काठमाडौं। ‘हिमालय रोडिज’को छैटौं सिजन आगामी असोज १४ गतेदेखि प्रसारण हुने भएको छ। आयोजकले शुक्रबार पत्रकार सम्मेलनमा गरी यो साहसिक रियालिटी शोको नयाँ सिजनबारे जानकारी दिएको छ।

‘वेलकम टु द जंगल’को थिममा निर्माण भएको यो कार्यक्रमको नयाँ संस्करण प्रत्येक सोमबार राति ९ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुनेछ। यसमा चार जना ग्याङ लिडर हुनेछन्, जसले आफ्नो टिमलाई जिताउन प्रयास गर्नेछन्।
कार्यक्रमको होस्ट रुपमा रेमनदास श्रेष्ठ हुनेछन्। उनी चौथो सिजनसम्म होस्ट रुपमा थिए। पहिलो सिजनदेखि नै ग्याङ लिडरको रुपमा रहेका आशिष राना लाउरे, दीया मास्के, सिजन ३ देखि निरन्तर अनुपविक्रम शाही र गत सिजनदेखि अनुबन्धित प्रियंका कार्की यसपटक पनि छन्।
निर्देशक सिमोस सुनुवारले यसपटक चारजना ग्याङ लिडरको टिमबाट रोचक प्रतिस्पर्धा गराइएको बताए। जंगलको थिममा कार्यक्रम निर्माण भएको हुँदा जर्नी राउण्डको सबैजसो एपिसोड जंगल सर्भाइभलमा आधारित रहेको र अघिल्ला सिजनभन्दा निकै रोमाञ्चक बनेको उनको भनाइ छ।
शोका लागि पाँच हजार भन्दा धेरै आवेदकबाट उत्कृष्ट प्रतिभालाई छानिएको छ। एमटीभी इण्डियाको संरचनामा आधारित भएर २०७५ सालदेखि नेपालमा प्रसारण भएको हिमालय रोडिज सिजन ६ सम्म यात्रा गर्ने पहिलो फ्रेन्चाइज रियालिटी शो हो।





प्रतिक्रिया