०४ भदौ २०८३, बिहिबार
Thu, Aug 20, 2026
SUBSCRIPTION

आप्रवासीका मुद्दा सेनाका न्यायाधीशले फैसला गर्दै

आप्रवासीका मुद्दा सेनाका न्यायाधीशले फैसला गर्दै

ट्रम्प प्रशासनले इमिग्रेसन जजका रुपमा सैनिक तथा रक्षा विभागका वकिल परिचालन गरेको छ। उनीहरूले न्यू योर्क लगायतका विभिन्न अदालतमा आप्रवासीहरूको मुद्दामा सुनुवाइ गरिरहेका छन। यस्ता जजको संख्या ६०० जनासम्म  पुर्र्याउने योजना छ।

न्यू योर्क। ट्रम्प प्रशासनले अमेरिकी सेनाको कानुनी शाखा जज एड्भोकेट जनरल (जेएजी) कोर्प्स का वकिलहरूलाई अस्थायी इमिग्रेशन न्यायाधीशका रूपमा नियुक्त गरिरहेको छ। उनीहरूले आप्रवासीका मुद्दामा फैसला समेत गरिरहेका छन।

इमिग्रेशन अदालतमा वर्षौंदेखि थुप्रिएका लाखौं मुद्दा छिटो टुंग्याउने बहानामा चालिएको यो कदमले न्यायिक स्वतन्त्रता, इमिग्रेशन कानुनसम्बन्धी अनुभव र निष्पक्ष सुनुवाइबारे नयाँ बहस जन्माएको छ। पेन्टागनले सन् २०२५ को अगस्टमा ६०० जनासम्म सैनिक वकिल यूएस डिपार्टमेन्ट अफ जस्टिस (डीओजे) मा खटाउन स्वीकृति दिएको थियो। योजनाअनुसार उनीहरूलाई एकैपटक नभई १५० जनासम्मको समूहमा पठाइने र प्रारम्भिक कार्यकाल बढीमा १७९ दिन, अर्थात् करिब ६ महिना रहने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार उनीहरूको कार्यकाल थप गर्न सकिनेछ।

यसैबीच, डीओजेले अस्थायी इमिग्रेशन न्यायाधीश नियुक्त गर्ने मापदण्ड पनि खुकुलो बनाएको छ। पहिले पूर्व इमिग्रेशन न्यायाधीश, एड्मिनिस्ट्रेटिभ ल जज वा लामो समय इमिग्रेशन कानुनमा काम गरेका निश्चित सरकारी वकिलहरूलाई मात्रै यस्तो जिम्मेवारी दिन सकिन्थ्यो। नयाँ व्यवस्थाले महान्यायाधिवक्ताको स्वीकृतिमा योग्यता पुगेका अन्य वकिललाई पनि निश्चित अवधिका लागि अस्थायी इमिग्रेशन न्यायाधीश बनाउन बाटो खोलेको छ।

यो व्यवस्था अहिले कागजमा मात्र सीमित छैन। सैनिक कानुनी सेवामा कार्यरत वकिलहरू विभिन्न राज्यका इमिग्रेशन अदालतमा मुद्दा सुनिरहेका छन्। म्यासाचुसेट्समा मात्रै कम्तीमा चार जना जेएजी वकिल अस्थायी इमिग्रेशन न्यायाधीशका रूपमा कार्यरत रहेको सार्वजनिक विवरणले देखाएको छ।

आलोचकहरूले इमिग्रेशन कानुन अत्यन्त जटिल र विशेषीकृत क्षेत्र भएकाले छोटो तालिमपछि सैनिक वकिललाई एसाइलम, डिपोर्टेसन र अन्य संवेदनशील मुद्दामा फैसला गर्ने जिम्मेवारी दिँदा ड्यु प्रोसेस र निष्पक्ष सुनुवाइमा असर पर्न सक्ने चेतावनी दिएका छन्

न्यूयोर्कमा पनि सैनिक पृष्ठभूमिका वकिललाई इमिग्रेशन न्यायाधीश बनाइएको छ। जुलाई २०२६ मा विलियम एल. रिचर्ड्स तृतीयलाई न्यूयोर्क–भ्यारिक इमिग्रेशन कोर्टको अस्थायी न्यायाधीश नियुक्त गरिएको थियो। उनी यूएस आर्मी रिजर्भको जेएजी कोर्प्समा डिफेन्स काउन्सेलका रूपमा कार्यरत छन्। त्यसअघि अक्टोबर २०२५ मा ओरेन ग्लाइकलाई न्यूयोर्क–फेडरल प्लाजा इमिग्रेशन कोर्टको अस्थायी न्यायाधीश नियुक्त गरिएको थियो। ग्लाइक पनि आर्मी रिजर्भ जेएजी कोर्प्ससँग आबद्ध छन्।

