न्यू योर्क। मेयर चुनाव नजिकिँदै गर्दा बुधबार राति न्यूयोर्क सिटीका तीन प्रमुख उम्मेदवारबीच भएको अन्तिम टेलिभिजन बहस असाधारण रूपमा तातियो।
डेमोक्र्याटिक उम्मेदवार जोह्रान माम्दानी, स्वतन्त्र एन्ड्रु कुमो, र रिपब्लिकन कर्टिस स्लिवा सहभागी भएको बहसमा आरोप–प्रत्यारोप, व्यङ्ग्य र तीखा टिप्पणीहरू लगातार आदानप्रदान भए। वर्तमान मेयर एरिक आडम्स, जसले केही हप्ता अघि उम्मेदवारी फिर्ता लिएका थिए, स्पेक्ट्रम न्यूज एनवाई वानद्वारा आयोजित बहसमा सहभागी भएनन्।
तेजिलो सुरुवात र काडा प्रहार
स्लिवाले सुरुवातमै “यो ‘अस भर्सेस देम’ हो,” भन्दै माम्दानी र कुमोलाई एउटै पक्षमा उभ्याए। माम्दानीले दुबै प्रतिद्वन्द्वी नयाँ नीति प्रस्तुत गर्नुभन्दा एकअर्कालाई दौडबाट हटाउने प्रयासमा मात्रै केन्द्रित भएको भन्दै प्रतिवाद गरे।
कुमोले भने, मामदानिसँग नयाँ दृष्टि नभएको र उनले “पूर्व मेयर बिल दी ब्लासजयोका पुराना योजना कपि गरेको” आरोप लगाए। मामदानिले उत्तर दिए, “मसँग भावी योजना छन् र मेरा प्रतिद्वन्द्वीहरू त्यसबाट डराएका छन्।”
इमिग्रेशन र ट्रम्प प्रसंगमा जोडदार घोचपेच
इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) को छापाबारे कुमोले संघीय सुरक्षा अधिकारीहरूले सडक व्यवसायी वा साना अपराधमा केन्द्रित हुनु अनुचित भएको बताए। उनले भने, “मैले भए डोनाल्ड ट्रम्पलाई सिधा फोन गरेर आईसको कारवाही घटाउन आग्रह गर्थें।” स्लिवाले भने, “म ट्रम्पसँग नेगोसिएसन गरेर सहरका लागि राम्रो ‘डिल’ निकाल्ने प्रयास गर्थें।”
दुवैको भनाइमा माम्दानीले टिप्पणी गरे, “कुमो त ट्रम्पकै पपेट हुन्।” कुमोले प्रत्युत्तर दिए, “ट्रम्प माम्दानीलाई नै जिताउन चाहन्छन् ताकि उनी सहरमा हस्तक्षेप गर्न सकून्, माम्दानीको जीत ट्रम्पको सपना हो।”
बेघर विद्यार्थी र आवास समस्या
चर्चा सहरका १ लाख ५० हजार बेघर विद्यार्थीतिर मोडियो। माम्दानीले भने, “शेल्टरमा रहेका परिवारहरू र सिटीका कर्मचारीबीच नियमित सम्पर्क कायम गराउने कार्यक्रम दोब्बरले विस्तार गरिनेछ।”
कुमोले भने, “मैले पद छोडेपछि होमलेस दर दोब्बर भएको छ,” तर उनले प्रमाण दिएनन्। स्लिवाले व्यङ्ग्य गरे, “तपाईंले पद छोड्नुभएको होइन। तपाईं त महाभियोगबाट भाग्नुभएको हो।,” ब्यङ्ग्यले हलभरि हाँसो गुन्जियो।
माम्दानीले आवासबारे भने, “म रेन्ट फ्रिज गर्नेछु र घरधनीहरूलाई पनि राहत दिनेछु।” कुमोले जवाफ दिए, “मेयरको सिधा अधिकारमै रेन्ट फ्रिज पर्दैन किनकि त्यो रेन्ट गाइडलाइन बोर्डको क्षेत्र हो।” माम्दानीले प्रतितर्क गरे, “यदि तपाईंलाई त्यस्तो मेयर चाहिएको छ जसले केवल गर्न नसक्ने कुरा बताउँछ भने, कुमो तपाईंका उम्मेदवार हुन्।”
धर्म, आस्था र आरोप
कुमोले माम्दानीमाथि जुइश समुदायविरुद्ध ‘होस्टाइल’ भएको आरोप लगाउँदै ६५० जना जुइश धर्मगुरु (रब्बी)हरूको पत्र उद्धृत गरे, जसमा मामदानिले “जुइशहरूको सुरक्षा र मर्यादामा खतरा पुर्याएको” भनिएको थियो। स्लिवाले अझ कडा टिप्पणी गर्दै मामदानिलाई “ग्लोबल जिहादका समर्थक” भने।
माम्दानीले कडा प्रतिक्रिया दिँदै भने, “मैले कहिल्यै, एकपटक पनि, ग्लोबल जिहादको समर्थन गरेको छैन।” उनले थपे, “म जुइश बालबालिकाको सुरक्षाको जिम्मा लिनेछु र विद्यालयमा जुइश इतिहासबारे नयाँ पाठ्यक्रम विस्तार गर्नेछु, ताकि विद्यार्थीहरूले जुइश जीवनको सुन्दरता र विविधता बुझून्।”
