२६ कात्तिक २०८३, बुधबार
Wed, Nov 11, 2026
SUBSCRIPTION

पत्रकार धरपकड रोक्न नेजाको आग्रह

पत्रकार धरपकड रोक्न नेजाको आग्रह

न्यू योर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले मिडिया हाउसमा प्रहरीको प्रवेशप्रति आपत्ति जनाएको छ ।  नेपालमा पत्रकारमाथिको धरपकडको शृंखलाले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको भन्दै प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आग्रह गरेको छ । 

नेजाका महासचिव ईश्वरी न्यौपानेद्वारा जारी विज्ञप्तिमा नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोरङबाट भोलाराज बराल र दियोपोस्टका प्रधानसम्पादक बिरज आचार्यलाई पक्राउ गरिएको घटनाको कडा निन्दा गरिएको छ। नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई समेत कार्यालयबाट नियन्त्रणमा लिने प्रयास भएको विवरणप्रति संघले ध्यानाकर्षण भएको जनाएको छ।

समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने र त्रासको वातावरण सिर्जना गर्ने कार्यलाई नेजाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भनेको छ। यस्ता गतिविधिले पत्रकारलाई निर्भीकतापूर्वक पेसागत जिम्मेवारी निर्वाह गर्न अवरोध र्पुयाउनुका साथै नागरिकको सुसूचित हुन पाउने अधिकारलाई समेत कमजोर बनाउने संघको भनाइ छ। प्रकाशित वा प्रसारित समाचारप्रति असहमति वा उजुरी भए सम्बन्धित निकाय र स्थापित कानुनी प्रक्रियाबाट निरूपण गरिनुपर्नेमा नेजाले जोड दिएको छ। समाचारसँग सम्बन्धित विषयमा पत्रकारमाथि धरपकड र सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु लोकतान्त्रिक मूल्य तथा स्वतन्त्र पत्रकारिताको मर्मविपरीत हुने विज्ञप्तिमा उल्लेख छ।

नेजाले पक्राउ परेका पत्रकारहरूको तत्काल रिहाइसँगै पत्रकारलाई तर्साउने तथा धरपकड गर्ने गतिविधि बन्द गर्न, घटनाको निष्पक्ष छानबिन गर्न र सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता प्रदान गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ। प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका पक्षमा नेपाल पत्रकार महासंघले उठाएको आवाजप्रति ऐक्यबद्धता जनाउँदै नेजाले पत्रकारमाथिको दमनविरुद्ध एकजुट हुन पत्रकार, सञ्चार संस्था र लोकतन्त्रका पक्षधरहरूलाई आह्वान गरेको छ।

नेजाले जारी गरेको विज्ञप्ती

 

 

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू