनि ढाकरमा सामलतुमल जोहो गरेर चिसापानी गोदारबाट नुनको भारी खेप्दै हुर्किनु भयो। गौरीशंकर हिमालबाट शैलुङको डाँडा सुमसुम्याएर बहेर आउने चिसो हावा खाएर हुर्किनु भएको आमा नियतिले भित्री मधेसको दुनमा हाम्रो बासित घरजम हुन पुग्यो। 

बासँग जोडिएर गर्नु भएको सहयात्राले ६० वटा हिउँद बर्खा काटेछ। आमाको घेवाको अन्तिम दिन आमाको माइतीखलकले बाले बिहेमा बुझाउनु भएको चारदामलाई आठदाम गरेर फिर्ता गर्नु हुँदा बा भक्कानिएर रुनु भयो रे।

आमाको विवाहमा न त धुमधाम डम्फुरेको डम्फु घन्किएको थियो न जन्तीको लावालस्कर नै थियो। आमाको कल्पनामा पनि थियो होला नि कोही आओस ताम्बा र गान्बा अघि लाएर। कच्र्योल पोङ राखेर मागोस र लैजाओस रीतभाँत सब पुर्याएर। तर आमालाई त्यस्तो सौभाग्य जुरेन। कोही आफन्तले कुनै बहानामा बाको घर पुर्याइदियो रे आमालाई। अनि बासँग बिहे गराईदियो रे। बिहेको बाँकी रीतभाँत, चारदाम आदि औपचारिकता पछि पुरा गरियो। आफ्नो बिहेको बारेमा बेलाबखत गुनासो गर्नु हुन्थ्यो आमाले। त्यसरी बासँग जोडिएर गर्नु भएको सहयात्राले ६० वटा हिउँद बर्खा काटेछ। आमाको घेवाको अन्तिम दिन आमाको माइतीखलकले बाले बिहेमा बुझाउनु भएको चारदामलाई आठदाम गरेर फिर्ता गर्नु हुँदा बा भक्कानिएर रुनु भयो रे। बा नरोउन पनि किन? ६० वर्षसम्म जिन्दगीको घुम्ती कुइनेटो, आरोह अवरोहमा बिना कुनै गुनासो अबिराम साथ हिँडेको सहयात्रीले सधैंको निम्ती एक्लो छोडेर जाँदाको असह्य पीडा आलो थियो बाको छातीभित्र। 

