२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

समाचार विश्लेषणः न्यू योर्क सिटी मेयर पदको आम निर्वाचन बहस

समाचार विश्लेषणः न्यू योर्क सिटी मेयर पदको आम निर्वाचन बहस

न्यू योर्क। न्यू योर्क सिटी मेयर पदको आगामी आमनिर्वाचनको  बहस अक्टोबर १६ मा भयो। न्यू योर्क सिटी क्याम्पेन फाइनान्स बोर्ड (एनवाईसीसीएफबी) र विभिन्न सञ्चारमाध्यमहरूले संयुक्त रुपमा आयोजना गरेको उक्त सार्वजनिक बहसमा उम्मेदवारहरूबीच अपराध, आवास, यातायात, कर नीति तथा मध्यपूर्वीय राजनीतिक विषयमा स्पष्ट मतभेद देखियो। 

बहस पश्चात् प्रकाशित अधिकांश सञ्चारमाध्यमको  विश्लेषण अनुसार जोहरन माम्दानीले बहसमा उल्लेखनीय सन्तुलन, तयारी र संयमता प्रदर्शन गरे। द गार्डियन र सीबीएस न्युजले एन्ड्र्यू कुमो र कर्टिस स्लिवाले गतिलै प्रहार गरे पनि बहसको धार परिवर्तन गर्न नसकेको विश्लेषण गरेका छन्। माम्दानीको प्रमुख पक्ष भनेको संयम रहनु, आत्मविश्वासी देखिनु र सन्तुलित प्रस्तुति दिनु हो। उनले मूलतः सन्देश प्रवाहमा केन्द्रित रहँदै ‘आवास, निःशुल्क बस सेवा, तथा श्रमिकमैत्री नीति’ जस्ता मुद्दाहरूमा जोड दिए। आलोचकहरूले समेत उनलाई संयमित र विषयकेन्द्रित उम्मेदवारका रूपमा उल्लेख गरेका छन्।

कुमोको बलियो पक्ष काम गरेको अनुभव र कार्यान्वयन क्षमता देखियो। उनले पटकपटक दोहोर्‍याए, 'शहरले अनुभवविहीन मेयर वहन गर्न सक्दैन।' उनले माम्दानीलाई बजेट र खर्चका विवरणमा प्रश्न गरेर अप्ठ्यारोमा पार्न खोजे। फक्स न्युजका अनुसार उनको 'यो (मेयर पद) फस्ट टाइमरले गर्ने काम होइन' भन्ने भनाइ रातकै चर्चित अभिव्यक्ति बन्न पुग्यो। तथापि, कुमोलाई आफ्ना कोभिड–१९ नर्सिङ होम नीति र गभर्नर पदबाट राजीनामा सम्बन्धी विवादबारे प्रश्नको बचाउ गर्नुपर्ने अवस्थाले कमजोर बनायो। यी विषयमा माम्दानीले कुमोको विश्वसनीयता र नैतिकतामा प्रश्न उठाउँदै बहसको दिशा आफ्नो पक्षमा मोड्न सफल देखिएको फक्स न्युजको ठम्याइ छ।

स्लिवाले ‘कानून र सुरक्षा’ का मुद्दामा तीखा र स्पष्ट अभिव्यक्तिहरू दिए। अधिक प्रहरी भर्ना, कडा सुरक्षा नीति, र अपराधविरुद्ध कठोर दृष्टिकोण र आफूलाई दुवै प्रतिस्पर्धी विरुद्ध सशक्त रूपमा प्रस्तुत गरे। तथापि, अधिकांश मिडियाले उनलाई “क्षणिक प्रभाव पार्ने तर दीर्घकालीन समर्थन जुटाउन नसक्ने” उम्मेदवारका रूपमा चित्रण गर्‍यो।

सार्वजनिक सुरक्षाको विषयमा उम्मेदवारहरूबीचमै तीव्र मतभेद देखा पर्‍यो। माम्दानीले मानसिक स्वास्थ्य केन्द्रित सुधार र लक्षित पुनर्संरचनामा जोड दिए। कुमोले थप प्रहरी भर्ती र व्यवस्थापन दक्षताको पक्ष लिए। स्लिवाले बलियो प्रहरी संयन्त्र र कडा सुरक्षाको माग गरे।

आवास र जीवनयापन खर्च सम्बन्धी छलफलमा कुमोले “भाडा घटाउनुपर्छ” भन्दै ममदानीका वाचा राजस्वका हिसाबले अव्यावहारिक रहेको टिप्पणी गरे। स्लिवाले खर्च नियन्त्रण र कानूनी कार्यान्वयनमा जोड दिए, भने माम्दानीले वृहद् सस्तो आवास निर्माण र नागरिक सुरक्षाको कार्यक्रम अघि सारे।

यातायातको प्रसङ्गमा ममदानीको ‘निःशुल्क बस सेवा’ प्रस्ताव बहसको केन्द्रमा रह्यो। उनले यसलाई यात्रु–मैत्री र समानतामूलक नीति भन्दै बचाउ गरे। कुमोले यसलाई व्यावहारिक नभएको अभिव्यक्ति दिए, जबकि स्लिवाले यसको लागत र दीर्घकालीन सम्भावनामा चिन्ता व्यक्त गरे।

उम्मेदवारहरूबीच कर र व्यापारिक वातावरणका विषयमा पनि स्पष्ट मतभेद देखा पर्‍यो।

ममदानीद्वारा प्रस्तावित कर वृद्धिले लगानीकर्ता हतोत्साहित हुन सक्ने चेतावनी आलोचकहरूले दिएका थिए। विदेशनीतिसमेत बहसको मुख्य एजेन्डा बन्न पुग्यो। गाजाको विषयमा तीव्र बहस चल्यो—ममदानीले युद्धविराम र मानवीय सहायता माग गरे।  कुमोले उनलाई हमासको कडा निन्दा गर्न दबाब दिए। स्लिवाले दुवैलाई दक्षिणपन्थी दृष्टिकोणबाट आलोचना गरे। पदको निर्वाचनमा जनमत प्रभावित पार्ने भएकाले निर्वाचन अघि हुने यो सार्वजनिक वहशलाई महत्वका साथ हेरिन्छ।

फोटोः एआई

प्रतिक्रिया