२६ कात्तिक २०८३, बुधबार
Wed, Nov 11, 2026
SUBSCRIPTION

न्यूयोर्कको गभर्नरमा होचुल पुनः निर्वाचित, पहिलो पटक गभर्नर र उपगभर्नरमा महिला विजयी

यस जितसँगै होचुल र न्युयोर्क सिटी काउन्सिलकी पूर्व सभामुख एडम्सले न्युयोर्क राज्यको राजनीतिक इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। उनीहरू न्युयोर्कको इतिहासमा गभर्नर र उपगभर्नर पदका लागि निर्वाचित हुने पहिलो महिला उम्मेदवारहरूको जोडी बनेका छन्।
न्यूयोर्कको गभर्नरमा होचुल पुनः निर्वाचित, पहिलो पटक गभर्नर र उपगभर्नरमा महिला विजयी

न्युयोर्क । न्युयोर्क राज्यकी गभर्नरमा क्याथी होचुल पुनः निर्वाचित भएकी छन्। रिपब्लिकन पार्टीका उम्मेदवार ब्रुस ब्लेकम्यानलाई पराजित गर्दै होचुलले दोस्रो कार्यकालका लागि जीत हासिल गरेकी हुन्। मंगलबार भएको निर्वाचनमा उप गभर्नरमा पनि डेमोक्रेटिक पार्टीकै उम्मेद्धार एड्रिएन एडम्स विजयी भएकी छिन् । 

यस जितसँगै होचुल र न्युयोर्क सिटी काउन्सिलकी पूर्व सभामुख एडम्सले न्युयोर्क राज्यको राजनीतिक इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। उनीहरू न्युयोर्कको इतिहासमा गभर्नर र उपगभर्नर पदका लागि निर्वाचित हुने पहिलो महिला उम्मेदवारहरूको जोडी बनेका छन्। यसका साथै एड्रिएन एडम्स न्युयोर्क राज्यको इतिहासमा उपगभर्नर बन्ने पहिलो अश्वेत महिला पनि हुनेछिन्।

निर्वाचनमा विजयी भएपछि आयोजित सम्बोधनमा गभर्नर होचुलले न्युयोर्कवासीप्रति आभार व्यक्त गरिन्। ब्लेकम्यानले फोनमार्फत आफ्नो पराजय स्वीकार गरेपछि उनले भनिन्, “न्युयोर्कवासीहरू, फेरि एकपटक ममाथि विश्वास गर्नुभएकोमा धन्यवाद। तपाईंहरूको गभर्नरका रूपमा सेवा गर्न पाउनु मेरो जीवनकै सबैभन्दा ठूलो सौभाग्य हो। तपाईंहरूले ममाथि देखाउनुभएको विश्वासलाई म कहिल्यै सामान्य रूपमा लिने छैन।”

न्युयोर्क सिटी बोर्ड अफ इलेक्सन्सको अनौपचारिक नतिजाअनुसार होचुलले ७४.५ प्रतिशत मत प्राप्त गर्दा रिपब्लिकन उम्मेदवार ब्लेकम्यानले २४.३ प्रतिशत मत प्राप्त गरेका छन्।

होचुलको यो जितले उनलाई आगामी चार वर्षका लागि पुनः अल्बानीस्थित राज्य सरकारको नेतृत्व गर्ने अवसर दिएको छ। उनको चुनावी अभियानमा मुख्य रूपमा महँगी नियन्त्रण, बालबालिकाको हेरचाहसम्बन्धी सुविधा विस्तार तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको विरोधलाई प्राथमिकता दिइएको थियो।

क्याथी होचुल सन् २०२१ को अगस्टमा एन्ड्र्यु कुमोले पदबाट राजीनामा दिएपछि न्युयोर्कको पहिलो महिला गभर्नर बनेकी थिइन्। त्यसपछि सन् २०२२ को निर्वाचनमा रिपब्लिकन उम्मेदवार ली जेल्डिनलाई करिब ६ प्रतिशत मतान्तरले पराजित गर्दै उनी न्युयोर्कको इतिहासमा जननिर्वाचित पहिलो महिला गभर्नर बनेकी थिइन्।

यसपटकको पुनः निर्वाचनसँगै होचुलले आफ्नो राजनीतिक नेतृत्वलाई थप चार वर्ष निरन्तरता दिने भएकी छन् भने एड्रिएन एडम्सको उपगभर्नर पदमा आगमनले न्युयोर्कको राजनीतिक इतिहासमा महिला तथा अश्वेत समुदायको प्रतिनिधित्वका दृष्टिले नयाँ अध्याय थप्नेछ।

प्रतिक्रिया