भर्जिनिया। नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी भएका छन् । भर्जिनियामा आज भएको तेस्रो महाधिवेशनले मुनिन्द्र नेम्वाङको नेतृत्वमा २८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । नेम्वाङले प्रतिस्पर्धी सीपी पौड्याललाई १ सय २८ मतान्तरले पराजित गर्दै विजयी भएको हो । नेम्वाङले २ सय ६६ प्राप्त गरेको हो भने पौड्यालले १ सय ३८ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त भक्त थापाले जानकारी दिए । महाधिवेसनले नेम्वाङको नेतृत्वमा १२ पदाधिकारी र १६ सदस्यसहित २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभापतिमा नेम्वाङ र पौड्यालसहित ६ जना प्रतिस्पर्धामा थिए । प्रमुख निर्वाचन आयुक्त थापाका अनुसार सभापतिको प्रतिस्पर्धामा नेम्वाङ र पौड्यालसहित सन्तोष पहारी, धु्रव गौतम, वेदप्रसाद खरेल र अमृत सापकोटा प्रतिस्पर्धामा थिए ।वरिष्ठ उपसभापतिमा विनोद भट्ट निर्वाचित भएका छन् । भट्टले प्रतिस्पर्धी ज्ञानेन्द्रराज कार्कीलाई पराजित गरेका हुन् । विजयी भट्टले १ सय ३२ मत र कार्कीले १ सय ४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपसभापतिमा भट्ट र कार्कीसहित उत्तम धमला र चन्द्रकान्त धिताल चुनावी प्रतिस्पर्धामा थिए । त्यस्तै उपसभापति पदमा २ सय ३५ मत प्राप्त गरी संजीव श्रेष्ठ, १ सय ७८ मत सहित हरि शर्मा, १ सय ८० मतसहित श्रीराम थापा र १ सय ४५ मतसहित निमा बोम्जन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा १० जनाले उम्मेद्वारी दिएका थिए। युवा उपसभापतिमा २ सय ४२ मतसहित सुशील खत्री निर्वाचित भएका छन् ।
त्यस्तै जनसम्पर्क समितिको महामन्त्रीमा गौतम दाहाल र नारायण खनाल विजयी भएका छन् । दाहालले महामन्त्रीमा १ सय ८४ मत प्राप्त गर्दै विजयी भएका हुन् । अर्का महामन्त्री खनालले २ सय ४ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा दाहाल र खनालसहित किलनचान राई, प्रतीक पाण्डे, अनन्तराज सुवेदी उम्मेदवार थिए । त्यस्तै सहमहामन्त्रीमा १ सय ६० मतिसहित अर्जुन बम, र १ सय ६९ मतसहित अनिता परियार विजयी भएका छन् । कोषाध्यक्षमा १ सय ६३ मतसहित नारायणप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसको प्रवास संगठन को जन सम्पर्क समितिको १२ वर्षपछि नेतृत्व परिवर्तन भएको हो । जनसम्पर्क समितिको तेस्रो अधिवेशनले मतदान प्रक्रियाबाट नेतृत्व छानेको हो । नवनिर्वाचित सभापति नेम्वाङ २००७ देखि जनसम्पर्क समिति अमेरिकामा आवद्ध छन् । नेपाली डायस्पोरामा परिचित उनी निवर्तमान महासचिव हुन् ।




प्रतिक्रिया