१२ असोज २०८३, सोमबार
Mon, Sep 28, 2026
SUBSCRIPTION

एनवाई नेपाली काम पोष्ट र दारी क्लब युएसएद्धारा भोटेकोशी बाढीपीडितका लागि २१ लाख ४६ हजार बढी सहयोग

एनवाई नेपाली काम पोष्ट र दारी क्लब युएसएद्धारा भोटेकोशी बाढीपीडितका लागि २१ लाख ४६ हजार बढी सहयोग

न्यू योर्क । एनवाई नेपाली काम पोष्ट र दारी क्लब युएसएले नेपालको रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको सहयोगार्थ २१ लाख ४६ हजार ७ सय ९२ रुपैयाँ ८४ पैसा सहयोग गरेको छ । एनवाई नेपाली काम पोष्ट र दारी क्लब युएसएले संकलित रकम प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा डाइरेक्ट डिपोजिट गरेको एन वाई नेपाली काम पोष्टका एडमिन लेलिन कँडेलले जानकारी दिए । नेपालको भोटेकोशीमा अगष्ट २६ मा बाढी आएपछि प्रभावितहरुको लागि राहत र पुनस्र्थापनाका लागि एनवाई नेपाली काम पोष्ट र दारी क्लब युएसएले शुरुमा गोफण्डमी मार्फत आर्थिक सहयोग संकलन गरेको थियो ।नेपाल सरकारले विश्वको जुनसुकै ठाउँबाट पनि प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा राहत सहयोग डाइरेक्ट डिपोजिट गर्न सकिने जानकारी पछि एनवाइ काम पोष्ट र दारी क्लब युएसले सञ्चालन गरेको गोफण्ड मी बन्द गरेर संकलित रकम ९ लाख १७ हजार ९२ रुपैयाँ ८४ पैसा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको काम पोष्टका एडमिन लेलिन कँडेलले जानकारी दिए । त्यसपछि एनवाई नेपाली काम पोष्टले न्यू योर्कका एभ्रिथिङ फर नेपाल नामक दुई दिने  मेला आयोजना गरेर १२ लाख ४५ हजार रुपैयाँ आर्थिक संकलन गरेको थियो । मेलामा नेपाली उत्पादनका सामान तथा अन्य दैनिक उपभोग्य सामानहरु स्टलमा राखिएका थिए । कँडेलका अनुसार मेलामा सहभागी कतिपय व्यवसायीहरुले बिक्री भएका सामानबाट संकलित रकम डोनेसन गरेका थिए भने कतिपयले व्यवसायीले बिक्रीको १०० प्रतिशत रकम डोनेसन गरेका थिए । एनवाई काम पोष्टका एडमिन कँडेल न्यू योर्कमा रहेका नेपाली माझ लोकप्रिय छन् । अमेरिकामा रहेका नेपालीहरुको लागि काम, कोठा लगायत अन्य जानकारीमुलक सूचना दिने उद्देश्यले कँडेलले अन्य साथीहरुसँग मिलेर एनवाइ काम पोष्ट नामक  सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्दै आएका छन् । यो पेजमा अहिले ३८ हजार सदस्य रहेका छन् । कँडेल न्यू योर्कमा सञ्चालित चर्चित बार ठमेल एनवाईसीका सञ्चालक मध्येका एक सदस्य समेत हुन् । उनले एनवाइ काम पोष्ट तथा दारी क्लव युएसएमार्फत विभिन्न सामाजिक काम गर्दै आएका छन् । कँडेलले बाढी पीडितहरुको पुर्नस्थापना र सहयोगका लागि संकलित रकम दुई चरणमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा डाईरेक्ट डिपोजिट गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । कँडेलले आर्थिक सहयोग गर्ने सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया