न्यू योर्क। न्यूयोर्क सिटी रेन्ट गाइडलाइन्स बोर्डले करिब १० लाख "रेन्ट-रेगुलेटेड अपार्टमेन्ट" को भाडा फ्रिज गरेको छ। बोर्डले एक वर्षे र दुई वर्षे "रेन्ट-स्टेबलाइज्ड लिज" मा भाडा वृद्धि शुन्य प्रतिशत राख्ने निर्णय गरेको हो।
बोर्डले जुन २५ बिहीबार राति ७–१ मतले भाडा फ्रिजको पक्षमा निर्णय गरेको हो। यो निर्णय अक्टोबर १, २०२६ देखि सेप्टेम्बर ३०, २०२७ मा हुने रेन्ट-स्टेबलाइज्ड अपार्टमेन्ट र लफ्ट लिजमा लागू हुनेछ।
निर्णयअनुसार उक्त अवधिमा सुरु हुने एक वर्षे लिजमा शुन्य प्रतिशत भाडा वृद्धि हुनेछ। दुई वर्षे लिजमा पनि शुन्य प्रतिशत वृद्धि हुनेछ। यसले न्यूयोर्क सिटीका करिब १० लाख रेन्ट-रेगुलेटेड अपार्टमेन्टका लाखौँ भाडावालालाई राहत दिनेछ।
यो निर्णय न्यू योर्क सिटीको आवास नीतिमा ऐतिहासिक मानिएको छ। बोर्डले यसअघि एक वर्षे लिजमा मात्र केही पटक भाडा फ्रिज गरेको थियो। तर एक वर्षे र दुई वर्षे दुवै लिजमा एकैपटक भाडा फ्रिज गर्ने यो पहिलो निर्णय हो।
न्यू योर्क सिटी मेयर जोहरान माम्दानीका लागि यो ठूलो राजनीतिक जित हो। माम्दानीले चुनावी अभियानका क्रममा रेन्ट-स्टेबलाइज्ड अपार्टमेन्टमा भाडा फ्रिज गर्ने वाचा गरेका थिए। बोर्डको निर्णयले उनको प्रमुख चुनावी वाचा पूरा गरेको छ।
मेयर माम्दानीले निर्णयपछि यसलाई न्यू योर्क सिटीका भाडावालाका लागि ऐतिहासिक जित भनेका छन्। उनले रेन्ट गाइडलाइन्स बोर्डले तथ्याङ्क, भाडावालाको तिर्न सक्ने क्षमता, जीवनयापन खर्च र भवन सञ्चालन खर्च सबै पक्ष विचार गरेर निर्णय गरेको बताए।
माम्दानीले कामकाजी न्यू योर्कवासीहरूका लागि यो आवश्यक राहत भएको बताएका छन्। उनले आफ्नो प्रशासनले "अफोर्डेबल हाउजिङ" निर्माण र संरक्षण गर्ने, भवन सञ्चालन खर्च घटाउने र भाडावालालाई आफ्नो अधिकारबारे सचेत बनाउने काम जारी राख्ने बताएका छन्।
बोर्डको अन्तिम मतदान इस्ट हार्लेमस्थित एल मुसेओ डेल बारियोमा भएको थियो। मतदानस्थलमा ठूलो संख्यामा भाडावाला, टेनन्ट एड्भोकेट र आवास अधिकारकर्मी उपस्थित थिए। निर्णय सार्वजनिक भएपछि समर्थकहरूले खुसी व्यक्त गरेका थिए।
भाडावालाहरूले न्यूयोर्क सिटीमा भाडा, खाद्यान्न, बीमा, यातायात र अन्य खर्च अत्यधिक बढेको भन्दै भाडा फ्रिज आवश्यक भएको बताएका थिए। उनीहरूको भनाइमा आम्दानीले महँगीलाई पछ्याउन नसकेको अवस्थामा भाडा वृद्धि रोक्नु कामकाजी परिवारका लागि अत्यन्त महत्वपूर्ण छ।
रेन्ट-स्टेबलाइज्ड अपार्टमेन्ट न्यूयोर्क सिटीको आवास प्रणालीको महत्वपूर्ण हिस्सा हो। यस्ता अपार्टमेन्टमा भाडा वृद्धि प्रत्येक वर्ष रेन्ट गाइडलाइन्स बोर्डले निर्धारण गर्छ। बोर्डले भाडावाला, घरधनी, सार्वजनिक प्रतिनिधि, आवास बजार, मर्मत खर्च, कर, बीमा, आम्दानी र महँगीजस्ता पक्षहरू विचार गरेर निर्णय गर्ने व्यवस्था छ।
तर घरधनी समूहहरूले निर्णयको कडा विरोध गरेका छन्। उनीहरूका अनुसार कर, बीमा, इन्धन, मर्मतसम्भार र भवन सञ्चालन खर्च बढिरहेको अवस्थामा शुन्य प्रतिशत भाडा वृद्धि साना घरधनीका लागि कठिन हुन सक्छ। घरधनी समूहहरूले यसले भवन मर्मत र सेवा गुणस्तरमा असर पार्न सक्ने चेतावनी दिएका छन्।
रियल इस्टेट बोर्ड अफ न्यू योर्क र न्यू योर्क अपार्टमेन्ट एसोसिएसनले पनि भाडा फ्रिजको आलोचना गरेका छन्। उनीहरूले यो निर्णय राजनीतिक रूपमा लोकप्रिय भए पनि दीर्घकालीन रूपमा न्यू योर्कको आवास संकटलाई झन् जटिल बनाउन सक्ने दाबी गरेका छन्।
मतदानअघि बोर्ड सदस्य क्रिस्टिना स्माइथले राजीनामा दिएकी थिइन्। घरधनी पक्षबाट बोर्डमा रहेकी स्माइथले निर्णय पहिल्यै तय भएको र बोर्ड तथ्य खोज्ने स्वतन्त्र निकायजस्तो नरहेको आरोप लगाएकी थिइन्।
तर बोर्ड चेयर चान्टेला मिचेलले बोर्ड सदस्य र कर्मचारीहरूले स्वतन्त्रता, गम्भीरता र इमानदारीका साथ काम गरेको बताएकी छन्। मेयर माम्दानीले पनि बोर्ड स्वतन्त्र निकाय भएको र सदस्यहरूले आफ्नै निर्णय गर्ने बताएका थिए।
माम्दानीले कार्यभार सम्हालेपछि नौ सदस्यीय बोर्डमा छ जना सदस्य नियुक्त गरेका थिए। त्यसपछि भाडा फ्रिजको सम्भावना बलियो बनेको थियो। समर्थकहरूले यसलाई “टेनन्ट पावर” को जित भनेका छन् भने आलोचकहरूले बोर्डमा मेयरको प्रभाव बढेको आरोप लगाएका छन्।
नयाँ निर्णय सबै अपार्टमेन्टमा लागू हुने छैन। यो निर्णय रेन्ट-स्टेबलाइज्ड वा रेन्ट-रेगुलेटेड अपार्टमेन्टमा मात्र लागू हुन्छ। मार्केट-रेट अपार्टमेन्ट, निजी सम्झौता वा अन्य गैर-रेगुलेटेड भाडामा यो निर्णय स्वतः लागू हुँदैन।




प्रतिक्रिया