न्यूयोर्क । आम निर्वाचनकै झल्को हुनेगरी अमेरिकाभरका मतदाताहरू आज मध्यावधि निर्वाचनको लागि मतदान केन्द्रहरूमा पुगिरहेका छन्। निर्वाचन परिणामले राष्ट्रपति पदको लागि खासै असर नगर्ने भएपनि साँघुरो अन्तरमा बहुमत अल्पमत रहेको प्रतिनिधिसभा र सिनेटमा वर्चश्वको लागि यो निर्वाचन महत्वपूर्ण मानिएको छ ।
रिपब्लिकन पार्टी यो निर्वाचनमा पनि दुवै सदनमा आफ्नो वर्चश्व कायम राख्ने दाउमा छ भने डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पको खस्कदो लोकप्रियताको उपयोग गर्दै कँग्रेसमा नियन्त्रण कायम गर्ने दाउमा रहेको छ । राष्ट्रपति कार्यकालको मध्ये समयमा हुँदै गरेको यो निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको जनमत संग्रहकै रुपमा समेत लिइएको छ ।
मंगलबारको निर्वाचन मार्फत अमेरिकी जनताले तल्लो सदनको ४३५ प्रतिनिधि र माथिल्लो सदल सिनेटको एकतिहाई र थप दुई गरी ३५ सदस्यको छनौत गर्नेछन् । यसैगरी धेरै राज्यहरुमा राज्य गभर्नर र राज्यसभाका प्रतिनिधिहरुसमेत यस निर्वाचनमार्फत छनौट हुनेछन् ।
राष्ट्रपति ट्रम्पले आफू पनि चुनावी प्रतिस्पर्धामा रहेको जस्तै गरी आफ्ना समर्थकहरूलाई सक्रिय हुन पटक–पटक आग्रह गर्दै आएका छन्। यदि उनको बलियो समर्थक आधार मतदानमा सहभागी भयो भने रिपब्लिकन पार्टीले जित हासिल गर्ने उनको दाबी छ। अर्कोतर्फ, डेमोक्र्याटिक पार्टीका चुनावी अभियानहरूले अमेरिकी नागरिकहरूलाई दैनिक खर्च धान्न कठिन भइरहेको अवस्थाका लागि राष्ट्रपति ट्रम्प र उनका प्रमुख नीतिहरूलाई जिम्मेवार ठह¥याउँदै निर्वाचनको जनमत मार्फत त्यसको विरोधमा उत्रन पार्टीले अभियन नै चलाएको छ ।
मध्येवधि निर्वाचनको आज भने मुख्य दिन हो । यसअघि नै एकसातासम्म अर्ली भोटिङ भइसकेको छ । लाखौँ अमेरिकी नागरिकहरूले आज बिहान ६ बजेबाट मतदान गरिरहेका छन् । मतदान बेलुकी नौ बजे सम्म जारी रहने निर्वाचन कार्यालयले जनाएको छ । मतदानपछि मतदाताहरू निर्वाचनको परिणामसँगै अमेरिकी जनमत, दुवै राजनीतिक दल र समग्र राष्ट्रमा आइरहेका सम्भावित परिवर्तनका संकेतहरू हेर्न प्रतीक्षारत रहनेछन्।
न्युयोर्कमा पनि मतदान जारी
मंगलबार बिहानैबाट न्युयोर्कका मतदाताहरूले पनि आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। गभर्नर, कंग्रेसका सदस्य तथा राज्यस्तरीय विभिन्न पदका लागि भइरहेको महत्वपूर्ण प्रतिस्पर्धामा अहिलेसम्म उत्साहजनक मतदान भइरहेको छ।
न्युयोर्क सिटी निर्वाचन बोर्डको तथ्याङ्कअनुसार नोभेम्बर ३ मा बिहान ६ बजे मतदान केन्द्रहरू खुलेको तीन घण्टाभित्रै पाँचवटै बरोका १३ हजारभन्दा बढी मतदान केन्द्रहरूमा करिब १ लाख ६३ हजार ५१८ मतदाताले आफ्नो उपस्थिति दर्ता गराइसकेका छन् ।
यो संख्या अक्टोबर २४ देखि नोभेम्बर १ सम्म अग्रिम मतदानमार्फत मत खसालेका ६ लाख ९० हजार ५२६ मतदाताको २३.९ प्रतिशत हो। यसपटकको अग्रिम मतदानमा सहभागी हुने मतदाताको संख्या सन् २०२२ को मध्यावधि निर्वाचनको तुलनामा ६० प्रतिशतले बढेको छ। न्यूयोर्कमा यो निर्वाचनमार्फत गभर्नर, उपगभर्नर देखी राज्यसभा सदस्यहरु चयन गर्नेछ । डेमोक्रेट पार्टीबाट यसपटक पनि क्याथी होचुल नै गभर्नर पदका लागि प्रतिस्पर्धामा छिन्। उनी रिपब्लिकन उम्मेदवार ब्रुस ब्लेकम्यानसँग प्रतिस्पर्धा गर्दैछिन्।
यस्तै उपगभर्नर पदका लागि न्यूयोर्क सिटीकी पूर्व सिटी काउन्सिल सभामुख एड्रिएन एडम्स प्रतिस्पर्धामा छिन्। यदि होचुल र एडम्स निर्वाचित भए भने न्युयोर्क राज्यको लामो राजनीतिक इतिहासमा पहिलोपटक राज्यको कार्यकारी नेतृत्वका शीर्ष दुई पदमा महिलाहरू निर्वाचित हुनेछन्।
यस्तै राज्यका नियन्त्रक (स्टेट कम्प्ट्रोलर) थोमस डिनापोली पुनः अर्को कार्यकालका लागि प्रतिस्पर्धामा छन्। उनलाई रिपब्लिकन उम्मेदवार जोसेफ हर्नान्डेजले चुनौती दिएका छन्।
त्यस्तै, ब्रुकलिनकी डेमोक्र्याटिक पार्टीकी राज्य महान्यायाधिवक्ता लेटिसिया जेम्सलाई रिपब्लिकन उम्मेदवार सारिथा कोमातिरेड्डीले चुनौती दिएकी छन्।










प्रतिक्रिया