न्यू योर्क । हरेक वर्ष स्थापना दिवसको अवसर पारेर गर्दै आएको रक्तदान कार्यक्रम किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले यो वर्ष जुन २२ मा आयोजना गर्ने भएको छ।
केआरएसएले यस पटक आफ्नो २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्न लागेको हो। कार्यक्रम केआरएसए केन्द्रिय कार्य समिति, न्यू योर्क च्याप्टर र न्यू योर्क ब्लड सेन्टरले संयुक्त रुपमा आयोजना गर्न लागेको केन्द्रिय कार्य समिति अध्यक्ष खगेन्द्र राईले बताए। कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म क्विन्स बुलेभार्डस्थित क्विन्स प्लेस मलमा हुनेछ।
सन् २००४ मा नेब्रास्का राज्यमा विधिवत रुपमा दर्ता भएको केआरएसको यो वर्ष जुन २४ मा २१ वर्ष पुरा हुँदैछ। केआरएसएलाई न्यू योर्क राज्यले पनि सोही स्थापना मितिलाई कायम गरि न्यू योर्कमा दर्ता पुनः दर्ता गरिदिएको छ।
रक्तदानमा सहभागी हुन केआरएसएले आफ्नो आधिकारिक फेसबुकमार्फत आह्वान गरेको छ। रक्तदानका लागि आफ्नो उपयुक्त समय बुक गर्न क्यूआर कोड उपलब्ध गराइएको छ। रक्तदानका लागि परिचयपत्र वा ब्लड डोनर कार्ड अनिवार्य छ। विगत १२ महिनाभित्र ट्याटु खोपेका र एक सय १० पाउन्डभन्दा कम तौल भएकाहरू रक्तदानका लागि अयोग्य हुनेछन्। साथै, रक्तदानका लागि १६ वर्ष पुरा भएको तर ७५ वर्ष ननाघेको व्यक्ति हुनुपर्नेछ। उमेर ७५ वर्ष नाघेकाको हकमा रक्तदानका लागि डाक्टरको स्वीकृति अनिवार्य छ।
केआरएसएले कोरोना भाइरसको महामारीका बेला भएको न्यू योर्क ब्लड इमर्जेन्सीका समयमा समेत रक्तदान कार्यक्रम गरेर रगत अभाव कम गर्न सहयोग पुर्याएको थियो। ‘प्रचार प्रसार लगायतका तयारीको काम भइरहेको छ,’ केआरएसए न्यू योर्क च्याप्टरका नवनिर्वाचित अध्यक्ष शम्भू राईले भने, ‘हामी सम्पूर्ण सङ्घसंस्था र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई रक्तदान कार्यक्रममा सहभागी जनाइदिन अनुरोध गर्छौं।’






प्रतिक्रिया