आमाको दैनन्दिन
आमाको दिनचर्या भालेको दोस्रो डाँकोदेखि सुरू भएर साँझको भात भान्सा उठेर भाँडा बर्तन थन्कोमान्कोमा पुगेर अन्त्य हुन्थ्यो। जुन साँझको चाँडोमा नौ बजे सकिन्थ्यो। भालेको डाँकोमा उठ्नु, ढिकि जाँतो गर्नु, बिहान चुलो चौको गर्नु, घाँस सोत्तर बटुल्नु, मेला पर्म धाउनु फेरी साँझको चुलो चौको अनी फेरी भाँडाबर्तन। यी सब हरेक दिन एकै प्रकारले अबिराम फनफनि घुमिरहने आमाका दैनिकी थिए। आमा सिकिस्त बिमारी हुँदा वा करिब हरेक दुई वर्षको अन्तरालमा सुत्केरी हुँदा सुत्केरी अवधिको केही दिनको अवस्थालाई अपबाद मान्न सकिन्छ। आमा त एक स्वचालित यन्त्र मात्र पो थिइन जस्तो लाग्छ। 
 हरेक सन्तानलाई सर्दर ९ देखी दस महिना आफ्नो गर्भमा राखेको हिसाब गर्दा झन्डै ८ बर्ष हुन आउँदो रहेछ। यसरी हेर्दा आमाले बाँच्नु भएको उमेरको एक दशांश भागको जैबिक उर्जा आफ्नो सन्तानलाई खर्चिनु भएको रहेछ। जिबित मध्ये ८ सन्तानलाई स्याहारसुसार गर्न, पालन पोषण गर्न, हुर्काउन, बढाउन आमाको जिन्दगीको झन्डै दुई तिहाइ अंश बितेको देख्छु।
आमा पितृसत्तात्मक सामाजिक ब्यबस्थाको साङ्लोले बाँधिएको एक बँधुवा दास जस्तो मात्र थिइन्। र आमा फगत बाउको वंश बिस्तार गर्ने एक यन्त्र जस्तो मात्र थिइन्। भन्न त आदिवासी समुदायमा महिलाप्रति उदार हुन्छ भनिएला। त्यो कुनै युगको कथा होला। तर हाम्रो बाउ पुस्ताको मनमस्तिष्कमा पुरुषसत्ताले पूर्ण रुपले जरो गाडिसकेको थियो। नढाँटी भन्नु पर्दा आफूलाई जतिसुकै उदार माने पनि मेरो अवचेतनभित्र नै नारीद्वेषी पुरष सोच र चिन्तनको बिकारका अवशेषहरू कतै लुकेर बसेको पाउँछु। आमाले भोग्नुभएको पुरषसत्तात्मक कोपभाजनको लागि मेरो बाउलाई एक्लो दोषी करार गर्न मिल्दैन होला। त्यसको केही अंश पुरुष हुनुको नाताले हाम्रो भागमा पनि पर्ला। मुख्य समस्या त हाम्रो मष्तिष्कमा पुरूषसत्ताको विष भर्ने सिङ्गो सामाजिक व्यवस्था पो होला।  
आमाले दस वटा सन्तानलाई जन्म दिनु भयो। दसमध्ये हामी ८ सन्तान जिबित छौँ। एउटा भाई जन्मेको केही दिनमै र एउटी बहिनी पुगनपुग १ बर्षको हुँदा दादुराले मृत्‍यु भएको थियो रे। हरेक सन्तानलाई सर्दर ९ देखी दस महिना आफ्नो गर्भमा राखेको हिसाब गर्दा झन्डै ८ बर्ष हुन आउँदो रहेछ। यसरी हेर्दा आमाले बाँच्नु भएको उमेरको एक दशांश भागको जैबिक उर्जा आफ्नो सन्तानलाई खर्चिनु भएको रहेछ। जिबित मध्ये ८ सन्तानलाई स्याहारसुसार गर्न, पालन पोषण गर्न, हुर्काउन, बढाउन आमाको जिन्दगीको झन्डै दुई तिहाइ अंश बितेको देख्छु। त्यसको लागि आमाले खर्चनु भएको शारिरीक, मानसिक र भावनात्मक श्रम र उर्जाको हिसाब के होला? जीवनको उत्तराद्र्धको झन्डू २० वर्ष अनेक रोग र बिमारीसँग पौँठेजोरी खेल्दै बाँच्नु भयो। सोच्छु आमाले आफ्नो लागि जीवन कहिले बाँच्नु भो होला?   

कडा स्वभाव तर कमलो मनकी आमा 
बोलीमा चिप्लोपन रुचाउनेलाई आमा अलिक रुखो लाग्न सक्थ्यो। खासगरी परिवारभित्रको सदस्यहरूसँग आमाको बोली र ब्यबहार कडा हुनेगर्दथ्यो। अर्कोतर्फ घरमा आएका पाहुनापात र आगन्तुकहरू वा कतै भेटिएका आफन्तजन र नौला मानिसहरूलाई आमाले गर्ने सत्कार, बोलीबचन र ब्यबहार भने उदेक लाग्दोगरी विनम्र र मधुर हुनेगर्दथ्यो। आमाको ब्यक्तित्वमा देखिने यो विरोधाभास बारे सोचेर आज पनि चकित हुन्छु। हुन सक्छ रातोदिन एकोहोरो यन्त्रवत काम गर्दाको थकान र दिक्दारीले आमालाई झर्को लाग्दो हो, झिन्झ्याट लाग्दो हो। आमाको कडा बोली र व्यवहार सम्भवतः त्यही निरसता, दिक्दारी र थकानको प्रस्फुटन हुनुपर्छ भन्ने लाग्छ। 
आमामा आफ्ना सन्तान र परिवारका सदस्यहरूप्रति अगाध स्नेह थियो तर देखावटी र ढोङ्गी प्रेममा सायद उहाँको विश्वास थिएन। त्यही विश्वासले होला आमाले आफ्ना सन्तानहरूको अघि खुलेर प्रशंसा वा स्नेह देखाउनु हुन्नथ्यो होला। तर आमा भित्र सन्तानप्रतिको स्नेह कति थियो भन्ने बुझ्न केही प्रसङ्गहरू झलझली सम्झिन्छु। 

