न्यू योर्क। अक्टोबर १ देखि भएको सङ्घीय सरकार बन्दको सेरोफेरोमा सीएनएनले डेमोक्रेटिक पार्टीका मुख्य घटकका रूपमा चिनिएका अमेरिकी सिनेटर बर्नी स्यान्डर्स र काङ्ग्रेसवुमन अलेक्जान्द्रिया ओकासियो–कोर्टेज (एओसी) सँग छलफल गर्यो। सीएनएनको उक्त टाउनहल छलफल कार्यक्रममा प्रगतिशील राजनीतिज्ञद्वय स्यान्डर्स र एओसीले सङ्घीय सरकार बन्द हुनुको दोष रिपब्लिकनहरूलाई दिए । उनीहरूले आफ्नै पार्टीका नेताहरूको कमजोर अडानप्रति पनि असन्तुष्टि जनाए । करिब डेढ घण्टाको कार्यक्रममा दुबै दलबीच सरकार पुनः खोल्ने विषयमा गहिरो दूरी स्पष्ट देखियो । कुराकानीको सारांश यहाँ प्रस्तुत गरिएको छ:
स्याण्डर्स-एओसीको सन्देश:
- सरकारको बजेट पारित गर्नुअघि स्वास्थ्य बीमा सहयोग स्थायी रूपमा सुनिश्चित गरिनुपर्छ ।
- रिपब्लिकनहरूको निष्क्रियता नै बन्दको मुख्य कारण हो ।
- डेमोक्र्याटिक नेताहरूले पनि एकताबद्ध भएर प्रगतिशील नीतिहरूलाई समर्थन गर्नुपर्छ ।
- सरकार चाँडै खोलिनुपर्छ। बन्दको मूल्य जनताको स्वास्थ्य सुरक्षामा सम्झौता गरेर तिर्नु हुँदैन ।
मुख्य विवाद
स्यान्डर्स र एओसीले रिपब्लिकनहरूले ‘अफोर्डेबल केयर एक्ट (ओबामाकेयर)’ अन्तर्गतका स्वास्थ्य बीमा सहायता (सब्सिडी) नथपिए भने अमेरिकी स्वास्थ्य प्रणाली ढल्न सक्ने चेतावनी दिए। उनीहरू रिपब्लिकनहरूले सरकारको नीति तथा कार्यक्रमबाट हटाएका अफोर्डेबल केयर एक्ट (ओबामाकेयर) अन्तर्गतका ती स्वास्थ्य बीमा सहायता (सब्सिडी) सहायता लामो समयका लागि कानुनी रूपमा सुनिश्चित गर्न चाहन्छन। उनीहरू यसलाई पछि थप्ने वाचा वा छोटो अवधिको विस्तारमा सहमति जनाउने पक्षमा छैनन।
उनीहरूले अफोर्डेबल केयर एक्टको समय नथपे स्वास्थ्य विमाको ‘प्रिमियम’ रकम दोब्बर हुन सक्ने बताएका छन। यसले लाखौं अमेरिकीले बीमा गुमाउन सक्छन् भन्ने उनीहरूको तर्क छ। रिपब्लिकनहरूले भने सरकार पहिले खोलिनुपर्छ, त्यसपछि मात्र स्वास्थ्य नीतिबारे कुरा गर्न सकिन्छ भन्छन्। रिपब्लिकनहरू अहिलेको अवस्थामा ओबामाकेयरका विषयमा छलफल गर्न इच्छुक छैनन्।
प्रगतिशीलहरूको माग
- एओसीले खाली वाचा वा अस्थायी सम्झौता नस्विकार्ने बताइन्। उनले स्पष्ट कानुनी प्रस्ताव पारित हुनुपर्ने माग गरिन् ।
- स्यान्डर्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको वाचा अविश्वसनीय भएको भन्दै व्यङ्ग्य गरे ।
- दुबै जना अफोर्डेबल केयर एक्टको एक वर्षका छोटो विस्तार प्रस्ताव अस्वीकार गर्छन्। यसले प्रिमियम बढ्ने र असर आगामी चुनावपछि धकेल्ने मात्र काम गर्ने उनीहरूको भनाइ छ।
