पदभार सम्हालेको पहिलो दिन मेयर जोहरान मामदानीले एग्जेक्यूटिभ अर्डर ०१ जारी गर्दै २०२४ सेप्टेम्बर २६ पछि जारी भएका सबै कार्यादेश एकैपटक खारेज गरे। यो ‘क्लिन–स्लेट’ कदमले पूर्व मेयर एरिक एडम्सको अभियोगपछि जारी आदेशहरूलाई पल्टायो। त्यसमा एडम्सले जारी गरेका आइएचआरएको यहूदी विरोधको परिभाषा अपनाउन प्रेरित गर्ने आदेश र इजरायलविरुद्धको बहिष्कार (बीडीएस) समर्थन नगर्न भन्ने एग्जेक्यूटिभ अर्डर पनि स्वतः खारेज भए। तर अफिस टु कम्ब्याट एन्टीसेमिटिज्म भने यथावत् राखिएको छ। अर्थात् शहरको एण्टी–हेट संरचना कायम छ। केवल विवादास्पद व्याख्यात्मक उपकरण मात्र हटाइएको हो।
कतिपयले यसलाई “माम्दानीद्वारा इजरायल लक्षित कदम” भने। यसकारण नवनियुक्त मेयर जोहरान माम्दानीले चालेको कदम तटस्थ भएपनि, परिणाम राजनीतिक रूपमा संवेदनशील बन्न पुग्यो। माम्दानीले माम्दानीआडम्सलाई अभियोग लागेको मितिभन्दा पछिका सबै आदेश खारेज गर्ने विधि रोजे। उनले विषय छनोट गरी ‘विचार–आधारित भेदभाव’ गरेको देखिँदैन। यसपछि आफूले आवश्यक ठानेका नीतिहरू पुनः जारी गर्ने बाटो खुला रहन्छ। प्रशासनिक दृष्टिले यस्तो ‘क्लिन-स्लेट रिसेट’ विधिले अनावश्यक मुद्दाको जोखिम घटाउँछ। सार्वजनिक परामर्शको समय दिन्छ। र, नीतिलाई खुला प्रक्रियाबाट बनाउने संकेत दिन्छ।
किन एडम्सका इजरायल–सम्बन्धी आदेशहरू हटाउनुपर्यो?
१) अभिव्यक्ति स्वतन्त्रताको पक्षमा
आईएचआरएको परिभाषाबारे नागरिक अधिकार अभियन्ता, विधिवेत्ता र केही यहूदी समूहहरूले ‘अत्यधिक व्यापक’ भनेर वर्षौँदेखि आलोचना गर्दै आएका छन्। व्यवहारमा यो परिभाषाले वैकल्पिक राजनीतिक मत—विशेष गरी विदेशी राष्ट्रप्रति तीक्ष्ण आलोचना—लाई पनि सजिलै दण्डनीय पूर्वाग्रहजस्तो देखाउन सक्छ। सिटी गभर्मेन्ट यस्तो विवादित व्याख्यामा बाँधिँदा क्याम्पस, कला/संस्कृति, र अनुदान–आधारित सामुदायिक संस्थामा गभर्मेन 'चिलिङ इफेक्ट’ पर्न सक्छ। आदेश खारेज गरेर माम्दानीले यहूदीको विरोध वैध बनाएको होइनन। बरु उनी कानुनले दण्डनीय ठान्ने व्यवहार (हिंसा, धम्की, उत्पीडन, भेदभाव) केन्द्रित कार्यान्वयनतर्फ फर्किएका हुन्।
२) सरकारी ठेक्कामा ‘दृष्टिकोण–तटस्थता’
आडम्स कालको एण्टी–बीडीएस निर्देश (एक्जेक्यूटिभ अर्डर) ले सार्वजनिक खरिद/ठेक्कामा राजनीतिक विचारलाई छिराउने जोखिम थियो। सिटीले श्रम–सुरक्षा, गुणस्तर, भेदभाव–निरोध जस्ता मापदण्ड तोक्न सक्छ। तर, सेवासित असम्बन्धित निजी राजनीतिक मतका कारण आपूर्तिकर्तालाई दण्डित गर्नु (प्रथम संशोधन) सँग बाझिन सक्छ। यस्तै नियमका कारण अन्य राज्यहरूमा पनि कानुनी चुनौतीहरू देखिएका छन्। आदेश (एक्जेक्यूटिभ अर्डर) फिर्ता लिनु मुकदामा–जोखिम घटाउने व्यावहारिक कदम हो। यसले नीतिलाई कार्यपालिकाको ‘स्पीच–टेस्ट’ होइन, खुला विधायनबाट बनाउने सही ठाउँमा ल्याउँछ।