एकदिन म छिमेकी टोल टहलिँदै जाँदा एउटा छिमेकीको घर पुगेँ। साइनोले उहाँ ठुलीआमा पर्नुहुन्थ्यो। कुरा म कक्षा ८ पढ्दा ताकाको थियो। छिमेकी ठुलीआमाले मेरा दवाँली आफ्ना छोराहरूलाई बोलाएर मेरो छेउ राखेर भनिन् – ‘हेर छोरा त यस्तो ज्ञानी हुनुपर्छ। उसले पुरस्कार जितेको पैसा आमाको हातमा ल्याएर दिन्छ। तँहरू चैँ घरको पैसा चोरेर लैजान्छौ। योबाट केही सिक मुर्दारहरू।’ मेरो कारणले छिमेकी ठुलीमाको छोराहरूले भेटेको भक्कुमार गालीले अलिक ननिको लाग्यो। साथसाथै उनले गरेको तारिफले मनमनै फुरुक्क पनि थिएँ।  

कुरा के थियो भने त्यो वर्षको बालदिवसको अवसरमा जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजबाफ प्रतियोगितामा हाम्रो स्कुलको तर्फबाट भाग लिने टोलीमा म पनि परेँ। त्यस प्रतियोगितामा हामी तेस्रो भयौँ सायद। पुरस्कार वापत पाएको रकम हामीले दामासाही बाँड्यौँ। त्यो पैसा मैले खर्च नगरी ल्याएर आमाको हातमा दिएको थिएँ। त्यो बेला आमा खुसी हुनु भयो वा भएन मैले खासै चासो राखेको थिइन। प्रतियोगितामा हामी तेस्रो भएको कुरा त अरूलाई पनि थाहा थियो तर पुरस्कृत रकम आमाको हातमा दिएको कुरा आमा र मेरो बीचमा मात्र सीमित थियो। मैले बुझेँ आमाले यो कुरा ती छिमेकी ठुलीमालाई सुनाउनु भएको रहेछ। आमा फाइँफुट्टी लाउने स्वभावको होइन। त्यो बारेमा कुनै प्रसङ्गमा ती ठुलीमालाई सुनाउनु भयो होला। अरू बेला कठोर झैँ लाग्ने आमा आफ्ना सन्तानका प्राप्ति र सफलतालाई प्रेमपुर्वक अरू कसैलाई सुनाउनु हुँदोरहेछ। 

खेतिपाती बाहेक आर्थिक उपार्जनको स्रोत केही नभएको समय थियो। क्याम्पस पढ्दा मलाई लाग्ने खर्च भने स्कुल पढ्दाको तुलनामा निकै नै बढि थियो। यस्तोमा घरलाई परेको आर्थिक भार चर्को थियो। बजारमा बसेर स्कुलका विद्यार्थीहरूलाई ट्युसन पढाएर धेरथोर जुगाड त गर्थेँ तर पनि घरबाट खर्च नलिई मेरो खर्च पुग्न गारो थियो। 

अर्को प्रसङ्ग यस्तो छ। एसएलसी पास भएपछि सदरमुकाम सिन्धुलीमाढी बसेर आइए पढ्न थालेँ। साताको हरेक शुक्रबार घर जानु, एक सातालाई पुग्ने गरी दाल चामल लिएर शनिबार फेरी क्याम्पस फर्किनु मेरो नियमित चर्या थियो। खेतिपाती बाहेक आर्थिक उपार्जनको स्रोत केही नभएको समय थियो। क्याम्पस पढ्दा मलाई लाग्ने खर्च भने स्कुल पढ्दाको तुलनामा निकै नै बढि थियो। यस्तोमा घरलाई परेको आर्थिक भार चर्को थियो। बजारमा बसेर स्कुलका विद्यार्थीहरूलाई ट्युसन पढाएर धेरथोर जुगाड त गर्थेँ तर पनि घरबाट खर्च नलिई मेरो खर्च पुग्न गारो थियो। आमालाई यो कुराले पोल्थ्यो सायद। पैसा जोहो गर्ने अनेक उपाय गर्नु हुन्थ्यो। मौसमले साथ दिएको बेला बारीमा राम्रै कोदो फल्थ्यो। कोदोलाई उसै पनि कुअन्न भनेर अपहेलना गरिन्थ्यो। बजारमा कोदो बिक्री त हुन्थ्यो तर मुल्य भने सबै भन्दा निम्न गुणस्तरको चामलको मूल्यको एक चौथाई हुने गथ्र्यो। सदरमुकाम आउजाउ गर्ने मुलबाटोमा ठाउँ ठाउँमा खाजाघर वा भट्टी पसलहरू हुन्थे। ती भट्टी पसलहरूमा कोदोको रक्सीको माग भक्कुमार हुन्थ्यो। बजारमा लगेर कोदो बेच्नु भन्दा रक्सी बनाएर बेच्दा पैसा ज्यादा आउने हुँदा बेलाबखत कोदोको रक्सी बनाएर भट्टीमा पुर्याउनु हुन्थ्यो। 

एउटा शुक्रबार बिहानको कक्षा भ्याएर सधैं झैँ दाल चामल लिन घर फर्किदै थिएँ। घर पुग्नु अलिक अघि घाघर खोलामा आमालाई भेटेँ। सोलीमा केही बोकेर आमा कतै जाँदैहुनुहुन्थ्यो। 
‘कहाँ हिँड्नु भाको आमा? मैले सोधेँ। ‘बुर्जाको भट्टीमा यो रक्सी पुर्याइदिनु पर्यो।’ आमाले जवाफ दिनु भो। मेरो क्याम्पस खर्च धान्न आमाले यसरी रक्सी बेच्नु हुँदैछ भन्ने कुराले मन कटक्क भयो। एकछिन अलमल्ल भएँ। अनि भनें –’म पुर्याइदिन्छु। तपाई घर फर्किनुस्।’ 
‘तँ क्याम्पस पढेको मान्छे, रक्सी बेच्न हिँड्नु सुहाउँछ? जा घर गएर खाजा खाँदै गर। म यो पुर्याइ राखेर आईहाल्छु।’ आमाले मान्नु भएन। 
आमाको अडानअघि मेरो केही जोर चलेन। घरको तत्कालीन आर्थिक अबस्थाले बेस्सरी मनलाई चिमोठ्यो। मेरो क्याम्पस खर्च र परिवार चलाउन आमाले गरिरहनु भएको ती दुखजिलो देख्दा आमाप्रतिको श्रद्धाभावले पग्लिएँ र चुपचाप घर तिर लागेँ। 

