न्यू योर्क । निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा अक्टोबर ४ र ५ मा न्यू योर्कमा पहिलो प्रदर्शनी हुँदैछ । नानु क्रियटिभ्स् मिडिया, इस्सेन्स स्माइल्स् र टिलिभ्सले चलचित्र पेन्सन पट्टा अक्टोबर ४ र ५ मा न्यू योर्कको उडसाइडमा अवस्थित द प्यालेसमा प्रदर्शन गर्न लागेको हो । अक्टोबर ४ मा दिनको १ बजे र अक्टोबर ५ मा साँझको ५ः३० बजे प्रदर्शन गरिने इस्सेन्स स्माइल्सका प्रोप्राइटर डा. सुलोचना गुरुङले जानकारी दिए । टिकट अनलाइन मार्फत र फिजिकल टिकट लिन सकिने छ ।
नानु क्रियटिभ्स् मिडिया र इस्सेन्स स्माइल्स्ले पेन्सन पट्टाको अमेरिकाभरी प्रदर्शनीको डिजिटल राइट पाएको छ । अमेरिकाका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । नानु क्रियटिभ्स् मिडिया, इस्सेन्स स्माइल्स् र टिलिभ्स इंकले लोकल सो गर्ने छ भने माया डिजिटल युएसएले बक्स अफिसको जिम्मा लिएको छ । इस्सेन्स स्माइल्सको सहकार्यमा नानु क्रियटिभ्स् मिडियाले वितरणको काम गर्ने छ भने प्रोमोटिङ पार्टनर टिलिभ्स इंक र माया डिजिटल युएसए रिलिज पार्टनर रहेका छन् । चलचित्रमा नायक दयाहाङ राई र नायिका गौमाया गुरुङको मुख्य भूमिका रहेको छ । साथै स्वर्गिय सुनिल थापा, पशुपति राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर, यसिली योक्खा, राज काउछा मगर, सुरज तमु, माया गुरुङ, विश्वास गुरुङ, मनिका गुरुङ, पुष्कर गुरुङ लगायत कलाकारको अभिनय रहेको छ । पेन्सन पट्टामा लाहुरे जीवन, गुरुङ संस्कृति र पारिवारिक वियाृगका कथा समेटिएको छ । पेन्सन पट्टाले अहिले सम्म ७ करोड बढी कमाइ गरी सकेको छ ।





प्रतिक्रिया