न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले नेपालीहरुको विभिन्न चाडपर्वको अवसर पारेर विहीबार न्यूयोर्कमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
विजया दशमी, दीपावली, नेपाल संवत नयाँ वर्ष, छट, बलिहाम ताङनाम, ल्होछार, उभौली साकेला लगायतका नेपाली समुदायको चाडपर्वको अवसरमा पारेर फाउन्डेसनले क्वीन्सको उडसाइडस्थित आफ्नै कार्यालयमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । शुभकामना तथा चियापान कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा अगुवाहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा संघसंस्थाका पदाधिकारीहरु तथा समुदायका अगुवाहरुले स्वर्गिय गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा दिएको योगदानको चर्चा र स्मरण गरेका थिए । कोइरालाले नेपाली राजनीतिलाई निकासको लागि खेलेको भूमिका, सहमति र एकताका लागि लिने पहल अहिले सान्दर्भिक रहेका उनीहरुले बताएका थिए।
शुभकामना आदानप्रदान कार्यक्रममा फाउण्डेसनका कार्यबहाक सभापति सुवर्ण लामाले नेपाली राजनीतिका शिखर व्यक्तित्व स्वर्गिय गिरिजा प्रसाद कोइरालाको योगदानलाई चीर स्मरण गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताए । यसप्रकारको कार्यक्रमले परदेशमा पनि नेपाली समुदायको चाढपर्वको महत्वलाई जिवन्त राख्न सहयोग पुग्ने चर्चा गर्दै व्यस्त समयकावीच पनि कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया