न्यू योर्क। नेपाली अमेरिकन कलाकार संघले क्रिसमस तथा नयाँ बर्षको उपलक्ष्यमा साँगीतिक कार्यक्रम रमझम साँझ २०२४ आयोजना गरेको छ। कलाकार संघले डिसेम्बर २८, २०२४ मा ज्याक्सन हाइटमा अवस्थित गुल्सन टेरेशमा रमझम साँझ आयोजना गरेको हो।

संघले रमझम साँझ दोस्रो पटक आयोजना गरेको हो। कार्यक्रममा सुगम संगीतका लोकप्रिय गायक राजेश पायल राई कार्यक्रमको मुख्य आकर्षण थिए।नेपाली कला र संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले ज्याक्सन हाइटको गुल्सन टेरेशमा भएको कार्यक्रममा विभिन्न कलाकारहरु नेपाली गीत तथा नृत्य प्रस्तुत गरे।
नेपाली गीत संगीतका पारखीहरु र न्यू योर्कका रहेका नेपाली समुदायलाई एकै ठाउँमा ल्याउन सांस्कृतिक कार्यक्रममले महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। नेपाली गीत संगीतलाई माया गर्ने र सांस्कृतिक पहिचानको सम्मान गर्दै कार्यक्रमलाई सफल बनाउन उपस्थित सबै दर्शकहरूले महत्वपूर्ण भूमिका खेलेको नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष बसन्ती राइको भनाइ छ । संघका महासचिव संगीता थापा मगर र दिलीप शिरीष मगरले कार्यक्रमको सन्चालन गरेका थिए। सन्चालकद्धयको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र जीवन्त बनाएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि लोकप्रिय गायिका सपना श्रीले गरे। संघका वरिष्ठ उपाध्यक्ष बिमल डाँगीले उपस्थित दर्शक तथा अतिथीहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए। वरिष्ठ उपाध्यक्ष डाँगीले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रष्ट पारेका थिए। प्रस्तुतिहरुले उपस्थित दर्शकहरूको मन जित्न सफल भएको वरिष्ठ उपाध्यक्ष डाँगीले बताए। संरक्षक निसा सुनारले नेपाली सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनमा कार्यक्रमको भूमिका र योगदानलाई सम्मान गर्दै सबै सहभागीलाई धन्यवाद व्यक्त गरिन्। संघकी अध्यक्ष बसन्ती राईले कार्यक्रमको महत्वलाई प्रष्ट्याउँदै सफल बनाउन सहयोग गर्ने उपस्थित सबैलाई आभार व्यक्त गरिन्।
कार्यक्रममा न्यूयोर्कका मेयर एरिक आडम्सको कार्यालयबाट महागायक राजेश पायल राई र संघकी अध्यक्ष बसन्ती राईलाई विशेष सम्मान प्रदान गरिएको थियो। नेपाली संगीत क्षेत्रमा राईद्धयले गरेको योगदान तथा समाज सेवामा पुर्याएको योगदानको कदर स्वरूप सम्मान प्रदान गरिएको हो। प्रेम सेन्चुरीको “हे जननी अब बुद्ध जन्माईदेऊ” र दिनेश सुनारको “पार्कर” प्रस्तुतिले कार्यक्रमको शुरुवातको वातावरण केही समय अत्यन्तै भावुक बनाएको थियो। राजन ठकुरीको एकल गायनले सारा हलमा सबैलाई भावनामा डुब्न बाध्य बनाएको थियो । युनाइटेड किराँत राई अर्गनाइजेशनको परम्परागत नृत्य र मगर संघ न्यूयोर्क च्याप्टरको सांस्कृतिक प्रस्तुति दर्शकहरूले अत्यन्तै रुचाए। कार्यक्रमका प्रमुख आकर्षण महागायक राजेश पायल राईको विशेष प्रस्तुति थियो। राइ इज किङले चर्चित गीतहरू प्रस्तुत गर्दा हलमा उपस्थित सबै दर्शकले गायक राईसँगै गाएर हलमा अझ उत्साहको माहोल सिर्जना गरेको थियो। गायक राईका गीतहरूले उपस्थित सबैलाई नाच्न र गाउन प्रेरित गरी कार्यक्रममा थप रौनकता थपेको थियो।
शंकर बिसी र पार्वती राईको बजोडको नृत्य अर्को आकर्षण थियो । त्यसैगरी, शिव विक र ऊषा लामाको जोडीले नेपाली परम्परागत नृत्यको साथ आधुनिक नृत्य प्रस्तुत गरेको थिए। सृजना बिरही थापाको गीत र रश्मी तामाङको नृत्यले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो। सृजनाले नेपाली लोक संगीतमा भावनाको गहिराइमा डुबेर प्रस्तुती गरे। रश्मी तामाङले नेपाली परम्परागत नृत्य र समकालीन शैलीको उत्कृष्ट नृत्य, प्रस्तुत गरिन्। नेपाली संगीत र समाजसेवामा गरेको योगदानको कदर गर्दै गायक अभय ढुंगेल र गायिका संगीता मुखियालाई लाईफटाइम सम्मान प्रदान गरे । सम्मानित दुवै जनालाई सम्मानपत्र, प्रशंसा चिन्ह र नगद पुरस्कार प्रदान गरेका थिए। कार्यक्रमको समापन डीजे राजाको प्रस्तुत संगीतसँगै भएको थियो । डीजे पार्टीमा हलमा उपस्थित सबै जना उल्लासमय वातावरणमा झुमेका थिए।

निर्धारित समयभन्दा ढिला सुरु भएको कार्यक्रममा राजेश पायलले आफ्ना चर्चित गीतहरु गाएर दर्शक नचाएका थिए। त्यस्तै लोक दोहोरी गीतमा पनि दर्शक झुमेका थिए। कार्यक्रममा कम्तिमा २५० दर्शक उपस्थित रहेको अनुमान छ।









प्रतिक्रिया