न्यूयोर्क । अमेरिकामा नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचन अन्तर्गत विभिन्न राज्यका राज्यसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका पाँच जना नेपाली अमेरिकन उम्मेद्धारमध्ये तीन जनाले बाजी मारेका छन् । विजयी हासिल गर्नेहरुमा न्यूयोर्कको एसेम्बली मेम्बरमा सरहाना श्रेष्ठ, मेरिल्याण्डका हाउस डेलिगेट्समा ह्यारी भण्डारी र न्यू ह्याम्पसायरको स्टेट रिप्रिजेन्टेटिभमा विश्वबहादुर शाह रहेका छन्। । यस्तै केन्टकी राज्यमा नेपालभाषी भुटानी अमेरिकन मित्र सुबेदी पनि स्टेटको हाउस रिप्रेजेन्टेटिभमा निर्वाचित भएका छन् । निर्वाचित सबै उम्मेद्धारहरु डेमोक्रेटिक पार्टीबाट निर्वाचित भएका हुन् ।
न्युयोर्क राज्यको हड्सन भ्याली काउन्टीको डिस्ट्रिक्ट ‘१०३’ बाट एसेम्बली मेम्बरमा प्रतिस्पर्धा गरेकी सराहना श्रेष्ठले लगतार तेस्रो पटक विजयी हासिल गरेकी छन् । हड्सन भ्याली जस्तो नेपाली र साउथ एसियन समुदायको उपस्थिति नरहेको क्षेत्रबाट पनि उनले प्रतिद्धन्दी रिपब्लिकन पार्टीका प्रत्यासीलाई पराजीत गर्दै नेपाली अमेरिकन समुदायको तर्फबाट अल्बानीमा प्रतिनिधित्व गर्न सफल भएकी हुन् ।
यस्तै लगतार तेस्रो पटक राज्यसभामा विययी हुनेमा मेरिल्याण्डका हाउस अफ डेलिगेट्स निर्वाचित ह्यारी भण्डारी पनि रहेका छन् । भण्डारी मेरिल्यान्ड राज्यको बाल्टीमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट ‘८’ बाट तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । सोही काउन्टीको डिस्ट्रिक्ट ‘७ ए’ को हाउस अफ डेलिगेट्समा प्रतिस्पर्धा गरेका सतिश चापगाईं भने कडा प्रतिस्पर्धाकाबीच रिपब्लिकन उम्मेद्धारसंग पराजीत भएका छन् ।
यस्तै न्यु ह्याम्पसायर राज्यमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि प्रतिस्प्र्धा गरेका विश्वबहादुर शाह र रिकी गुरुङ मध्ये विश्वबहादुर शाह आफ्नो क्षेत्रबाट सहज जीत हासिल गर्दै पहिलो पटक राज्यसभामा प्रतिनिधित्व गर्न सफल भएका छन् । राज्यको हिल्सबरो काउन्टीको डिस्ट्रिक्ट ‘४१’ बाट नेपाली समुदायका अगुवा समाजसेवी विश्वबहादुर शाह स्टेट रिप्रेजेन्टेटिभ्समा विजयी भएका हुन् । न्यूयोर्कमा लामो समय बसोबास गरी न्यूह्याम्पसायर राज्यमा गएका शाहले छोटो समयको अवधिमा नै प्रभावशाली व्यक्तित्वको उपयोग गर्दै राज्यको राजनीतिमा छलाङ मार्न सफल भएका हुन् । उनी नेपाली सेनाको सेनानी जागिर छाडेर अमेरिका बसाई आएका हुन् ।
न्यू ह्याम्पसायर राज्यकै मेरिम्याक डिस्ट्रिक १० बाट पहिलो पटक स्टेट रिप्रेजेन्टेटिभ्सका लागि प्रतिस्पर्धा गरेका रिकी गुरुङ भने प्रतिद्धन्दी रिपब्लिकन उम्मेद्धारभन्दा ०.१ प्रतिशत कम मत ल्याएर पराजीत भए ।
यसैवीच केन्टकी राज्यबाट पनि नेपालीभाषी उम्मेद्धारले राज्यको प्रतिनिधिसभामा विजयी हासिल गर्न सफल भएका छन् । राज्यको डिस्ट्रिक्ट ३० बाट नेपालीभाषी भुटानी अमेरिकन मित्र सुबेदी हाउस रेप्रिजेन्टेटिम्समा विजयी हालि गर्न सफल भएका हुन् । उनी स्थानीय माझ निकै लोकप्रिय नेता मानिन्छन् ।
पछिल्ला वर्षहरुमा अमेरिकामा बसोबास गर्ने नेपालीको संख्या बढ्दै गइरहेको बेला यहाँका मूलधारको राजनीतिमा संलग्नता पनि विस्तारै बढीरहेको छ । संघीय संसदमा नेपाली अमेरिकनहरुको उपस्थिति नरहे पनि राज्यसभामा भने विस्तारै संख्याहरु देखिदै गइरहेको छ । यस्तै सिटी र काउन्टीहरुमा पनि आधा दर्जनभन्दा बढी निर्वाचित जनप्रतिनिधि भएर सक्रिय रहदै आएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिब १ लाख नेपालीहरु मतदान गर्न योग्य रहेका छन् ।








प्रतिक्रिया