२७ साउन २०८३, बुधबार
Wed, Aug 12, 2026
SUBSCRIPTION

आईसको डरले घटे ग्राहक, साना व्यवसायी मारमा

आईसको डरले घटे ग्राहक, साना व्यवसायी मारमा

न्यू योर्क। ट्रम्प प्रशासनको कडा "इमिग्रेशन इन्फोर्समेन्ट" नीतिका डरले आप्रवासीबहुल क्षेत्रमा ग्राहकको आवतजावत घटेको र त्यसको सीधा असर साना व्यवसायमा परेको विभिन्न सर्वेक्षण, रिपोर्ट र प्रारम्भिक अनुसन्धानले देखाएका छन्। 

असर विशेषगरी रेस्टुरेन्ट, क्याफे, बेकरी, सैलुन, बार्बर सप, किराना पसल र अन्य दैनिक ग्राहकमा निर्भर व्यवसायमा देखिएको छ।

न्यूयोर्कको ज्याक्सन हाइट्स र कोरोनादेखि लस एन्जलस र ओरेन्ज काउन्टीसम्मका उपलब्ध तथ्यांकले एउटै दिशाको संकेत दिएका छन्। इमिग्रेशन इन्फोर्समेन्टको डर बढेका क्षेत्रमा ग्राहकको आवतजावत, बिक्री र कतिपय अवस्थामा कर्मचारीको उपस्थितिसमेत घटेको देखिएको हो। यद्यपि सबै बिक्री गिरावटको कारण आईस मात्रै हो भनेर निष्कर्ष निकाल्न भने मिल्दैन। मौसम, महँगी, भाडा र समग्र आर्थिक दबाबले पनि व्यवसाय प्रभावित हुन सक्छन्।

ज्याक्सन हाइट्स र कोरोनामा करिब ८०% व्यवसाय प्रभावित

न्यू योर्कमा असरको सबैभन्दा स्पष्ट स्थानीय तथ्यांक क्वीन्स इकोनोमिक डेभलपमेन्ट कर्पोरेशन (क्यूईडीसी) को सर्वेक्षणबाट आएको छ। सन् २०२५ नोभेम्बरमा ज्याक्सन हाइट्स र कोरोनाका ६६ व्यवसायमा गरिएको सर्वेक्षणमा ७९ प्रतिशतले बिक्री र ग्राहकको आवतजावत घटेको बताएका थिए।

सर्वेक्षणअनुसार ३९ प्रतिशतले गिरावटलाई ‘ठूलो’ भनेका थिए। आम्दानी गुमाएको बताउने व्यवसायमध्ये ८४ प्रतिशतले १ हजार डलरभन्दा बढी र ७ प्रतिशतले १० हजार डलरभन्दा बढी क्षति भएको बताएका थिए। तर त्यो क्षति कति दिन, हप्ता वा महिनाको अवधिमा भएको हो भन्ने सार्वजनिक विवरणमा खुलाइएको छैन।

त्यस्तै, २२ प्रतिशत व्यवसायले कर्मचारी काममा नआएको वा आईस गतिविधिको डरले काममा आउन डराएको बताएका थिए। १८ प्रतिशतले ब्यबसाय सञ्चालन समय परिवर्तन गरेको, "इभेन्ट" रद्द गरेको वा सञ्चालनको तरिका फेरेको बताएका थिए। थप ११ प्रतिशतले त्यस्तो परिवर्तन गर्ने विचार गरिरहेको बताएका थिए। यी तथ्य व्यवसायीको प्रतिक्रियामा आधारित सर्वेक्षणबाट आएका हुन्।

स्थानीय व्यवसायी भन्छन्– ग्राहक घटे, सडक शान्त भए

समाचार संस्था डकुमेन्टेड ले फेब्रुअरी २०२६ मा ज्याक्सन हाइट्स र क्वीन्सको हिलसाइड एभेन्युमा गरेको रिपोर्टिङमा पनि यस्तै अवस्था भेटिएको उल्लेख गरेको थियो। हिलसाइड एभेन्युका एक किराना तथा सानो क्याफे सञ्चालकले एक वर्षमा करिब १ लाख १० हजार डलर गुमाएको र आफ्नो ग्राहक संख्या करिब आधा घटेको बताएका थिए। ग्राहक घटेपछि उनले सामानको स्टक र क्याफेको मेनु घटाउनुपरेको बताएका थिए।

तर त्यही रिपोर्टले अर्को महत्त्वपूर्ण पक्ष पनि उल्लेख गरेको छ। कडा जाडो र खराब मौसमले समेत सडकको आवतजावत घटाएको थियो। त्यसैले सबै गिरावटलाई आईसको डरले मात्रै भएको भन्न मिल्दैन। व्यवसायीहरूले भने मौसम खराब हुनुअघि नै ग्राहक कम हुन थालेको बताएका थिए।

एनवाई१ ले पनि सन् २०२५ जुलाईमा ज्याक्सन हाइट्सको डाइभर्सिटी प्लाजा पहिलेभन्दा शान्त भएको रिपोर्ट गरेको थियो। सेवेन्टी नाइन्थ स्ट्रीट र रुजवेल्ट एभेन्यु आसपास काम खोज्ने ज्यालादारी श्रमिक बस्ने ठाउँ खालीजस्तै देखिएको थियो। सोही रिपोर्टमा एक कोलम्बियन रेस्टुरेन्ट ग्राहक घटेपछि बन्द भएको र रुजवेल्ट एभेन्युस्थित एक बेकरीका कर्मचारीको काम गर्ने "आवर" घटाइएको उल्लेख छ।

