अभिभावकबिना अमेरिका आएका करिब १,४०० आप्रवासी बालबालिका न्यू योर्कमा डिपोर्टेसनको मुद्दा सामना गरिरहेका छन्। तीमध्ये २५० भन्दा बढी हाल हिरासतमा छन्।
न्यू योर्क। गभर्नर क्याथी होकुलले अभिभावकबिना अमेरिका आएका करिब १,४०० आप्रवासी बालबालिकालाई कानुनी सहायता उपलब्ध गराउन ७.२५ मिलियन डलर दिने घोषणा गरेकी छन्। उनीहरू न्यू योर्कमा डिपोर्टेसनको मुद्दा सामना गरिरहेका छन्। तीमध्ये २५० भन्दा बढी हाल हिरासतमा छन्।
यो रकम पुरानो संघीय कार्यक्रमको विकल्पका रूपमा आएको हो। ट्रम्प प्रशासनले देशभरका करिब १०० संस्थामार्फत लगभग २० हजार बालबालिकालाई कानुनी सेवा दिँदै आएको संघीय सम्झौता जुलाई ३१ मा सकिन दिएको थियो। त्यसपछि बालबालिकाको कानुनी प्रतिनिधित्वमा ठूलो खाली ठाउँ सिर्जना भएको थियो।
ट्रम्प प्रशासनले त्यसको सट्टा बर्क ल ग्रुपलाई १५० मिलियन डलरसम्मको एकल-स्रोत सम्झौता दिने योजना अघि सारेको थियो। तर त्यो प्रस्ताव मुख्यतः अफिस अफ रिफ्युजी रिसेटलमेन्ट (ओआरआर) को हिरासतमा रहेका बालबालिकाका लागि थियो। हिरासतबाट छुटेपछि सीमित रेफरल र कानुनी निरन्तरता सहायता मात्र प्रस्ताव गरिएको थियो। बर्कको आप्रवासन कानुनमा सीमित अनुभव र ट्रम्प प्रशासनसँगको सम्बन्धका कारण प्रस्ताव विवादित बनेको थियो। बर्क ल ग्रुपले बुधबार उक्त सम्झौता लिन अस्वीकार गरेको थियो। यसैबीच, संघीय सरकारले अभिभावकबिना अमेरिका आएका आप्रवासी बालबालिकालाई कानुनी सहायता आवर रेस्क्युलाई करिब १५८ मिलियन डलरको छुट्टै ठेक्का दिएको छ। उक्त ठेक्काको अधिकतम मूल्य करिब २४४ मिलियन डलरसम्म पुग्न सक्छ।
होकुलको कार्यक्रम भने संघीय पैसा प्रयोग गरेर चलाइएको कार्यक्रम होइन। न्यू योर्क स्टेटको नयाँ रकम अफिस फर न्यू अमेरिकन्स (ओएनए)मार्फत हिस्पानिक फेडरेशनको नेतृत्वमा रहेका कानुनी सेवा संस्थालाई दिइनेछ। यसले पहिले संघीय कार्यक्रमबाट सेवा पाइरहेका न्यू योर्कका बालबालिकाको प्रतिनिधित्व जारी राख्नेछ।
यसैले होकुलले संघीय कार्यक्रमको नक्कल गरेकी होइनन्। पुरानो संघीय सम्झौता समाप्त भएपछि र नयाँ संघीय व्यवस्था अनिश्चित तथा सीमित बनेपछि न्यू योर्कमा परेको कानुनी सेवाको खाली ठाउँ राज्यको आफ्नै रकमबाट भर्न खोजिएको हो।




प्रतिक्रिया