३) ‘संकट–पछिको वैधता’ पुनःस्थापना
आडम्सलाई अभियोग लागेपछि जारी गरिएका आदेश (एक्जेक्यूटिभ अर्डर) हरू वैधताको कसीमा जाँचिने स्पष्ट थियो। माम्दानीको ‘क्लिन-स्लेट रिसेट’ले सबै आदेशलाई एउटै मापदण्डले हेर्यो। यसले कुनै एउटा संवेदनशील विषय मात्र टोकेजस्तो देखिने सम्भावना घटायो। यसरी उनीहरूले ‘क्लिन-स्लेट रिसेट’ गरे। साथै, भविष्यमा आवश्यक विषय पुनःजारी/विधायनतर्फ लाग्ने संकेत पानि दिए।
४) सह–शासन (कोएलिशन गभर्नेन्स ) को व्यवहारिकता।न्यू योर्क सीटी विश्वकै सबैभन्दा ठूलो यहूदी समुदाय र विशाल अरब, मुस्लिम, दक्षिण–एशियाली समुदायहरूको सह–आवास हो। सिटी–पोलिसीमा विदेश नीतिलाई कुनै पक्षको बनाउनु स्थानीय विश्वास र सहअस्तित्वमा चोट पुर्याउनु हो। आडम्सको आदेश खारेज गरेर माम्दानीले मेयरले सहरका प्राथमिक एजेन्डा (आवास, सुरक्षा, विद्यालय, सेवा–प्रवाह) केन्द्रमा राखे। घृणा-विरोधलाई लाई सार्वभौमिक बनाइराख्ने सन्देश दिए। यहूदी, मुस्लिम, सिख, आप्रवासी सबैलाई समान सुरक्षा प्रत्याभुतिको सन्देश दिए।
प्रतिक्रियाबारे
माम्दानीको कदमबारे कडा आलोचनाहरू स्वाभाविक थिए। केही इजरायली अधिकारी, मुख्यधारका यहूदी संस्थाहरू र दलका नेताहरू असन्तुष्ट भए। तर, आलोचना र असन्तुष्टीहरूले नीतिसङ्गतता हराउँदैन। मूल प्रश्न दुईवटा हुन्: (क) सिटीसँग यहूदी–विरोधको सामना गर्न मजबुत उपकरण अझै छन् कि छैनन्? (ख) सिटी असंवैधानिक ‘स्पीच–पोलिसिङ’ बाट टाढा छ कि छैन? दुवैमा उत्तर हो, छ। हेट–क्राइम कडा कार्यान्वयन, नागरिक–अधिकार ऐनहरू, विद्यालयको अनुशासन–सङ्केत, कार्यस्थल सुरक्षा, र समुदाय–आधारित कार्यक्रमहरू यथावत् छन्। प्रयोगमा अस्पष्ट तर प्रतीकात्मक रूपमा डर जगाउने एक कार्यादेश मात्र हटेको के हो।
राजनीतिक गणित
छोटो अवधिका लागि आडम्सका कार्यकारी आदेश जस्ताको तस्तै राख्नु ‘सुरक्षित’ देखिन सक्थ्यो। तर दीर्घकालमा प्रतिकात्मक विदेश नीतिमा सिटीलाई बाँधिराख्नु हानीकारक हुन्छ। यतिबेलासम्म सिटीले कुन अभिव्यक्ति ‘सम्भव’ छ भनी महिनौं विदेश नीति बहसमै समय खर्च गर्न सक्थ्यो। यहूदी, मुस्लिम, सिख, आप्रवासी समुदायविरुद्धका वास्तविक घटनामा स्थलगत काम यथावत रहन्थे। आडम्सको आदेश खारेज गरेर मेयरले यिनै ठोस काममा ‘क्यालेण्डर खाली’ गरे।
संवैधानिक ‘नर्थ–स्टार’
न्युयोर्कको नागरिक पहिचान बहुलवाद र अभिव्यक्ति स्वतन्त्रता हो। कार्यपालिकाबाट आउने कुनै आदेशले एक भू–राजनीतिक दृष्टिकोणलाई प्राथमिकता दिन थाल्यो भने अन्य डायस्पोरा समुदायहरूले पनि अधिकारको दावी गर्न थाल्छन्न। ‘क्लिन–स्लेट रिसेट’ले सिटी पोलिसीलाई फेरि तटस्थ बनाएको छ। हामी हिंसा, धम्की, तोडफोड, उत्पीडनलाई दण्डित गर्छौँ भन्ने सन्देश दिएको छ। सबै समुदायलाई साथ लिएर सार्वजनिक प्रक्रियाबाट नीति बनाउने बाटो खोलिदिएको छ।






प्रतिक्रिया