सैलुन र रेस्टुरेन्टमा परेको प्रत्यक्ष असरबारे

युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलस (यूसीएलए) को ल्याटिनो पोलिसी एन्ड पोलिटिक्स इन्स्टिच्युट (एलपीपीआई) ले जुलाई २२ मा एउटा अध्ययन सार्वजनिक गरेको थियो।

अध्ययनले सन् २०२५ जुनमा इमिग्रेशन इन्फोर्समेन्ट भएका नौ स्थान आसपासका ९८९ व्यवसायको "फुट ट्राफिक डेटा" विश्लेषण गरेको थियो। त्यसअनुसार आप्रवासन कारबाहीपछिको पहिलो साता त्यहाँ एक चौथाइ माइलभित्रका व्यवसायमा फुट ट्राफिक १.९१% घटेको थियो। दोस्रो साताको अन्त्यसम्म यो गिरावट ३.२३% पुगेको थियो। एक चौथाइदेखि आधा माइल दूरीका व्यवसायमा दोस्रो सातासम्म १.६३% गिरावट आएको थियो।

यूसीएलएका अनुसार दुई साताभित्र ती नौ क्षेत्रमा करिब ४६ हजार मानिसको आवतजावत घटेको थियो। त्यसबाट अनुमानित ३१ लाख ६० हजार डलर बराबरको नोक्सान भएको थियो। अध्ययनले यो अनुमान औपचारिक रूपमा दर्ता भएका व्यवसायको तथ्यांकमा आधारित रहेको र सडक विक्रेता, फुड ट्रक तथा घरबाट चलाइने धेरै व्यवसाय यसमा नपरेको स्पष्ट गरेको छ।

अध्ययनमा सहभागी ७५ लाटिनो व्यवसायी मध्य ५९ प्रतिशतले बिक्री आधाभन्दा बढी घटेको, ६८ प्रतिशतले ब्यबसाय अस्थायी रूपमा बन्द गरेको वा खोल्ने समय घटाएको, र ५१ प्रतिशतले कर्मचारी डरका कारण काममा नआएको बताएका थिए।

इमिग्रेसन इन्फोर्समेन्टको असर सैलुनजस्ता सेवामूलक व्यवसायमा पनि देखिएको थियो। अध्ययनमा समेटिएकी एक सैलुन सञ्चालकले ग्राहक घटेपछि ग्राहकको घरमै गएर सेवा दिन थालेको, क्रेडिट प्रयोग गरेको र अन्ततः आफ्नो भ्यान बेच्नुपरेको उल्लेख गरेकी छन। अर्की व्यवसायीले खर्च घटाउन दुई सैलुनलाई एउटै स्थानमा गाभेकी थिइन्। रेस्टुरेन्ट सञ्चालकहरूले खाली टेबल, रद्द भएका क्याटरिङ अर्डर र बिग्रने खाद्य सामग्रीका कारण थप घाटा भएको बताएका थिए।

ओरेन्ज काउन्टीमा आठ सातामा ५८.९ मिलियन डलरको असर

युनिभर्सिटी अफ क्यालिफोर्निया, इरभाइन (यूसी इरभाइन) को स्कुल अफ सोसल इकोलोजी ले सार्वजनिक गरेको प्रारम्भिक "वर्किङ पेपर"ले पनि उस्तै प्रवृत्ति देखाएको छ। अनुसन्धानकर्ताले सन् २०२५ मे १५ पछि ओरेन्ज काउन्टीमा भएका आईस कारबाहीपछिको आठ सातामा करिब ५८.९ मिलियन डलर बराबरको आर्थिक गतिविधि गुमेको अनुमान गरेका छन्। यसबाट स्थानीय सरकारको ४.५ मिलियन डलर बराबरको बिक्रीकर आम्दानी पनि घटेको अध्ययनले जनाएको छ।

लस एन्जलस काउन्टीमा पनि उस्तै संकेत 

लस एन्जलस काउन्टी डिपार्टमेन्ट अफ इकोनोमिक अपर्च्युनिटी र लस एन्जलस काउन्टी इकोनोमिक डेभलपमेन्ट कर्पोरेशन ले सार्वजनिक गरेको रिपोर्टले पनि साना व्यवसायमा व्यापक असर परेको जनाएको छ। 

रिपोर्टअनुसार सर्वेक्षणमा सहभागी ८२ प्रतिशत व्यवसायले इमिग्रेशन इन्फोर्समेन्टबाट नकारात्मक असर परेको बताएका थिए। ५२ प्रतिशतले दैनिक बिक्री घटेको र ५१ प्रतिशतले ग्राहकको आवतजावत कम भएको बताएका थिए। तीन महिनाको अवधिमा ३.७ मिलियन डलर बराबरको व्यापारिक क्षति रिपोर्ट गरिएको थियो।

त्यस्तै ७० प्रतिशत व्यवसायले कर्मचारी अभाव भएको र ३३ प्रतिशतले कामदार काममा आउन डराएको बताएका थिए।

प्रतिक्रिया