न्यू योर्क । न्यू योर्कको ज्याक्सन हाइटमा ५औं हाम्रो मेला हिमालयन स्ट्रिट फेयर आयोजना हुँदै छ । हाम्रो मेला इंक गैरनाफामुलक संस्थाले यही जुन २७ शनिबार हाम्रो मेला हिमालयन स्ट्रिट फेयर आयोजना गर्न लागेको हो । नेपाली मौलिक उत्पादनका सामग्रीलाई प्रचार प्रसार गर्दै नेपाली व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको आयोजक मध्येका एक दिपेन्द्र लामाले जानकारी दिए । विश्व अर्थतन्त्रको राजधानी न्यू योर्कमा हुने हाम्रो मेलामा प्रदर्शन गर्ने सामग्रीहरुले नेपालको प्रतिनिधित्व गर्दै नेपाल र नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
ज्याक्सनहाइटको ७६ स्ट्रिटमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने मेलामा नेपाली मौलिक खानाको परिकार, नेपाली मौलिक संस्कृति झल्कने नेपाली उत्पादनका सामग्री प्रदर्शन गरिनुका साथै विक्री गरिनेछ । निम्जी, ओम, दिपेन र केजीको संयुक्त आयोजनामा हुने मेलामा नेपाली मौलिक परिकार खाना, मौलिक तथा सांस्कृतिक पहिचान झल्काउने नेपालमा उत्पादन गरिएका सामग्रीहरूको स्टल राखिने छन् । यो बर्षको मेलामा नेपाली साँस्कृतिक कार्यक्रम तथा लाइभ म्युजिक प्रस्तुत गरिदैछ । साथै हाम्रो मेला रन समेत गरिने भएको छ ।
यस बर्षको मेलाको प्रायोजन मोक्तान लक्स, निम्जी किचन, भिडिएस इन्नोभेसनले गरेको छ भने मेलालाई सफल बनाउन एनवाई नेपाली काम पोस्ट, न्यू योर्कस्थित ग्रेटर न्यू योर्क नेपाली चेम्बर अफ कमर्श, र च्याम्पियन मार्सल आट्र्स क्लब, एनआरएनए आइसीसी डिपार्टमेन्ट अफ ट्रेड, हिमालयन हिलसाइड फार्मले सहकार्य गरेका छन् । यस्ता मेलाले नेपाली पर्यटनको प्रचार तथा नेपाली उत्पादनको पहुँचलाई विश्व बजारसम्म पुर्याउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । नेपाली व्यवसाय र उत्पादनको प्रवद्र्धनका लागि हुने मेलामा सहभागी भई मेला सफल बनाउन सहयोग गरिदिन सम्पूर्ण नेपालीहरुलाई आयोजकले अनुरोध गरेको छ ।






प्रतिक्रिया