न्यू योर्क । एसेम्बली मेम्बर जोह्रान माम्दानीले न्यूयोर्क सिटीको मेयरको प्रतिस्पर्धाको लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा औपचारिक रुपमा उम्मेद्धार घोषणा गरेका छन् ।
जोह्रानले बुधबार क्वीन्सस्थित लङआइल्याण्ड सिटीबाट आफ्नो चुनाबी अभियानको शुरुवात गर्दै आगमी जुन २४ मा हुने निर्वाचनको लागि उम्मेद्धारको औपचारिक घोषणा गरेका हुन् । विश्वकै सुविधा सम्पन्न सहर न्यूयोर्कमा रहेर पनि यहाँका कामकाजी वर्गको जीवनस्तर अत्यन्तै कष्टकर बन्दै गएको भन्दै कामकाजी वर्गको जीवनस्तर परिवर्तनको लागि आफ्नो उम्मेद्धारी भएको जोह्रानले उद्घोष गरेका छन् । गरिववर्गको हितमा काम गर्छु भन्ने वर्तमान मेयर एरिक आडम्स धनीवर्गको मात्र हितमा लिप्त बन्दै गएको भन्दै उनले न्यूयोर्क सिटीलाई न्यूयोर्क बनाउने वास्तविक जनताको हितको लागि आफु लड्दै आएको र यसैको लागि मेयर पदमा उम्मेद्धारी दिएको बताए ।
आफ्नो राजनीतिमा कामकाजी वर्ग केन्द्रमा रहने प्रतिबद्धता व्यक्त गर्दै जोह्रानले न्यूयोर्कको कामकाजी वर्गलाई चाइल्ड केयरको सुविधा दिलाउनु, बस यात्रालाई सहज र सित्तैमा बनाउनु, घरभाडा फ्रिज गर्नु जस्ता जनताको एजेण्डा लिएर आफु चुनाबी मैदानमा होमिएको बताए । आधाभन्दा बढी न्यूयोर्क सिटीका बासिन्दाहरु आफ्नो पे चेकको आधा रकम घरधनी र बैंकमा बुझाउन बाध्य रहेको, लाखौं बालबालिकाहरु भोकै रहने गरेको र आधाभन्दा बढी न्यूयोर्कबासीहरुले मासिक खर्च धान्ने गरी आम्दानी गर्न नसक्ने अवस्था रहेको उनले बताए । केही सिमित वर्ग भने मिलिनियर हुँदै गएको तर कामदार वर्गको जीवन झनझन कष्टकर बन्दै गएको उनले बताए । न्यूयोर्क सिटीमा बस्ने जनताको जीवन त्यस्तो हुन नहुने भन्ने आफ्नो मान्यता रहेको भन्दै आफ्नो उम्मेद्धारी यही अवस्थाको अन्त्यको लागि भएको माम्दानीले जिकिर गरे । वर्तमान मेयर एरिक आडम्सले रेन्ट वृद्धि गर्ने, पानीको महशुल बढाउने, कामदार वर्गलाई सुविधान दिनुपर्ने क्षेत्रको भने बजेट कटौती गरेको जस्ता कामहरुले गर्दा नागरिकको जीवन कष्टकर बन्दै गएको उनले बताए ।
आफु एसेम्बली मेम्बर हुने बेलामा पनि कामदार वर्गकै पक्षमा काम गरेको सुनाउदै आफ्ना उदेश्य अनुरुपका काम गरेर देखाउन मेयर पदमा उम्मेद्धारी दिएको उनले बताए ।
त्यसअघि जोह्रानको उम्मेद्धारीलाई समर्थन गर्दै एनवाइसी डिएसएका पूर्व उपाध्यक्ष जेरिमी कोहेनले न्यूयोर्क सिटीमा असमानता वृद्धि हुदै गएको र यसबाट कामदार वर्ग धेरै पिडीत हुदै गएको बताए । यही असमानताको अन्त्यको लागि जोह्रान माम्दानीको उम्मेद्धारी रहेको उनले उल्लेख गरे । यसैगरी एनवाई सीसीका जेम्स जेनिस, सीएएएभी भ्वाइसका पुतुल बेगम र ड्रम बिट्सका अनुराधाले पनि कामकाजी वर्गको हितको लागि सक्रिय रहँदै आएका एसेम्बली मेम्बर जोह्रान माम्दानीलाई मेयर पदको लागि विजयी बनाउनु पर्ने बताएका थिए ।
जोह्रानले आफ्नो चुनाबी अभियान शुरु गरेको पहिलो दिनमा नै बुधबार ९५ हजार डलर सहयोग जम्मा भएको बताइएको छ । जोह्रान बाहेक अन्य चार जना डेमोक्रेट नेताहरुले मेयरको लागि प्रतिस्पर्धा गर्ने भन्दै पार्टीको प्राइमेरी निर्वाचनमा उम्मेद्धारी घोषणा गरिसकेका छन् । हालका मेयर एरिक आडम्सले समेत मेयर पदमा पुनः दोहोर्याउने दावी गरिसकेका छन् । यद्धपि भ्रष्टाचारको अभियोग लागेको कारण आडम्सको दावी भने अझै अन्योलमा छ ।






प्रतिक्रिया