रिपब्लिकनहरूको प्रतिक्रिया
रिपब्लिकन नेताहरूले यी मागलाई उपहासपूर्वक अस्वीकार गरेका छन। ह्वाइट हाउसले त पत्रकारहरूलाई पठाएको इमेलमा लेखेको छ: ‘डेमोक्र्याटिक बन्दका कारण कर्मचारी अभाव भएकोले ढिलो प्रतिक्रिया हुन सक्छ । डेमोक्र्याटहरूले स्वच्छ खर्च प्रस्तावमा मतदान गरेका भए यो संकट टार्न सकिन्थ्यो।’
जनस्तरमा पर्ने असर
संघीय सरकारका कर्मचारीहरूले तलब पाउन छोडेका छन् । यस सन्दर्भमा स्यान्डर्स र एओसीलाई पीडित कर्मचारीहरूले कठिन प्रश्न सोधेका छन। चार सन्तान भएका एक कर्मचारीले परिवार कसरी पाल्ने भन्ने चिन्ता व्यक्त गरे भने अर्की महिलाले घरको किस्ता तिर्न नसक्दा बेघर हुने जोखिममा रहेको बताइन।
जवाफमा एओसीले भनिन्, ‘हाम्रो उद्देश्य सरकारलाई लामो समय बन्द राख्नु होइन, सकेसम्म चाँडो समाधान खोज्नु हो ।’ तर उनले स्वास्थ्य सुरक्षाको मुद्दा सम्झौता गरेर हल खोज्न नमिल्ने पनि दोहोर्याइन।
एओसी र शुमरबीच ‘अफवाह’
रिपब्लिकनहरूले सेनेटका नेता चक शुमरले सरकार बन्दमा कडा अडान लिनुको कारण उनी २०२८ मा एओसीले दिने सम्भावित चुनौतीबाट डराउनु हो भनिरहेका छन् । यससम्बन्धी प्रश्न ‘पूर्ण रूपमा हास्यास्पद’ भन्दै एओसीले खण्डन गरिन। उनले भनिन्, ‘रिपब्लिकनहरू आफ्नै काम नगरेर अरूको चरित्र हत्या गर्न खोजिरहेका छन् ।’
तर उनले स्पष्ट रूपमा २०२८ मा उम्मेदवारी नदिने भनेकी छैनन् ।स्यान्डर्सले छलफलको बीचमै हस्तक्षेप गर्दै भने—‘गफ होइन, वास्तविक समस्याबारे कुरा गरौँ । असमानता, आवास अभाव र जलवायु संकटबारे ध्यान दिऔँ।’
स्पिकर माइक जोनसनको तीव्र आलोचना
एओसी र स्यान्डर्स दुबैले प्रतिनिधिसभाका स्पिकर माइक जोनसनको तीव्र आलोचना गरे । ‘मैले यति धेरै काम गर्न मन नपराउने मानिस कहिल्यै देखेकी छैन,’ एओसीले भनिन्।
उनले जोनसनले सदनलाई चार सातादेखि स्थगित गरेर जेफ्री एपस्टिन सम्बन्धी फाइल सार्वजनिक गर्नुपर्ने मतदान टारिरहेको आरोप लगाइन्।
आफ्नै पार्टीप्रतिको आलोचना
स्यान्डर्सले आफ्नै पार्टीका दुई शीर्ष नेता चक शुमर र हकिम जेफ्रीसको न्यूयोर्क सिटीका मेयरका उम्मेदवार जोहरान मम्दानीलाई समर्थन नगरेको भन्दै खुलेर आलोचना गरेका छन।’मन नपर्ने कुरा के छ? उनी उत्कृष्ट उम्मेदवार हुन् । हकिम, यो कार्यक्रम हेर्दै हुनुहुन्छ?’
एओसीले शान्त तर स्पष्ट प्रतिक्रिया दिइन्। ‘प्राथमिक चुनाव सकिएपछि पार्टीको उम्मेदवारलाई समर्थन गर्नु उचित हुन्छ,’ उनले भनिन, ‘अझ पनि ढिलो भएको छैन।’




प्रतिक्रिया