न्यू योर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ पाउण्ड रगत संकलन भएको छ।

हरेक वर्ष स्थापना दिवसको अवसर पारेर गर्दै आएको रक्तदान कार्यक्रम केआरएसएले यो वर्ष जुन २२ मा आयोजना गरेको थियो। त्यसमा ५६ जनाले रक्तदान गरेका थिए। इच्छुक रक्तदाताहरुको सङ्ख्या त्योभन्दा बढी भएपनि कतिपय रक्तदानका लागि अयोग्य भएको केआरएसए न्यू योर्क च्याप्टरका अध्यक्ष शम्भु राईले बताए।

केआरएसएले यस पटक आफ्नो २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो। कार्यक्रम केआरएसए केन्द्रिय कार्य समिति, न्यू योर्क च्याप्टर र न्यू योर्क ब्लड सेन्टरले संयुक्त रुपमा आयोजना गरेको हो। कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म क्विन्स बुलेभार्डस्थित क्विन्स प्लेस मलमा भएको थियो।
एक पाउण्ड रगतले तीनजना सम्मको ज्यान जोगाउन सकिन्छ। साथै, रक्तदानबाट दाताको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ। रक्तदानबाट खासगरी मुटुजन्य रोग लाग्ने सम्भावना कम हुन्छ। न्यू योर्क ब्लड सेन्टरले दातामा रगतजन्य रोग भए परिक्षण गरि जानकारी दिन्छ। त्यसका साथै, रक्तदानले क्यान्सरजन्य रोग, मनोराग तथा बढी रगत बन्ने समस्या कम गर्न पनि सकारात्मक भूमिका खेल्छ।
सन् २००४ मा नेब्रस्का राज्यमा विधिवत रुपमा दर्ता भएको केआरएसको यो वर्ष जुन २४ मा २१ वर्ष पुरा गरेको छ। केआरएसएलाई न्यू योर्क राज्यले पनि सोही स्थापना मितिलाई कायम गरि न्यू योर्कमा दर्ता पुनः दर्ता गरिदिएको छ।
केआरएसएले कोरोना भाइरसको महामारीका बेला भएको न्यू योर्क ब्लड इमर्जेन्सीका समयमा समेत रक्तदान कार्यक्रम गरेर रगत अभाव कम गर्न सहयोग पुर्याएको थियो।








प्रतिक्रिया