एक्जिक्युटिभ अफिस फर इमिग्रेशन रिभ्यु (ईओआईआर) का विभिन्न घोषणाअनुसार अक्टोबर २०२५ देखि जुलाई २०२६ सम्म दर्जनौं अस्थायी इमिग्रेशन न्यायाधीश नियुक्त भएका छन्। ती सबै सैनिक वकिल नभए पनि धेरैको सक्रिय सेना, रिजर्भ, नेसनल गार्ड वा अन्य सैन्य कानुनी सेवासँग सम्बन्ध रहेको छ।

न्यायाधीश थप गर्नुको प्रमुख कारण इमिग्रेशन अदालतमा रहेको विशाल मुद्दा चाप हो। ईओआईआरको आर्थिक वर्ष २०२६ को तेस्रो त्रैमासिक तथ्यांकअनुसार अमेरिकी इमिग्रेशन अदालतमा ३४ लाख ६९ हजार ५६९ मुद्दा विचाराधीन थिए। सो अवधिसम्म ६ लाख ६० हजार ३४३ मुद्दाटुंग्याइएको थियो।

यही समयमा ट्रम्प प्रशासनले ठूलो संख्यामा पुराना इमिग्रेशन न्यायाधीशलाई हटाएको वा उनीहरू अदालत प्रणालीबाट बाहिरिएको पनि देखिएको छ। रॉयटर्सका अनुसार मे २०२६ सम्म कम्तीमा ११५ इमिग्रेशन न्यायाधीश बर्खास्त भएका थिए। झन्डै त्यति नै संख्यामा अन्य न्यायाधीशले बाइआउट लिएका, राजीनामा दिएका वा अवकाश लिएका थिए। त्यसपछि प्रशासनले स्थायी र अस्थायी दुवै प्रकारका न्यायाधीश नियुक्त गर्ने प्रक्रिया तीव्र बनाएको छ।

तर सैनिक वकिललाई इमिग्रेशन न्यायाधीश बनाउने निर्णयको आलोचना पनि भइरहेको छ। आलोचकहरूले इमिग्रेशन कानुन अत्यन्त जटिल र विशेषीकृत क्षेत्र भएकाले छोटो तालिमपछि सैनिक वकिललाई एसाइलम, डिपोर्टेसन र अन्य संवेदनशील मुद्दामा फैसला गर्ने जिम्मेवारी दिँदा ड्यु प्रोसेस र निष्पक्ष सुनुवाइमा असर पर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकन सिभिल लिबर्टिज युनियन अफ म्यासाचुसेट्सले सैनिक वकिललाई इमिग्रेशन अदालतमा प्रयोग गरिएको विषयमा सरकारी कागजात माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ। न्यूयोर्क सिटी बार एसोसिएसनले पनि यस्तो नियुक्तिले न्यायाधीशको स्वतन्त्रता, विशेषज्ञता र इमिग्रेशन अदालतको विश्वसनीयताबारे प्रश्न उठाउन सक्ने चिन्ता व्यक्त गरेको छ।

जडीओजेको तर्क भने फरक छ। विभागको कानुनी व्याख्याअनुसार सैनिक वकिलहरूले पूर्ण रूपमा नागरिक भूमिकामा, डीओजेकै नागरिक अधिकारीको निर्देशन र सुपरिवेक्षणमा काम गरेमा यस्तो नियुक्ति संघीय कानुनविपरीत हुँदैन। ईओआईआरले स्थायी तथा अस्थायी दुवै इमिग्रेशन न्यायाधीशलाई काम सुरु गर्नुअघि आवश्यक प्रशिक्षण दिइने जनाएको छ।

इमिग्रेशन न्यायाधीशले डीओजेअन्तर्गतको प्रशासनिक अदालत प्रणालीमा रहेर डिपोर्टेसन, एसाइलम तथा अन्य इमिग्रेशन मुद्दामा फैसला गर्छन्।

प्रतिक्रिया