न्यूयोर्क । नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना )ले तिहारको अवसरमा देउसी–भैलो तथा राफल चिट्ठा कार्यक्रम आयोजना गरेको छ । क्वीन्सको ज्याकसन हाइटमा शनिबार भएको देउसी भैलो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा आदिवासी जनजाति महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा परम्परागत शैलीमा देउसी भैलो भट्याउनुकासाथै नेपाली गीतसंगीतमा सहभागीहरुले रमाइलो गरेका थिए ।

कार्यक्रममा फ्युनाका अध्यक्ष इन्दिरा चोङवाङले अमेरिकामा बसोबास गर्दै आएका आदिवासी जनजाति महिलाहरुको सशक्तिकरणको गतिविधिहरु गर्दै आएको फिवनाले नेपाली चाढपर्वहरुको अवसर पारेर भेटघाट तथा शुभकामना आदानप्रदन गर्ने गरेको बताए । उनले अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा समेत महिला उम्मेद्धार कमला ह्यारिस उम्मेद्धार रहेको चर्चा गर्दै नेपाली महिलाहरु पनि अब अमेरिकाको मूलधारको राजनीतिमा अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा युनाइटेड किराँत राई अर्गनाइजेसनका उपाध्यक्ष केशबराम राईले फिवनाले नेपाली चाढपर्वको अबसर पारेर भेटघाट तथा रचनात्मक गतिविधि संचालन गरेकोमा आभार व्यक्त गर्दै नेपाली महिलाहरु पनि अमेरिकाको मूलधारको राजनीतिमा अघि बढ्न सल्लाह दिए । यसैगरी फिवनाका कार्यसमिति सदस्य सरस्वती तामाङले फ्युनाले नेपाली चाढपर्वहरुको अबसरमा विभिन्न गतिविधि गरेर नेपाली परम्परा र संस्कृतिको बारेमा नयाँ पुस्तालाई जानकारी गराउने काम गरेको बताए । फिवनाका सचिव इन्दु लामिछानेले संचालन गरेको देउसी भैलो कार्यक्रममा सहभागीहरुले दक्षिणा प्रदान गरेका थिए । यस्तै सोही अवसरमा फिवनाले वार्षिक रुपमा संचालन गर्दै आएको राफल चिठ्ठा समेत खोलेको थियो ।
देउसी–भैलो कार्यक्रम र चिठ्ठा बिक्रीबाट संकलित रकमलाई नेपालमा विपन्न व्यक्ति तथा प्राकृतिक प्रकोपका पिडीतहरुको सहयोगमा प्रयोग गरिने फ्युनाले जनाएको छ ।







प्रतिक्रिया