२८ जेठ २०८३, बिहिबार
Thu, Jun 11, 2026
SUBSCRIPTION

केआरएसएको रक्तदान जुन १४ मा, रक्तदातालाई दुई वटा मेट्स टिकट

केआरएसएको रक्तदान जुन १४ मा, रक्तदातालाई दुई वटा मेट्स टिकट

न्यूयोर्क। किरात राई सोसाइटी अफ अमेरिका — केआरएसए — ले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा जुन १४ मा वार्षिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम एल्महर्स्टस्थित क्विन्स मलमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ। केआरएसएले न्यूयोर्क ब्लड सेन्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रम गर्न लागेको हो।

यसपटक रक्तदान गर्ने हरेक रक्तदाताले रक्तदानपछि मेट्स स्टेडियम अर्थात् सिटी फिल्डका दुई वटा टिकट प्राप्त गर्नेछन्। ती टिकटबाट मेट्स स्टेडियममा हुने बेसबल खेल हेर्न सकिनेछ। जुन १४ र त्यसपछिका दिनहरूमा मेट्ससँग एटलान्टा ब्रेव्स र शिकागो कब्सजस्ता टोलीका खेलहरू हुने तालिका छ।

केआरएसएले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ। संस्थाका अनुसार यस वर्ष २२ औं स्थापना दिवसको अवसरमा समुदायलाई जीवन बचाउने काममा सहभागी गराउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो। केआरएसए सन् २००४ मा अमेरिकामा औपचारिक रूपमा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो।

यसपटक रक्तदान गर्ने हरेक रक्तदाताले रक्तदानपछि मेट्स स्टेडियम अर्थात् सिटी फिल्डका दुई वटा टिकट प्राप्त गर्नेछन्। ती टिकटबाट मेट्स स्टेडियममा हुने बेसबल खेल हेर्न सकिनेछ। जुन १४ र त्यसपछिका दिनहरूमा मेट्ससँग एटलान्टा ब्रेव्स र शिकागो कब्सजस्ता टोलीका खेलहरू हुने तालिका छ।

रक्तदानमा सहभागी हुन इच्छुक व्यक्तिले केआरएसएले उपलब्ध गराएको लिङ्क वा डिजिटल पर्चामा रहेको क्यूआर कोडमार्फत अग्रिम समय बुक गर्न सक्नेछन्। क्यूआर कोड स्मार्टफोनबाट स्क्यान गरेपछि रक्तदानका लागि समय बुकिङ गर्ने वेब पेज खुल्नेछ। उक्त पेजमा आफ्नो विवरण भरेर आफूलाई अनुकूल समय रोज्न सकिन्छ।

रक्तदानका लागि केही सामान्य मापदण्ड पूरा गर्नुपर्नेछ। रक्तदाता १६ वर्ष नाघेको हुनुपर्नेछ। ७६ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले रक्तदान गर्न डाक्टरको अनुमति ल्याउनुपर्नेछ। रक्तदाताको तौल कम्तीमा ११० पाउण्ड हुनुपर्नेछ। साथै, पछिल्लो १२ महिनाभित्र ट्याटु नखोपेको हुनुपर्नेछ। रक्तदानका दिन परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ।

केआरएसएले सम्पूर्ण नेपाली समुदायलाई रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ। संस्थाले समुदायका सदस्यहरूलाई आफ्नो अनुकूल समयमा रक्तदान गर्न अग्रिम समय बुकिङ गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया