न्यूयोर्क । न्यूयोर्क सिटीका मेयर जोहरान मामदानीले यूएस ओपनका लागि न्यूयोर्क सिटीका बासिन्दालाई एक हजार वटा छुट टिकट उपलब्ध गराउने घोषणा गरेका छन्।
मंगलबार घोषणा गरिएको यो टिकट बुधबार बिहान १० बजेदेखि पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा बिक्री गरिनेछ। न्यूयोर्क सिटीका बासिन्दाले बढीमा दुईवटा टिकट खरिद गर्न सक्नेछन्। प्रत्येक टिकटको मूल्य एक सय अमेरिकी डलर तोकिएको छ।
यी टिकटहरू सेप्टेम्बर ८ सम्म आइतबारदेखि मंगलबारसम्म हुने मुख्य चरणका खेलका लागि उपलब्ध हुनेछन्। टिकटमा आर्थर एस स्टेडियम र लुइस आर्मस्ट्रङ स्टेडियम लगायतका प्रमुख कोर्टका सिटहरू पनि समावेश छन्।
हाल पुनःबिक्री बजारमा यूएस ओपनका टिकट निकै महँगो छन्। उदाहरणका लागि, आइतबारको ग्रान्डस्ट्यान्डको पहिलो सत्रको सबैभन्दा सस्तो टिकटको मूल्य तीन सय ६१ डलरभन्दा बढी रहेको छ। त्यस्तै, लुइस आर्मस्ट्रङ स्टेडियमको सोही सत्रको सबैभन्दा सस्तो टिकट चार सय एक डलरभन्दा बढीमा बिक्री भइरहेको छ।
संयुक्त राज्य टेनिस संघका प्रमुख कार्यकारी अधिकृत क्रेग टिलीले बढीभन्दा बढी मानिसले यूएस ओपनको प्रत्यक्ष अनुभव गर्न सकून् भन्ने उद्देश्यले न्यूयोर्कवासीका लागि यो विशेष व्यवस्था गरिएको बताए।
उनका अनुसार यूएस ओपनले यसअघि नै आठ दिनसम्म निःशुल्क प्रवेको व्यवस्था गर्दै आएको छ। दर्शक तथा परिवारहरूले विश्वस्तरीय खेलाडीहरूको अभ्यास नजिकबाट हेर्नुका साथै छनोट प्रतियोगिता, मिश्रित युगल र अन्य कार्यक्रमको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
मेयर मामदानीले खेलकुद सबै न्यूयोर्कवासीको पहुँचमा हुनुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, “हामीले पटक–पटक प्रमाणित गरेका छौँ कि खेलकुद जनताको हो।” विश्वकपदेखि ट्र्याक एन्ड फिल्ड प्रतियोगितासम्मका ठूला अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा न्यूयोर्कवासीको पहुँच बढाउने प्रयास गरिएको उनले बताए।
मामदानीले विश्वका उत्कृष्ट टेनिस खेलाडीहरू न्यूयोर्क आउँदा न्यूयोर्कवासीले उनीहरूको खेल प्रत्यक्ष हेर्न पाउनुपर्ने बताए।
यसअघि मामदानीले यसै गर्मीमा मेटलाइफ स्टेडियममा आयोजना भएका विश्वकपका खेलका लागि पनि न्यूयोर्क सिटीका बासिन्दालाई एक हजार वटा छुट टिकट उपलब्ध गराएका थिए।
यस वर्षको यूएस ओपनमा फ्लसिङ क्षेत्रमा १० लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ। प्रतियोगिताबाट करिब एक दशमलव दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक गतिविधि उत्पन्न हुने अनुमान गरिएको छ।



प्रतिक्रिया