न्यूयोर्क। न्यूयोर्क सिटीका मेयर एरिक आडम्सले आज पाँचै बोरोमा गम्भीर मानसिक रोगीलाई सहयोग गर्न १३ वटा नयाँ ‘क्लबहाउस’ सुरु गर्ने घोषणा गरेका छन्। यो परियोजना न्यू योर्क सिटी र न्यू योर्क राज्यको संयुक्त ३ करोड डलर लगानीमा सञ्चालन हुनेछ।
२०२३ मा न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिन (डीओएचएमएच) ले करिब ३० वर्षपछि पहिलोपटक ‘क्लबहाउस’ मोडेल विस्तार गर्ने प्रक्रिया सुरु गरेको थियो। यसपटक क्लब हाउसको बजेट दुई गुणा बढाइएको छ। सम्झौता अनुसार नयाँ स्थानमा क्लबहाउस खुल्नेछन् भने निर्माणाधीन छवटाले निरन्तरता पाउनेछन्। नयाँ क्लबहाउसहरूले गम्भीर मानसिक स्वास्थ्य समस्यामा रहेका वयस्क मानिसलाई समुदायमा आधारित सहयोगी वातावरणमा सहभागी हुने थप अवसर दिने न्यू योर्क सिटीले जनाएको छ। विस्तारसँगै २०२७ सम्म सदस्य सङ्ख्या दोब्बर बनाइ छ हजार छ सय पुर्याउने पनि सिटीले जनाएको छ।
यो घोषणा मेयर आडम्सको “इन्ड द कल्चर अफ एनिथिङ गोज” अभियान अन्तर्गत आएको हो, जसमा उनले गम्भीर मानसिक स्वास्थ्य समस्यामा रहेका मानिसलाई आवश्यक सहयोग पाउन अवरोध गर्ने पुराना कानुन र संस्कृतिमा परिवर्तन गर्ने जनाएका छन्। क्लबहाउसले सदस्यताका आधारमा सेवा प्रदान गर्नेछ। सेवा निःशुल्क हुनेछ। क्लबहाउसका माध्यमबाट सेवाग्राहीले स्वास्थ्य सेवा, कानूनी सहायता, रोजगारी, शैक्षिक, सामाजिक र सीपमुलक सहयोग प्राप्त गर्नेछन्।
यो समाचारमा प्रयोग गरिएको तस्वीर एआई निर्मित हो।




प्रतिक्रिया