तीनै उम्मेदवारले भने, निर्वाचित भए पनि पुलिस कमिश्नर जेसिका टिश लाई पदमा कायम राखिनेछ।
चर्को वाकयुद्ध र व्यङ्ग्य
बहसको मध्य भागमा माम्दानी र कुमोबीच अझ चर्को विवाद भयो। कुमोले भने, “तपाईंले सरकार चलाउन जान्नुभएको छैन, न त आपतकालीन स्थिति सम्हाल्न।” स्लिवाले बीचमा हस्तक्षेप गर्दै भने, “तपाईंहरू त स्कुलका बच्चाजस्तै झगडा गर्दै हुनुहुन्छ।”
उनले ले दुबैलाई व्यङ्ग्य गरे। माम्दानीलाई भने, “तपाईंको रिजुमे ककटेलको टिस्युमा अटाउँछ।” उनले कुमोलाई भने, “तपाईंका असफलताले पूरा पब्लिक स्कूल लाइब्रेरी भरिन्छ।” त्यसपछि संयोजक एरोल लुइस ले चेतावनी दिँदै भने, “कृपया नियम सम्झनुहोस्, एकअर्काको कुरा काट्नु बन्द गर्नुहोस्।”
स्लिवाले आफ्ना छोरा ‘ग्याङ भायोलेन्स’ को सिकार भएको उल्लेख गर्दै भने, अपराधीहरूलाई जुभिनाइल ल अन्तर्गत “सिम्बोलिक” सजाय दिएर उन्मुक्ति दिइएको बताए। मानसिक स्वास्थ्यबारे छलफलका क्रममा कुमोले व्यङ्ग्य गरे, “म स्लिवाका लागि एउटा साइकियाट्रिक बेड जोहो गर्नेछु।”
आडम्स, यौन उत्पीडन र पुराना घाउहरू
एरिक आडम्सको ‘इन्डोर्समेन्ट' स्वीकार्ने भनेर सोद्धा कुमोले “हो” भने। माम्दानी र स्लिवाले अस्वीकार गरे। स्लिवाले भने, “कदापि स्वीकार्दिन, त्यो भ्रष्ट मानिसलाई जेल पठाउनुपर्छ।”
माम्दानीले त्यसपछि कुमोमाथि यौन उत्पीडनका आरोप उठाउँदै भने, “तपाईंले १३ महिलालाई सेक्सुअली हरास गर्नुभयो, त्यसमध्ये एक चार्लोट बेनेट यही उपस्थित छिन्। के भन्नुहुन्छ?”
कुमोले भने, “माम्दानी अपरिपक्व छन्। मुद्दा ड्रप भइसकेका छन्।” तर केही कानुनी प्रक्रिया अझै सकिएको छैन।
त्यही बेला कुमोकी पूर्व सहयोगी लिन्ड्सी बोयलान ले ‘एक्स’ मा लेखिन्: “म ती महिलामध्ये एक हुँ। मलाई कुमोले वर्षौँसम्म कानुनी रूपमा सताएका छन्। अब उनी मेयर बन्न चाहन्छन्। शेम अन यू, कुमो। र धन्यवाद माम्दानी, तपाईंले यो अन्यायबारे खुलेर बोलेकोमा।”
राइकर आइल्याण्ड, विकास र तलब नीति
राइकर आइल्याण्डबारे माम्दानीले भने, “यो सिटीको इतिहासमा एउटा कलङ्क हो।” उनले राइकर आइल्याण्ड २०२७ भित्र बन्द गर्ने लक्ष्य दोहोर्याए। कुमो र स्लिवाले विरोध गर्दै भने, “राइकर आइल्याण्डले सात हज़ार अपराधीबाट सहरलाई मुक्त गर्नेछ।”
कुमोले आफ्ना पूर्वाधार परियोजना सेकेन्ड एभिन्यु सबवे र मारियो कुमो ब्रिज उल्लेख गर्दै आफूसँग अनुभव बताए।
माम्दानीले प्रत्युत्तर दिए, “हामीले तपाईंको अनुभव भोगेका छौं; समस्या तपाईंको अनुभव नै हो।” माम्दानीले न्यूनतम तलब प्रति घण्टा ३० डलर पुर्याउने योजना अघि सारे। स्लिवाले प्रतिक्रिया दिए, “मामदानि स्वैरकल्पनामा बाँच्छन्, यथार्थमा होइन।”
माम्दानीले सार्वजनिक बस निःशुल्क बनाउने योजना पनि प्रस्तुत गरे। तर कुमोले भने, “त्यो त धनीहरूका लागि अनुदान हुनेछ।”तीनै उम्मेदवारले २०२८ को राष्ट्रपति चुनावमा कसलाई समर्थन गर्ने भन्ने प्रश्नको जवाफ दिन अस्वीकार गरे। विवाद, व्यङ्ग्य र आरोप–प्रत्यारोपले भरिएको यो अन्तिम बहस सुरुको बहसजस्तै तिखो र विवादपूर्ण ढङ्गमा समाप्त भयो।




प्रतिक्रिया