१४ साउन २०८३, बिहिबार
Thu, Jul 30, 2026
SUBSCRIPTION

प्रदेशको नाम जातिय र ऐतिहासिक पहिचानको आधारमा नामाकरण गरिनुपर्छ : पत्रकार बराल

प्रदेशको नाम जातिय र ऐतिहासिक पहिचानको आधारमा नामाकरण गरिनुपर्छ : पत्रकार बराल


न्यू योर्क। पत्रकार भवानी बरालले कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा किरात र लिम्बुवान जस्ता ऐतिहासिक पहिचानहरूलाई एक साथ जोडेर लैजानु आजको आवश्यकता भएको बताए । किरात याक्थुङ चुम्लुङ, अमेरिकाले गरेको लिम्बुवान आन्दोलनको वर्तमान अवस्था र भविष्य बिषयक अन्तरसंवाद कार्यक्रममा पत्रकार बरालले किरात र लिम्बुवान पहिचानबादीहरु एक साथ जोडेर लैजानु पर्ने बताएका हुन् । उनले भने प्रदेशको नाम जातिय र ऐतिहासिक पहिचानका आधारमा नामाकरण गरिनुपर्छ, कोशी कुनै मानव सभ्यताको इतिहास बोकेको नाम होइन।
कोशी प्रदेश नामाकरणको विरुद्धमा भएको आन्दोलनमा हिस्सेदारहरूबिचको आन्तरिक द्वन्द्वले नामको विषयमा कुरा नमिलेका कारण केही धक्का लागेको भए पनि आन्दोलनरत शक्तीहरू एक ढिक्का भएर साझा नाम प्रस्ताव गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ । 
लेखक तथा अभियन्ता बरालले लिम्बुवानको विगतको आन्दोलनले आंशिक संवैधानिक मान्यता प्राप्त गरेको अवस्था रहेको बताए । नेपाल सरकार र लिम्बूवान आन्दोलनरत पक्षबिच पटक पटक वार्ता र छलफलपछि सहमतिमा हस्ताक्षर भइसकेको उनको भनाई छ। राज्यको पुर्नसंरचना सम्बन्धी उच्चस्तरीय आयोगको प्रस्तावित ११ प्रदेशको खाका नै यसको प्रमुख आधार रहेको  उनको तर्क छ । 
संवादका क्रममा बरालले भने, नेपाल सरकार सँग भएको ६ बुँदे सहमतिमा लिम्बुवानको मुद्दालाई स्वीकार गरिएको छ, लिम्बुवानका २२ वटा स्वायत्त क्षेत्रहरूलाई कानुनी मान्यता दिइएको छ।
बरालले वर्तमान अवस्थामा लिम्बुवान लगायत आदिवासी र मधेसी समुदायका सबै प्रकारका आन्दोलनहरूको अवस्था नाजुक अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै वर्तमान राज्यसत्ताको चरित्रका कारण विगतका आन्दोलनबाट प्राप्त थोरै उपलब्धिहरू पनि गुम्ने खतरा बढेको बताए । 
बरालले भने, नेपालमा द्वन्द्वको कारण राज्यले पहिचानहरूको संरक्षण नगर्दा र विभिन्न जातिहरूको राष्ट्रिय भावनालाई सम्बोधन नगर्दा देशमा जातिय तथा धार्मिक द्वन्द्वहरू फैलिँदै गएको छ। 
कुनै पनि पहिचानलाई संकुचित पार्दा देश कमजोर हुने बताउँदै देशको राष्ट्रियतालाई बलियो बनाउने वास्तविक आधार नै सबै समुदायको पहिचानलाई सहर्ष स्वीकार गर्नु भएको बताए । 
कार्यक्रममा सहभागीहरुले आन्दोलनमा ठुलो लगानी भइसकेको उल्लेख गर्दै अब यो आन्दोलन कसरी अगाडि बढ्छ? साथै विभिन्न टुक्रा टुक्रामा विभाजित पहिचानवादी दलहरू र लिम्बुवान आन्दोलनको ऐतिहासिक पहिचानको संरक्षण गर्दै कसरी सबैलाई समेटेर लैजान सकिन्छ?भन्ने बारेमा चासो र चिन्ता व्यक्त गरेका थिए । 
पहिचानको आन्दोलनलाई नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने, वा नयाँ पुस्तालाई यो मुद्दा बुझाउने काममा हामी कहाँ चुकिरहेका छौँ? पहिचानविरोधी शक्तिहरूलाई किन परास्त गर्न सकिरहेका छैनौ ? भनेर जिज्ञासा राखेका थिए । पहिचानको आन्दोलन राजनीतिक आन्दोलन भएको हुनाले पहिचानवादीहरूको बलियो राजनीतिक शक्ती सशक्त रूपमा निर्माण गरेर सबै खाले समानतावादी पहिचानवादीहरूले ठूलो शक्ती निर्माण गर्नु पर्नेमा पत्रकार बरालको जोड छ । 
कार्यक्रमको अध्यक्षता कियाचुका अध्यक्ष पुरन लिम्बुले गरेका थिए भने सञ्चालन विवश माङबुले कार्यकम सञ्चालन गरेका थिए । कार्यक्रमको सहजीकरण लिला सिंगकले गरेका थिए। कार्यक्रमको टिपोट लोक चेम्जोङले गरेका थिए । 

 

प्रतिक्रिया