न्यू योर्क । नेपाली बस्तु तथा परिकारहरुको नेपाली समुदाय तथा अन्य उपभोक्तामाझ प्रवद्र्धन गर्ने उदेश्यले न्यूयोर्कको ज्याक्सन हाइट्समा हाम्रो मेला स्ट्रिट फेयर आयोजना भएको छ ।
हाम्रो मेला इंकको आयोजनामा भएको मेलामा करिब ४४ वटा नेपाली तथा अन्य व्यवसायीहरुले स्टल राखेका थिए । शनिबार भएको हाम्रो मेलामा यो वर्ष विगतको भन्दा धेरै सहभागीहरुले अवलोकन गरेको आयोजकले बताएका छन् ।
मेलामा सिमसिम पानीका बाबजुत दर्शकहरु नेपाली खानाको स्वाद चाख्ने र नेपाली उत्पादनहरु खरिदमा व्यस्त देखिएका थिए । न्यूयोर्कको नेपाली तथा दक्षिण एसियाली समुदायको बाक्लो बसोबास रहेको ज्याक्सन हाइट्सको ७६ स्ट्रिटमा मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सन्चालन भएको थियो ।
मेलामा नेपालका लोकप्रिय परिकारहरु मम, चनाचटपटे, सेलरोटी, नेवारी खाजा लगायत अन्य परिकारहरु राखेका थिए । यसैगरी नेपाली ढाकाका उत्पादन, कार्पेट, नेपाली लुगाफाटा तथा सौन्दर्य सामाग्रिहरुमा समेत अवलोकनकर्ताहरुको आकर्षण बनेको थियो । मेलमा नेपाली व्यवसायीहरुले संचालन गरेको तरकारी फार्ममा उत्पादित अर्गानिक उत्पादनहरु समेत प्रदेर्शन गरेका थिए । जसमा फर्सिको मुन्टामा दर्शकहरु झुम्मेको पाइएको थियो ।

नेपाली उत्पादनका सामग्रीलाई प्रचार प्रसार गर्दै नेपाली व्यवसायलाई प्रवद्र्धन गर्न मेला आयोजना गरिएको आयोजक दिपेन्द्र लामाले जानकारी दिए । यो वर्ष सहभागी व्यापारीहरु र अवलोकनकर्ता विगतको भन्दा धेरै रहेको उनले जानकारी दिए । मेलाको प्रवद्र्धनको लागि क्वीन्सको ज्याकसन हाइट्सदेखि ब्रुकलीनसम्मको हाम्रो मेला दौड समेत आयोजना गरिएको थियो । दौडमा ३० जना नेपाली धावकहरु सहभागी थिए ।
मौलिक परिकार खाना तथा नेपालमा उत्पादन गरिएका सामग्रीहरूको स्टल संगै नेपाली साँस्कृतिक कार्यक्रम तथा लाइभ म्युजिक समेत प्रस्तुत गरिएको थियो।











प्रतिक्रिया