आईसले २ करोड डलरसम्म खर्चेर विद्युतीय झट्का दिने पञ्जा किन्ने तयारी गरेको छ। गभर्नर क्याथी होकल र एटर्नी जनरल लेटिसिया जेम्सले दुरुपयोग भए कारबाहीको चेतावनी दिएका छन्। तर संघीय एजेन्सी भएकाले न्यू योर्कले आईसलाई यस्तो उपकरण प्रयोग गर्न सीधै प्रतिबन्ध लगाउन सक्ने अधिकार सीमित छ।
केन्टकीको रिचमन्डस्थित जेलमा सन् २०२४ मा ४३ वर्षीय एक व्यक्तिलाई यस प्रकारको पञ्जाबाट २७ पटक र टेजरबाट थप १३ पटक झट्का दिइएको आरोपसहित मुद्दा विचाराधीन छ। ती व्यक्तिको पछि मृत्यु भएको थियो।
न्यू योर्क। यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) ले अधिकारीहरूका लागि विद्युतीय झट्का दिन सक्ने विशेष पञ्जा किन्ने तयारी गरेपछि न्यू योर्ककी गभर्नर क्याथी होकुल र एटर्नी जनरल लेटिसिया जेम्सले विरोध जनाएका छन्।
आईसले १ करोडदेखि २ करोड डलरसम्म खर्चेर हजारौं संख्यामा "जेनेरेटेड लो आउटपुट भोल्टेज एमिटर (ग्लोभ)" खरिद गर्ने योजना बनाएको छ। सामान्य पञ्जाजस्तो देखिने यो उपकरण स्विच थिचेपछि सक्रिय हुन्छ। व्यक्तिको छालामा छोएर पीडादायी विद्युतीय झट्का दिन सकिन्छ। आईसले यसलाई प्रतिरोध गरिरहेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रयोग गरिने “डि-एस्केलेसन” उपकरण भनेको छ।
यो पञ्जा केन्टकीस्थित कम्प्लायन्ट टेक्नोलोजिजले पनि उत्पादन गर्छ। निर्माताले बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र गम्भीर अपांगता भएका व्यक्तिमाथि यसको प्रयोग नगर्न चेतावनी दिएको छ। मौखिक विरोध गरेकै आधारमा वा सजाय दिन पनि यसको प्रयोग गर्न नहुने निर्देशिकामा उल्लेख छ।
होकलले बुधबार न्यू योर्क सिटीका मेयर जोहरान क्वामे मामदानी र जेम्ससँगको कार्यक्रममा आईस अधिकारीले कसैको संवैधानिक अधिकार उल्लंघन गर्न वा अनावश्यक क्षति पुर्याउन नपाउने बताइन्। त्यसो गरे उनीहरूलाई जवाफदेही बनाइने उनको चेतावनी थियो।
जेम्सले पनि आईसको योजनाबाट आफू “आक्रोशित” भएको बताइन्। उनको कार्यालयले प्रस्तावित उपकरणको प्रयोगले न्यू योर्कको कानुन उल्लंघन गर्छ कि गर्दैन भन्ने समीक्षा गरिरहेको छ। जेम्सले दुरुपयोगबाट न्यू योर्कमा कसैलाई क्षति पुगे सिभिल तथा सम्भावित क्रिमिनल परिणाम हुन सक्ने चेतावनी दिएकी छन्।
तर होकलले आईसलाई न्यू योर्कभित्र ग्लोभ बोक्न वा प्रयोग गर्न एकतर्फी रूपमा प्रतिबन्ध लगाउन भने सक्दिनन्। आईस संघीय एजेन्सी हो। संघीय अधिकारीको काम गर्ने तरिकालाई राज्यले प्रत्यक्ष नियमन गर्न खोज्दा यूएस कन्स्टिच्युसनको "सुप्रिमेसी क्लज" बाधक बन्न सक्छ।
यसको पछिल्लो उदाहरण आईस अधिकारीको मास्कसम्बन्धी न्यू योर्कको कानुन हो। न्यू योर्कले संघीय अधिकारीलाई अनुहार छोप्न रोक्ने र परिचय देखाउनुपर्ने व्यवस्था गरेको थियो। अगस्ट ३ मा संघीय अदालतले ती प्रावधान कार्यान्वयनमा रोक लगायो। अदालतले राज्यले संघीय कानुन कार्यान्वयन गर्ने अधिकारीलाई यसरी प्रत्यक्ष नियमन गर्न नसक्ने संघीय सरकारको दाबी बलियो रहेको ठहर गरेको छ।
त्यसैले न्यू योर्कले “आईसले इलेक्ट्रिक ग्लोभ प्रयोग गर्न पाउँदैन” भनेर सीधै प्रतिबन्ध लगायो भने त्यसले पनि संघीय अदालतमा चुनौतीको सामना गर्नु पर्ने हुन सक्छ।
तर राज्य पूर्ण रूपमा शक्तिहीन भने छैन।
न्यू योर्कको नयाँ सिभिल राइट्स ल, सेक्सन ८५ ले संघीय अधिकारीसहित सरकारी अधिकारीबाट संवैधानिक अधिकार उल्लंघन भए पीडितलाई मुद्दा हाल्ने अधिकार दिएको छ। क्षतिपूर्ति, निश्चित अवस्थामा पनिटिभ ड्यामेज, अदालती आदेश र वकिल खर्चसमेत माग्न सकिन्छ।
तर त्यस्तो मुद्दामा संवैधानिक अधिकार उल्लंघन भएको पुष्टि गर्नुपर्ने हुन्छ। पक्राउ परिसकेको वा प्रतिरोध नगरेको व्यक्तिलाई अनावश्यक रूपमा विद्युतीय झट्का दिइएर "फोर्थ अमेन्डमेन्ट"अन्तर्गत अनुचित वा अत्यधिक बल प्रयोगको पुष्टि गर्नु पर्छ।
न्यू योर्कले आफ्ना राज्य तथा स्थानीय निकायलाई आईसको सिभिल इमिग्रेशन कारबाहीमा सहयोग गर्नबाट पनि रोक्न सक्छ। आईससँग स्थानीय प्रहरीको औपचारिक २८७(जी) सम्झौता रोक्ने न्यू योर्कको व्यवस्था भने त्यही अगस्ट ३ को अदालतको आदेशपछि पनि कायम छ।
विगतको घटनामा मृत्युको आरोप
यी पञ्जाको सुरक्षाबारे विवाद बढाउनुमा विगतको एउटा गम्भीर घटना पनि कारण बनेको छ। केन्टकीको रिचमन्डस्थित जेलमा सन् २०२४ मा ४३ वर्षीय एक व्यक्तिलाई यस प्रकारको पञ्जाबाट २७ पटक र टेजरबाट थप १३ पटक झट्का दिइएको आरोपसहित मुद्दा विचाराधीन छ। ती व्यक्तिको पछि मृत्यु भएको थियो।
जेलको आन्तरिक अनुसन्धानअनुसार पञ्जाबाट दिइएका दुई झट्का क्रमशः ४५ र ९९ सेकेन्डसम्म चलेका थिए। यो उत्पादकले सिफारिस गरेको अधिकतम १५ सेकेन्डभन्दा धेरै थियो। उक्त घटनामा पञ्जाले नै मृत्यु गराएको भनेर अदालतबाट अन्तिम निर्णय भइसकेको भने छैन।
एसोसिएटेड प्रेसले यस्तै पञ्जाबाट चोट लागेको आरोपसहितका अरू दुई मुद्दा पनि फेला पारेको छ। ती दुवै मुद्दा भने खारेज भइसकेका छन्।





प्रतिक्रिया