२९ साउन २०८३, शुक्रबार
Fri, Aug 14, 2026
SUBSCRIPTION

नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङको उमेद्वारी : नेम्वाङलाई न्यू योर्क च्याप्टरको समर्थन

नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङको उमेद्वारी : नेम्वाङलाई न्यू योर्क च्याप्टरको समर्थन

न्यू योर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय महाधिवेशनमा निवर्तमान महासचिव मुनिन्द्र नेम्वाङले सभापति पदमा औपचारिक रूपमा उमेद्वारी घोषणा गरेका छन् । न्यू योर्कको एल्महस्र्टस्थित सत्यनारायण मन्दिरमा बुधबार आयोजित  उमेद्वारी घोषणा कार्यक्रममा नेम्वाङले संगठनलाई थप एकताबद्ध, मर्यादित, प्रभावकारी र संस्थागत रूपमा सुदृढ बनाउने प्रतिबद्धतासहित सभापति पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन् । महाधिवेसनको पूर्वसन्ध्यामा नेपाली जनसम्पर्क समिति अमेरिका न्यू योर्क च्याप्टरले नेम्वाङको उमे्वारी घोषणा कार्यक्रम आयोजना गरेको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन अगस्ट १४, १५ र १६ मा भर्जिनियाको फेयरफ्याक्समा हुँदैछ । उमेद्वार नेम्वाङले उमेद्वारी घोषणा गर्दै एक पटकको नेपाली सधैका नेपाली भन्ने नारालाई नेपाली कांग्रेसले अँगालेको हुनाले नेपाली जनसम्पर्क समितिले पनि त्यो नारालाई आफ्नो नीति र कार्यक्रममार्फत  जोडदार रुपमा उठाउने प्रतिवद्धता जनाए । उनले

प्रवासमा बसेका नेपालीहरुलाई नेपाली मातृभुमिसँग जोड्नका लागि प्रवासमा बसेर मत दिने अधिकारको सुनिश्चित गर्नको लागि जोडदार पहल गर्ने बताए । अमेरिका र नेपालबीचको व्यापार तथा लगानी वातावरणको लागि गैरआवासीय लगानी प्रत्यक्ष लगानी र सम्बन्धलाई मजबुत बनाउन बिशेष पहल गर्ने नेम्वाङको भनाइ छ ।

नेम्वाङले संस्थाको लोकतान्त्रिकरण, आधुनिकीकरण र प्रविधीमा आधारित टास्कफोर्स बनाउने, विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको दिर्घकालिन विकास निर्माणको लागि र मुलुकको समृद्धिका लागि सदुपयोग गर्ने, नेपाली मौलिक भाषा, संस्कृतिको संरक्षण गर्न पहल गर्ने, संस्थालाई चलायमान, चुस्त राख्नको लागि मितव्ययीता, आर्थिक शुसासनमा जोड दिने प्रतिवद्धता अघि सारेका छन् ।

उमेद्वार नेम्वाङले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिको आकांक्षाभन्दा पनि संगठनलाई थप मजबुत, समावेशी र परिणाममुखी बनाउने अभियानका रूपमा अघि सारेको बताउँदै सबै प्रतिनिधि, अग्रज, शुभेच्छुक तथा सहकर्मीहरूबाट साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन् । नेम्वाङ २००७ देखि जनसम्पर्क समिति अमेरिकामा आवद्ध छन् । उनी निवर्तमान महासचिव हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि श्यामकाजी गुरुङ, नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बीर जोशीले शुभकामना व्यक्त गर्दै सभापति पदका उमेद्वार नेम्वाङलाई सहयोग गर्न आव्हान गरेका थिए । एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष आङ छिरिङ शेर्पा, उपाध्यक्ष दिवाकर पाण्डे, सचिव लक्ष्मी थापाले शुभकामना व्यक्त गर्दै महाधिवेसनमा सहभागी सबै प्रतिनिधीहरुलाई नेम्वाङलाई सहयोग गर्न अनुरोध गरे ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न गर्न गठित समितिका सदसय तथा केन्द्रीय सदस्य टक रुवाली, एनआरएनए एनसीसी न्यूयोर्क च्याप्टरका सभापति बासु लामिछानेले जितको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा निर्वाचन कमिटी सदस्य मोहन वाईवा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष एपी शेर्पा लामा, बाग्लुङ समाज अमेरिकाका अध्यक्ष जिवनाथ कडेल, सफक काउन्टि नेपाली समाज लङ्गआइल्याण्डका संस्थापक अध्यक्ष दिनेश डांगी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा पत्रकार लगायत उपस्थित थिए ।

कार्यक्रममा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी प्रस्तुत गर्ने व्यक्तिहरूले समेत आ–आफ्नो धारणा र प्रतिबद्धता व्यक्त गरेका छन् । उपाध्यक्ष पदमा सुजन खनाल र नेपाली जनसम्पर्क समिति अमेरिका न्यू जर्सी च्याप्टरका सभापति संजीव श्रेष्ठ, महासचिव पदमा मिन खड्का, सचिव पदमा रामचन्द्र अधिकारी र महेश मल्ल, केन्द्रीय सदस्य पदमा राजु रौनियारले उम्मेदवारी प्रस्तुत गर्दै नेम्वाङको नेतृत्वको टिममा रहेर काम गर्न ईच्छुक रहेको बताउँदै उहाँलाई पुर्ण साथ र सहयोग गर्ने प्रतिवद्दता जाहेर गरेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी नेतृत्वले संगठनभित्र एकता, सहकार्य, अनुशासन, पारदर्शिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्दै तेस्रो महाधिवेशनलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रमका सभापति तथा नेपाली जनसम्पर्क समिति अमेरिका न्यू योर्क च्याप्टरका सभापति दिनेश भण्डारीले उपस्थित सम्पूर्ण अतिथि, वक्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, उम्मेदवार तथा सहभागी महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्दै लोकतान्त्रिक विधि, आपसी सम्मान र स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट संगठनलाई थप सशक्त बनाउँदै महाधिवेशनलाई एकता र सहकार्यको उत्सवका रूपमा सफल बनाउन आग्रह गरे । महासचिव सुवास के.सी.ले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया