न्यू योर्क सिटी। अदालतले घर भाडा सहायता बिस्तार गर्ने निर्णय उल्ट्याइदिएको छ। म्यानह्याटन सुप्रिम कोर्टले हालै यस्तो निर्णय गरेको हो।
यो निर्णयबाट विपन्न वर्गका लाखौं न्यू योर्क शहरबासी मर्कामा परेका छन्। न्यू योर्क सिटी काउन्सिलले मे २५, २०२३ मा सिटी फाइटिङ होमलेसनेस एण्ड इभिक्सन प्रिभेन्सन सप्लिमेन्ट (सिटी एफएचइपिएस) बिस्तार गर्ने ऐतिहासिक निर्णय गरेको थियो। न्यू योर्क सिटीका मेयर एरिक आडम्सले गत आर्थिक वर्ष भिटो प्रयोग गरि उक्त निर्णय कार्यान्वयन हुनबाट रोकेका थिए।

चालू आर्थिक वर्षमा भने मेयर आडम्स उक्त निर्णय कार्यान्वयनमा ल्याउन बाध्य हुने ठानिएको थियो। त्यहि बेला म्यानह्याटन सुप्रिम कोर्टका न्ययाधीश लाएल प्mय्रांकले काउन्सिलको निर्णय खारेज गरिदिएका हुन्। यसले गरिबीका कारण घर भाडा तिर्न नसकेर निकालिने जोखिममा रहेका लाखौं मानिस प्रभावित बनेका छन्।
फण्ड फर द सिटी अफ न्यू योर्कले गत वर्ष तयार पारेको एनवाइसी ट्रयु कस्ट अफ लिभिङ प्रतिवेदनका अनुसार न्यू योर्क सिटीमा न्यून आय आएका भएका २९ लाख ९१ हजार ९७३ मानिस (१२ लाख ९८ हजार २१२ परिवार) छन्। रबिन हुड र कोलम्बिया युनिभर्सिटीले गरेको अध्ययन अनुसार सन् २०२२ मा १५ लाखभन्दा बढी वयस्क र करिब चार लाख २० हजार बालबालिका गरिबीको रेखामुनि बाँचिरहेका छन्। उक्त अध्ययनले गरिबको संख्या बढ्दो रहेको भनेको छ। यो संख्यामा आप्रवासी समुदायको हिस्सा ठूलो छ।
न्यू योर्क स्टेटका न्ययाधीश लाएल फ्य्रांकले न्यू योर्क सिटी काउन्सिलसँग घर भाडा सहायता (सिटी एफएचइपिएस) कार्यक्रम बिस्तार गर्ने अधिकार नभएको जनाएका छन्। घर भाडा सहायता सहायता पाउने कम आए भएका मानिसले आफ्नो आयको ३० प्रतिशत रकममामात्र घर भाडा तिर्छन्। बाँकी भाडा सिटी एफएचइपिएस प्रोग्राम अन्तर्गत न्यू योर्क सिटीले तिरिदिन्छ।
मेयर आडम्सले अदालतको निर्णयप्रति विज्ञप्ति जारी गरेर खुशी व्यक्त गरेका छन्। ‘सिटी काउन्सिलले अधिकारक्षेत्र बाहिर गएर निर्णय गरेको हो भन्ने हाम्रो प्रशासनको भनाइलाई अदालतले स्थापित गरिएको छ,’ उनको विज्ञप्तिमा उल्लेख छ। घर भाडा सहायताको दायरा बिस्तार गर्ने सिटी काउन्सिललको निर्णय विरुद्ध आडम्सले जुन २०२३ मा भिटो प्रयोग गरेका थिए। यो सहायता कार्यक्रमको दायरा बिस्तार गर्दा अर्बौं डलर आर्थिक भार थपिने उनको तर्क थियो।
त्यसपछि सिटी काउन्सिलले भोटिङ गरेर आडम्सको भिटो रद्ध गर्ने निर्णय गरेको थियो। लिगल एड सोसाइटीले गत फेब्रवरीमा चार जना न्यू योर्कबासीलाई सिटी एफएचइपिएस कार्यक्रममा सहभागी नगरिएको भन्दै डिपार्टमेन्ट अफ सोसल सर्भिस विरुद्ध मुद्धा दायर गरेको थियो। सोही मुद्धामा मेयर आडम्सका कानून ब्यबसायीहरुले सिटी काउन्सिलले क्षेत्राधिकार बाहिर गएर निर्णय गरेको दलिल पेश गरेका थिए।
न्यून आय भएका मानिस मर्कामा पर्ने भन्दै सिटी काउन्सिलले अदालतको निर्णय पुनरावलोकनका लागि आवेदन दिने भनेको छ। कोभिड–१९ महामारीपछि न्यू योर्क सिटीमा भाडा अत्याधिक वृद्धि भएको छ। महामारीको मन्दी र आर्थिक मारबाट निस्कन नपाउँदै भएको अत्याधिक भाडा वृद्धिका कारण न्युन आय भएका मानिस मर्कामा परेका छन्। २०२३ मा मात्र घर भाडा तिर्न नसकेर १९ हजार परिवार निकालिए। त्यसमा गरिबीको रेखा मुनि रहेका आप्रवासीको ठूलो हिस्सा छ।







प्रतिक्रिया