न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को वार्षिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। न्यूयोर्क ब्लड सेन्टरसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन्।

केआरएसएले आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर जुन १४ मा एल्महर्स्टस्थित क्विन्स मलमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

केआरएसएले स्थापना दिवसको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ। संस्थाले समुदायलाई सामाजिक सेवामा जोड्ने र रक्त अभावका कारण समस्यामा परेका बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

केआरएसएले रक्तदान कार्यक्रममा नयाँ पुस्ताका युवालाई स्वयं सेवकका रुपमा परिचालन गरेको थियो। रक्तदान कार्यक्रमपछि सहभागीहरुलाई खाजा प्रदान तथा प्रमाणपत्र वितरण गरेको थियो।
केआरएसएले रक्तदान कार्यक्रममा सहभागी सबै रक्तदाता, स्वयंसेवक, न्यूयोर्क ब्लड सेन्टर, सहयोगी संस्था तथा समुदायका सदस्यहरूलाई धन्यवाद दिएको छ। संस्थाले आगामी दिनमा पनि समुदायहितका सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

केआरएसए सन् २००४ मा अमेरिकामा औपचारिक रूपमा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो। संस्थाले अमेरिकामा रहेका किरात राई समुदायसहित नेपाली समुदायको सामाजिक, सांस्कृतिक र मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ।







प्रतिक्रिया