आमा बाथरोगले थलिएर म कहाँ बसेर उपचार गरिरहनु भएको बेला थियो। शारीरिक रुपबाट अत्यन्त कमजोर र अस्वस्थ त हुनुहुन्थ्यो नै। आमा अत्यन्तै कम बोल्ने र एकोहोरो सोचिरहने देखिनु भयो। आमाभित्र अनेक चिन्ता मडारिरहेको हुनुपर्छ भन्ने अनुमान लगाउन गारो थिएन। आमालाई भित्रभित्रै पिरोलीरहने त्यस्तो चिन्ता चाहिँ के हुनसक्छ? म पनि पिरोलिरहेको थिएँ।
‘सबै दाजुभाइ, दिदी बहिनीहरूको बन्दोबस्त भइसकेको देख्छु। तेरो चैँ के हुँदैछ? घरसर बनाउने सुरसार छ कि सँधै यस्तै हो?’ आमाले एकदिन मुख खोलेरै भन्नुभयो। आमाको अप्रत्याशित प्रश्नले म अक्क न बक्क भएँ। आमालाई आफ्नो बिमारीले मात्र सताएको होइन रहेछ। आमालाई त हुर्कि बढिसकेका आफ्ना सन्तानहरूको भविष्यको चिन्ताले पनि हरदम सताउने रहेछ। आमालाई यस्तो चिन्ताले पिरोल्छ यो कुरा मेरो सोचाइ बाहिरको कुरा थियो। 

भलै आमाहरू ब्यबहार र बोलीमा कठोर देखिएलान् तर आमाहरू भित्र आफ्ना सन्तानहरूप्रति वर्णानाीत प्रेम, करूणा र वात्सल्य लुकेको हुन्छ। मेरो आमालाई पढेर मैले प्राप्त गरेको ज्ञान यही त हो। कहिलेकाहीँ गमेर सोच्छु। जीवन र मृत्युबीचको दुरी कति होला? जीवन र मृत्युलाई त एउटा रौं जस्तो झिनो रेखाले मात्र छुट्याएको पो हुन्छ कि? वा मृत्यु भन्ने जिनिस जीवनकै वरिपरि फन्को मारिरहेको पो हुन्छ कि? वा मृत्यु ठाउँ कुठाउँ, समय असमय जीवनलाई एम्बुस थाप्छ र तिनै एम्बुसहरू छल्दै छल्दै अघि बढ्नु जीवनको नियति हो? मेरो आमाको सन्दर्भमा त यही कुरा धेरै हद सम्म सत्य हो झैं लाग्छ।     
 
दस दस वटा सन्तानलाई जन्माएर, छारेरोगको कारण भीर पखेरा ठाउँ कुठाउँ लडेर, बाथरोग, प्रेसर, मधुमेह लगायत अनेक बिमारीहरुले सताएर, एउटा निर्जिब नाकाम फोक्सोको भारी छातीमा बोकेर बाँचेको आमाको रुग्ण र जिर्ण कायाले कती थेगोस? जुनीभर अनेक बिमारी, रोग र दुर्घट्ना जस्ता मृत्‍युले थापेको एम्बुसहरु छल्दै छल्दै आउनुभको हो। जीवनमा धेरै चोटि मृत्युसँग लाप्पा खेल्नु भयो र हरेक चोटि मृत्युलाई पछार्दै र जित्दै आउनु भयो। यो पटक भने आमा हार्नु भयो सायद मृत्युसँग लड्दा लड्दा थाक्नु भयो। हो आमा अचाक्ली थाक्नु भयो र अन्ततः चोला बिसाउनु भयो।   
अहिले पनि बेलाबखत आमा हुनुहुन्न भन्ने बोधले मनलाई एउटा कहाली लाग्दो शून्यताले छोप्छ। भौतिक रुपमा आमा अस्तित्वमा अब हुनुहुन्न भन्ने थाहा छ तथापि अझै पनि अवचेतनभित्र लागिरहेछ कि आमालाई भिडियो कल गरुँला र सोधुँला ‘आमा! हाराङबा मुला दात्ते?’ र सँधै झैँ आमाले नाकबाट अक्सिजन क्यनुला हटाएर भन्नु हुनेछ ‘ ङादा ज्याबान मुला। एदा हाराङबा मुला ओम? (म ठीकै छु। तिमीलाई कस्तो छ त?)’ अब यथार्थमा त्यस्तो फेरि त्यस्तो सम्वाद आमासँग हुनेछैन भन्ने सत्यबोधले भने सँधै चिमोटिरहन्छ। आमाको तेस्रो पुण्य तिथिमा आमालाई एक अञ्जुली श्रद्धासुमन!   

प्रतिक्रिया